पतञ्जली प्रकरण : कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा ?
सारांश
- अख्तियारले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ, जसमा हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणको आरोप छ।
- पूर्व प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्बाट आफू र कम्पनीलाई फाइदा पुग्ने गरी पदीय दुरुपयोग गरेको आरोप लागेको छ, जसलाई नेकपा एकीकृत समाजवादीले प्रतिशोधको रूपमा लिएको छ।
- अदालतले मुद्दा दर्तापछि म्याद पठाउने प्रक्रिया सुरु गरेको छ, जसमा १५ दिनभित्र प्रतिवादीहरूले म्याद बुझेर अदालतमा उपस्थित हुनुपर्नेछ।
काठमाडौँ । काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा रहेको पतञ्जली योगपिठको हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्यो ।
हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गर्न नीतिगत निर्णय गराइ सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरेको आरोपमा पूर्व प्रधानमन्त्री नेपालसहितविरुद्ध मुद्दा दायर भएको हो ।
पूर्व प्रधानमन्त्री नेपालले बदनियत राखी मन्त्रिपरिषद्बाट आफू र कम्पनीलाई फाइदा पुग्ने गरी पदीय दुरुपयोग गरी उक्त कार्य गरेको आरोप अख्तियारको छ । उजुरी परेपछि अख्तियारले यसअघि २०६९ सालमा नीतिगत निर्णय देखाउँदै तामेलीमा राखेको थियो । त्यसबेला अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की रहेका थिए ।
तामेलीमा राखिएको उक्त मुद्दा अघिल्लो वर्ष असारपछि पुनः खोलिएको थियो । गएको चैतमा पूर्व प्रधानमन्त्री नेपालको गुपचुप बयान अख्तियारले लगेको थियो । नीतिगत निर्णयमा प्रवेश गर्न नपाउने अधिकार क्षेत्र मिचेर पूर्व प्रधानमन्त्री नेपालविरुद्ध प्रतिशोध साँधेर मुद्दा दायर गरिएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेता र नेकपा एकीकृत समाजवादीले आरोप लगाएको छ । अख्तियारको यस कदमसँगै मन्त्रिपरिषद्को निर्णयमा पनि अनुसन्धान गर्ने बाटो खुलेको छ ।
पूर्व प्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दायर भएपछि अब अदालती प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासोको विषय बनेको छ । विशेष अदालतले मुद्दा दर्तापछि म्याद पठाउने प्रक्रिया सुरु गरेको छ ।
सामान्यतया विशेषले मुद्दा दर्ता भएकै दिन वा पछिल्लो दिन नै म्याद बुझ्न पठाउने गरेकोमा यसमा धेरै प्रतिवादी भएकाले केही समय लागेको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
‘आइतबार पनि हामी कार्यालय समयभन्दा अगावै आएर काम गरिरहेका छौँ, सम्भवतः सोमबारसम्म म्याद बुझ्न पठाउनेछौँ,’ उनले भने । उनका अनुसार विशेषले बाटोबाहेकको १५ दिनको म्याद पठाउने गरेको छ ।
तर, काठमाडौँमै रहेका प्रतिवादीहरूका लागि बाटोबाहेकको दिन आवश्यक नहुने हुँदा १५ दिनकै म्याद बुझाइनेछ । प्रतिवादीले १५ दिनभित्र म्याद बुझेर प्रतिवादीहरू अदालतमा उपस्थित हुनुपर्नेछ । त्यसपछि पेसी तारेख दिएर सुनुवाइको प्रक्रिया अघि बढ्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण