सिटिजन्स बैंकद्वारा र्यापिड एपीआई बैंकिङ प्रणाली सुरु

समाचार सारांश
- सिटिजन्स बैंकले गोकियो ल्याबससँगको सहकार्यमा सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्‍यापिड) सञ्चालनमा ल्याएको छ, जसले व्यवसायिक बैंकिङलाई सरल बनाउनेछ।
- पहिलो चरणमा, र्‍यापिडले ग्राहकको ईआरपी प्रणालीलाई बैंक खातासँग जोड्नेछ, जसबाट ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिनेछ।
- दोस्रो चरणमा, र्‍यापिडले भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा तलब भुक्तानी, रकमान्तर, र खाता खोल्ने जस्ता सेवाहरू समावेश छन्।
काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्यापिड) सञ्चालनमा ल्याइएको छ ।
यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।
साथै दोस्रो चरणमा, र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओअथ२ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरू उपलब्ध हुनेछन् ।
र्यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओअथ२ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (टीओटीपी) को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।