शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : माधवलाई धक्कादेखि संसद बन्धकसम्म

बिहीबार, २२ जेठ २०८२, २२ : ००
बिहीबार, २२ जेठ २०८२

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको जेठ २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. माधव नेपाललाई धक्का

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको घटनाले नेपाली राजनीतिक र प्रशासनिक क्षेत्र तरङ्गित बनेको छ ।

किनभने नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको सम्भव त यो नै पहिलो पटक हो । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि भ्रष्टाचार मुद्दा लाग्ने वा नलाग्ने भन्ने बहस चलिरहेको छ ।

यसबारे संसद्बाट कानुन समेत बन्ने क्रममै रहेकाले यो विषयलाई कतिपयले असामान्य र प्रतिशोधका रूपमा समेत लिएका छन् ।

२. जेठमै दुई सांसद निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि जेठ महिनामै प्रतिनिधिसभाका दुई सदस्य निलम्बनमा परेका छन् । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् ।

३. सहकारी ठगी प्रकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगी सम्बन्धी अदालतमा विचाराधीन मुद्दाका विषयमा बिहीबार ब्रिफिङ गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू र पार्टीसँग आबद्ध कानुन व्यवसायीहरूको सहभागितामा कानुन विभागले लामिछानेको मुद्दाका विषयमा ब्रिफिङ गरेको हो ।

४. माओवादी बैठक

नेकपा माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ ।  बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ ।

 

५. वाइसीएलमा सहमति जुटेन

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को नेतृत्वका लागि बिहीबार दिनभर भएको प्रयास असफल भएको छ । सहमतिमा नेतृत्व छान्ने प्रयास असफल भएसँगै अन्ततस् निर्वाचनबाट नेतृत्व छनोट गरिने भएको छ । 

६. तीनकुने घटना

तीनकुने प्रकरणमा बिहीबार थप ११ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यसअघि ४ जना सरकारी वकिलले बहस गरेका थिए । सरकार तर्फकै बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

राज्य विरुद्धको कसुर सहित ६ वटा मुद्दामा दुर्गा प्रसाईंसहित ३९ जना थुनामा छन् । मंगलबार सरकारको तर्फबाट काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाईं हुमागाईं र  उदयचन्द्र अधिकारीले बहस गरेका थिए ।

७. संसद बन्धक

प्रतिनिधिसभा बैठकमा १३ मिनेट ४६ सेकेन्ड रस्साकस्सी सत्तापक्ष र प्रतिपक्षीबिच रस्साकस्सी भयो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरे ।

त्यसपछि सभामुख घिमिरेले आफूले दलीय प्रतिनिधित्वका आधारमा बोल्ने समय  उपलब्ध गराउने बताएर बस्न आग्रह गरे । तर, प्रतिपक्षी दलका सांसदहरूले आफूहरूका माग पूरा नहुँदै संसद् चल्न नसक्ने बताए । 

८. सहमतिको प्रयास

भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच छलफल भएको छ ।

९. घरजग्गाको सवाल

घरजग्गा किनबेचमा हुनसक्ने कालोधनको प्रयोग रोक्ने उद्देश्यका साथ सरकारले कारोबारमा कडाइ गर्न सुरु गरेको छ ।  घरजग्गा किनबेचमा कालोधन रोक्ने नयाँ प्रयास स्वरूप भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेको छ । निर्देशन जारी गरेसँगै विभागले देशभरका मालपोत कार्यालयहरूलाई निर्देशन जारी गर्न पत्राचार समेत गरिसकेको छ ।

१०. ऊर्जाको सवाल

सरकारले बजेटमा विद्युत् खरिद सम्झौता ‘टेक एन्ड पे’को व्यवस्था गरेसँगै ऊर्जा क्षेत्र तरङ्गित भएको छ ।

 ‘टेक एन्ड पे’को व्यवस्थाको ऊर्जा उत्पादकहरूले विरोध जनाएका छन् । ‘टेक एन्ड पे’ भनेको विद्युत् खरिद सम्झौता भए पनि विद्युत् उत्पादन बढी हुँदा प्रयोग नभएको बिजुलीको रकम विद्युत् प्राधिकरणले तिर्नुपर्ने व्यवस्था हो ।

तर यस्तो व्यवस्थाले ऊर्जा क्षेत्र नै संकटमा पुग्ने ऊर्जा उद्यमीहरूको भनाइ छ । भर्खरै बामे सर्न लागेको ऊर्जा क्षेत्रलाई ‘टेक एन्ड पे’को व्यवस्थाले समस्याग्रस्त बनाउने उनीहरूको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप