४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर गणमा सरुवा
सारांश
- सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गर्ने सईसहित ४ जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ।
- उनीहरूलाई ट्राफिक प्रहरीमा काम गर्न अयोग्य ठहर गर्दै सशस्त्र प्रहरी गणमा सरुवा गरिएको छ।
- चेकजाँचको क्रममा पीडितले थुकेपछि कुटपिट भएको र भिडियो भाइरल भएपछि उनीहरूको आलोचना भएको थियो।
काठमाडौँ । सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा बाहिरिएको थियो ।
कुटपिटमा संलग्न सई ईश्वर महर्जनसहित ४ जनालाई ट्राफिक प्रहरीमा काम गर्न ‘अयोग्य’ भएको निर्णय गरिएको छ । उनीहरूलाई साधारण समूहतर्फ रूपान्तरण गरेर सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगन्जमा सरुवा गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
यसअघि उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट तानेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गरेको थियो । छानबिनको क्रममा उनीहरूले चेकजाँच गर्दा मोटरसाइकलमा ठुलो परिमाणमा कपडा बोकेर हिँडेका पीडितले थुकेपछि सो घटना भएको बयान दिएका थिए ।
गौशालामा कपडा पसल सञ्चालन गर्ने पीडितको मोटरसाइकलमा चेकजाँच गदा साँचो नदेखेपछि सोधपुछ गरेको र कपडा धेरै बोक्न नमिल्ने भनेपछि आफूलाई थुकेको चेक जाँचमा संलग्न ट्राफिक प्रहरीले बयान दिएका हुन् । कुटपिटमा संलग्न जवान सहित घटनास्थलमा देखिएका ४ जनालाई ट्राफिकको ड्युटी गर्न ‘अनफिट’ भनिएको छ ।
कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राज्य आतङ्क’ भनेर त्यसलाई शेयर गर्दै त्यसबारे प्रतिक्रिया गरेका थिए । पीडितले आफ्नो एउटा हातको लिगामेन्टमा समस्या भएको बताएपछि कुटपिटमा संलग्नहरूले उनको उपचार गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण