१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल

काठमाडौँ । रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
बागमती प्रदेश सरकारको बजेटमा समावेश भएको सांसद विकास कोष (निर्वाचन क्षेत्र विकास कार्यक्रम) मा सांसदहरूबिच नै विभेद गरेको देखिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सत्तारुढ दलका सांसद र प्रतिपक्षका सांसदहरूबिच विभेदपूर्ण ढङ्गबाट सांसद विकास कोषमा बजेट विनियोजन गरेको पाइएको हो ।
२. अमेरिकाबाट ३७ नेपाली डिपोर्ट
अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाएको छ । ३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् ।
सरकारले १५ वर्षअघि सहर निर्माण तथा विकास योजना ल्याएको थियो । अत्याधुनिक सेवा सुविधा र पूर्वाधारयुक्त सहरहरू निर्माण र विकास गर्ने लक्ष्यसहित तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमार्फत घोषणा गरेका थिए । ‘मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोर आसपासमा व्यवसाय तथा बसोबासका लागि १० ठुला आधुनिक सहरहरू निर्माणका लागि यसै वर्ष स्थानको पहिचान र सम्भाव्यता अध्ययन गरी पूर्वाधार नक्साङ्कनको कार्य सुरु गर्ने गरिनेछ,’ तत्कालीन अर्थमन्त्री पाण्डेले भनेका थिए ।
त्यसयता सरकारले अव्यवस्थित सहरीकरण रोक्न र हिमाली तथा पहाडी भेगका मानिसलाई बसाइसराइ हुनबाट रोक्ने उद्देश्यले नयाँ सहरको नीति अघि सार्दै आएको छ । सुरुमा १० सहर भनिएकोमा अहिले ५४ सहर पुर्याइएको छ ।
४. नेपाल सद्भावना पार्टी बिक्रीमा !
गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी स्थापनाकालदेखि नै विवादको घेरामा रह्यो । २०५८ सालमा गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टी पटक–पटक विभाजन भयो ।
विभाजनकै कारण पार्टी ‘कोल्याप्स’को अवस्थामा पुगेको थियो । एकपछि अर्को विभाजन भएर अवशेषको रूपमा मात्र बाँकी रहेको सो पार्टीमा अहिले पनि विवाद कायमै छ ।
५. टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, भ्रष्टाचार मुद्दामा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
६. विद्या भण्डारी एमालेमा फर्किने हल्ला
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौँमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गरेका हुन् ।
७. ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी शृङ्खलामा नेपाल २ रनले पराजित भएको छ । स्कटल्याण्डले जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ मात्र बनाउन सक्यो ।
अन्तिम बलमा जीतका लागि ३ रन चाहिएकोमा ललित राजवंशी शून्य रन बनाएर बोल्ड हुन पुगे ।
८.पतञ्जली प्रकरण: कसरी अघि बढ्छ नेपालविरूद्धको भ्रष्टाचार मुद्दा ?
काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा रहेको पतञ्जली योगपिठको हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्यो ।
हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गर्न नीतिगत निर्णय गराइ सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरेको आरोपमा पूर्व प्रधानमन्त्री नेपालसहितविरुद्ध मुद्दा दायर भएको हो ।
९.वाईसीएलका ७५ पदाधिकारी
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग(वाईसीएल) को पदाधिकारीको संख्या बढाएर ७५ पुर्याइएको छ । यसअघि ३५ सदस्यीय पदाधिकारीको संख्या बढाएर ७५ पुर्याइएको हो । शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।
१०. सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
सङ्घीय संसद्मा दर्ता भएको सशस्त्र प्रहरी र नेपाल प्रहरी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छन् । दुवै विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तर, त्यसबारे पर्याप्त छलफल सुरु भएको छैन ।
सीमा अपराध नियन्त्रणसम्बन्धी सम्पूर्ण अधिकार सशस्त्र प्रहरी बललाई दिन खोजिएको भन्दै प्रहरीका अधिकृतहरू असन्तुष्ट छन् । नेपाल प्रहरीका पूर्व आईजीपीहरूले सिमानामा हुनसक्ने संगठित अपराध ‘नियन्त्रण’ गर्न खानतलासी र प्रारम्भिक जाँचबुझ गर्न सक्ने व्यवस्था सशस्त्रको विधेयकमा व्यवस्था गरिएकोमा असहमति जनाएका छन् ।
११. ४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर गणमा सरुवा
सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा बाहिरिएको थियो ।
१२ . तीनकुने प्रकरण
तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । थुनछेक बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।