प्रहरी प्रशासनको दाबी : ‘आरसीबीले हाम्रो सुझाव नमान्दा दुःखद घटना भयो’

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुको जितपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएपछि सम्बद्ध पक्षहरू एक–अर्कामाथि आरोप प्रत्यारोपमा ओर्लिएका छन् । भारतको बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा बुधबार राति जितको खुसीयाली मनाउने क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो ।
यसैबिच, स्थानीय प्रहरी प्रशासनले रोयल च्यालेन्जर्स बेंगलुरुकै कमजोरीका कारण उक्त घटना भएको आरोप लगाएको छ । आफूहरुले बुधबार कार्यक्रम नराख्न पटक–पटक अनुरोध गरे पनि बेंगलुरुको व्यवस्थापनले अटेर गरेका कारण यस्तो अप्रिय घटना भएको बताएको छ ।
मंगलबार राति बेंगलुरुले उपाधि जितेलगत्तै ठुलो सङ्ख्यामा समर्थकहरू सडकमा निस्किएर खुसीयाली मनाउन थालेको प्रहरी प्रशासनले जनाएको छ । ‘हामीले सम्भावित घटनाको पूर्वानुमान गरेका थियौँ । त्यसैले बेंगलुरुलाई बुधबार कार्यक्रम नराख्न पनि भनेका थियौँ,’ एक प्रहरी अधिकारीले भनेका छन् ।
डेक्कन हेराल्डमा प्रकाशित समाचारमा जनाइए अनुसार, स्थानीय प्रहरी प्रशासनले यस विषयमा राज्य सरकारका अधिकारीहरूलाई पनि जानकारी गराएको थियो । यसका अतिरिक्त यातायात अधिकारीहरूले पनि सम्भावित दुर्घटनाको विषयमा सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।
समाचारमा दाबी गरिए अनुसार, प्रहरी प्रशासनले रोयल च्यालेन्जर्स बेंगलुरुका अधिकारीहरूलाई जितको खुसीयाली मनाउने कार्यक्रम आगामी आइतबार राख्न अनुरोध गरेको थियो । तर, बेंगलुरुका अधिकारीले आइतबारसम्ममा आफ्ना सबै विदेश खेलाडी स्वदेश फर्कने भएकाले कार्यक्रम बुधबार नै राख्ने अडान लिएका थिए ।
‘बेंगलुरुले कार्यक्रम आयोजना गर्ने भएपछि बिहानैदेखि शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो । कन्स्टेबलदेखि लिएर पुलिस कमिश्नरसम्म कार्यक्रम स्थलमा खटिएका थिए । तर, बेंगलुरुका समर्थक जितको उन्मादमा थिए । कसैलाई टेर्ने पक्षमा थिएनन् । मैले यस प्रकारको उन्माद यसअघि देखेको थिइन,’ ती प्रहरी अधिकारीले भनेका छन् ।
यसअघि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाले पर्याप्त सुरक्षा व्यवस्थाको अभावले उक्त दुःखद घटना भएको प्रतिक्रिया दिएका थिए । उनले व्यवस्थापन पक्षको पनि कमजोरी औंल्याएका थिए ।
रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक आईपीएलको उपाधि जितेपछि क्लबका समर्थहरु निकै उत्साही बनेका थिए । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार राति खेलिएको फाइनल खेलमा पञ्जाब किङ्सलाई हराउँदै बेंगलुरुले उपाधि चुमेको थियो ।
सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको बेंगलुरुले पहिलो पटक उपाधि जितेको हो । त्यसैले बेंगलुरुका समर्थक बढी नै उत्साही देखिएका थिए । उपाधि जितेपछि बुधबार राति एम. चिन्नास्वामी स्टेडियममा खुसीयाली मनाउने कार्यक्रम राखिएको थियो ।
निर्धारित समयभन्दा निकै अघिदेखि स्टेडियम परिसरमा समर्थकहरूको ओइरो लागेको थियो । समर्थकहरू रङ्गशालाभित्र प्रवेश गर्न तछाड–मछाड गरिरहेका थिए । समर्थकहरू रङ्गशालाको पर्खाल नाघेर भए पनि भित्र प्रवेश गर्न चाहन्थे । प्रहरीले उनीहरूलाई रोक्न लाठी चार्जसमेत गरेको थियो । यसै क्रममा भाडदौड हुँदा ११ जनाले ज्यान गुमाएका हुन् ।
उक्त घटनामा थुप्रै समर्थक गम्भीर रुपमा घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । समाचारमा जनाइए अनुसार, स्टेडियमको गेट निकै सानो थियो । एकै पटक ठुलो सङ्ख्यामा समर्थकहरू भित्र प्रवेश गर्न खोज्दा यो घटना भएको हो ।
उक्त रङ्गशालाको दर्शक क्षमता ३५ हजार हो । तर, दुईदेखि तीन लाख समर्थक रङ्गशाला परिसरमा भेला भएका थिए । जितको खुसीयाली मनाउन रङ्गशाला पुग्नेमा ठुलो सङ्ख्यामा नाबालिग पनि थिए । भारी वर्षा र ट्राफिक जामका कारण उद्धारमा समेत ढिलाइ भएको बताइएको छ ।
बाहिर भागदौडमा समर्थकहरूको मृत्यु भइरहँदा रङ्गशालाभित्र भने जितको खुसीयाली मनाइँदै थियो । त्यतिबेला रङ्गशालाभित्र करिब २५ हजार समर्थक रहेको बताइएको छ । रङ्गशाला बाहिर भागदौड सुरु भएपछि स्थानीय प्रहरीले आयोजकलाई कार्यक्रम छोट्याउन पटक–पटक आग्रह गरेको दाबी पनि समाचारमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि