ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल

समाचार सारांश
- स्कटल्याण्डमा जारी खेलमा नेपाल २ रनले पराजित, ३२४ रनको लक्ष्य पछ्याउँदै ३२१ रनमा समेटियो।
- अन्तिम बलमा जितका लागि ३ रन आवश्यक हुँदा ललित राजवंशी शून्य रनमा आउट भए, जसले गर्दा नयाँ रेकर्ड बन्न सकेन।
- स्कटल्याण्डका कप्तान रिची बेरिङटनले शतक प्रहार गरे भने माइकल लिस्कले ९६ रन बनाए। नेपालका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए।
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी शृङ्खलामा नेपाल २ रनले पराजित भएको छ । स्कटल्याण्डले जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ मात्र बनाउन सक्यो ।
अन्तिम बलमा जीतका लागि ३ रन चाहिएकोमा ललित राजवंशी शून्य रन बनाएर बोल्ड हुन पुगे । आजको खेल जितेको भए नेपालको नयाँ रेकर्ड बन्ने थियो । गत सोमबार नेपालले स्कटल्याण्डले नै प्रस्तुत गरेको २ सय ९७ रनको लक्ष्य पछ्याउँदै एकदिवसीयमा आफूले सबैभन्दा ठुलो लक्ष्य पछ्याएको रेकर्ड बनाएको थियो ।
नेपालले एकदिवसीयमा आफ्नो सबैभन्दा ठुलो स्कोरको रेकर्ड भने बनाएको छ । यसअघि टोलीले सन् २०२३ मा कीर्तिपुरमा ओमानविरुद्ध ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।
आइतबारको खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । चौथो ओभरमा कुशल भुर्तेल १७ रन बनाउँदै रन आउट हुन पुगे । उनले २० बलमा ३ चौका प्रहार गरे । अर्को ओभरमा अर्का ओपनर आसिफ शेख पनि मात्र ८ रन बनाउँदै पभेलियन फर्किए ।
कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन् । ३ रन बनाउँदै ब्रान्डन म्याकमुलेनको बलमा क्याच आउट हुन पुगे । त्यसपछि भीम सार्की र आरिफ शेखले नेपालको इनिङ्स सम्हाले । दुई जना मिलेर ११० बलमा ९४ रन जोडे ।
२६ औँ ओभरमा आरिफ आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उनले ५५ बलमा ५ चौकाको मद्दतले ३९ रनको योगदान दिए ।
नेपालले पाँचौँ विकेटका रूपमा भीम सार्कीलाई गुमायो। सार्कीले ८५ बलमा ७३ रन बनाए । उनले ८ चौका हिर्काए । गुल्सन झाले भने ठुलो योगदान दिन सकेनन् । उनले १३ बलमा १ छक्का प्रहार गर्दै ११ रन मात्र जोड्न सके ।
त्यसपछि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी मिलेर शतकीय साझेदारी गरे । उनीहरुले मात्र ६५ बलमा १०५ रन बनाए । ४७ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालको स्कोर ७ विकेटको क्षतिमा २८८ रन पुगेको थियो । दीपेन्द्रले ५१ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २ चौका हिर्काए ।
त्यसपछि सोमपाल पनि अर्धशतक बनाउँदै आउट हुन पुगे । उनले मात्र ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले नवौँ विकेटका रूपमा करन केसी १० बलमा १७ रन बनाउँदै आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे ।
स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले ३ तथा सफयान सरिफ र माइकल लिस्कले २ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २४ रन बनाएको थियो । टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले । उनले ११४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतले १ सय २ रन जोडे । उनले माइकल लिस्कसँग मिलेर स्कटल्याण्डका लागि छैटौँ विकेटमा १२५ रनको कीर्तिमानी साझेदारी गरे ।
त्यस्तै, माइकल लिस्कले तीव्र गतिमा रन बनाउँदै ६२ बलमा ९६ रन जोडे । उनी शतक बनाउनबाट मात्र ४ रनले चुके । उनले १२ चौका र ३ छक्का प्रहार गरे । यसअघि ओपनर चार्ली टियरले पनि ६५ बलमा ६८ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । उनले ९ चौका हिर्काए । फिन्ले म्याक्रिथले २३ बलमा १७ रनको योगदान दिए ।
अन्तिम ओभरमा करन केसीको लगातार ३ बलमा छक्का हिर्काएका मार्क वाटले ९ बलमा २१ रन जोडे ।
नेपालका लागि करन केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । ललित राजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने १० ओभरमा ६९ खर्चेर कुनै विकेट लिन सकेनन् ।
यसअघि, नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि नेपाल विजयी बनेको थियो । नेपालले नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको जित हात पारेको थियो ।
ICC CWC League 2, 2023-27
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल