हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ

समाचार सारांश
- रातोपाटी डटकमले १२ वर्ष पूरा गरेको अवसरमा जेन–जी लक्षित सामग्री प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
- रातोपाटीले निष्पक्ष पत्रकारिता गर्दै नागरिकलाई सुशासन र सामाजिक न्यायका लागि सधैँ आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
- रातोपाटीले संविधान संशोधनबारे गरेको बहसको संग्रह 'संविधान संशोधन किन र के केमा?' पुस्तकको रूपमा प्रकाशन गरेको छ।
अनलाइन न्युज पोर्टल रातोपाटी डटकमको सङ्घर्षपूर्ण तर सफल यात्राले आजबाट १२ वसन्त पार गरेको छ । यस अवसरमा सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू एवं नेपाल पत्रकार महासंघबाट प्रेरणादायी शुभकामना मन्तव्य प्राप्त भएकाले रातोपाटी परिवार उत्साहित भएको छ । यी हौसलाप्रद शुभेच्छाका लागि म हार्दिक आभार प्रकट गर्दछु ।
सबैको र सबैभन्दा राम्रो हुने सङ्कल्प गरेको रातोपाटी डटकम समयको भरपर्दो साक्षी हो । यसले डिजिटल अक्षर, स्वर र दृश्यका माध्यमबाट प्रतिक्षण वर्तमानको सही अभिलेख राख्छ । घटना सँगसँगै समाचार पस्कने रातोपाटी डटकम अहोरात्र अर्थात् चौबिसै घण्टा जागा रहने अग्रणी न्युज पोर्टल समेत हो भन्न पाउनु हाम्रा लागि गौरवको कुरा हो ।
रातोपाटीले पेसागत मर्यादा र निष्ठाका कारण जे, जे हो त्यही नै भन्छ । कुनै प्रलोभनमा परेर अथवा पूर्वाग्रह राखेर नराम्रोलाई राम्रो र राम्रोलाई नराम्रो भन्दैन । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् वा निजामती कर्मचारी तथा सार्वजनिक ओहोदाधारी सबैलाई आ-आफ्नो जिम्मेवारीमा इमान र लगनका साथ क्रियाशील हुन प्रोत्साहित गर्छ भने तिनीहरू कर्तव्यच्युत नहुन् भनेर खबरदारी समेत गर्छ । यसले निजी क्षेत्रका गतिविधिमाथि पनि निरन्तर निगरानी गर्दै नाफाखोर, बिचौलिया र भुइँफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउने प्रयत्न गर्छ । रातोपाटी सबैको हो तर सामाजिक न्यायका निम्ति मजदुर, किसान लगायत पिछडिएका क्षेत्र, वर्ग तथा सीमान्तकृत समुदायका सरोकार अर्थात् आवाजहीनहरूको आवाजलाई प्राथमिकता दिन्छ ।
नेपाली जनताको दशकौँदेखिको सङ्घर्ष र नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र रातोपाटीलाई प्यारो लाग्छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान रक्षाका लागि रातोपाटी निरन्तर जागा पनि रहन्छ । संविधानको सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक र अधिकार अविच्छिन्न राख्न रातोपाटी प्रतिबद्ध छ । हाम्रो नेपाल सुन्दर छँदै छ, यो सुशासनयुक्त, शान्त र समृद्ध समेत बनोस् भन्ने रातोपाटी चाहन्छ ।
सदियौँसम्म राजतन्त्रात्मक र केन्द्रीकृत शासन प्रणालीले थलिएको हाम्रो मुलुकमा जननिर्वाचित दोस्रो संविधानसभाद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने नेपालको संविधान जारी भएको १० वर्ष पूरा हुन लाग्दै छ । २०७२ असोज ३ गते राष्ट्रिय हतासा र ‘नोट अफ् डिसेन्ट’का बिच हतार हतारमा यो संविधान जारी भएको थियो । संविधान कार्यान्वयनको क्रममा राष्ट्रले सँगालेका राम्रा नराम्रा दुवै खाले अनुभवका आधारमा संविधानको समीक्षा गर्नुपर्ने खाँचो खड्किएकै बेला गत वर्ष असारमा मुलुकका दुई प्रमुख राजनीतिक दलद्वारा संविधान संशोधन गर्ने प्रमुख लक्ष्यसहित गठबन्धन सरकार गठन गर्ने सहमति गरे ।
यिनै परिप्रेक्ष्यमा रातोपाटीले सुविचारित ढङ्गले संविधान संशोधनबारे गतवर्ष २७ असारदेखि शृङ्खलाबद्ध बहस चलाएको हो । प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू, शीर्ष नेताहरू, संविधानविज्ञ, कानुनविद्हरू र सरोकारवालासम्मको विविधतापूर्ण सहभागिता रहेकाले यो बहस सार्थक बनेको मैले ठानेकी छु । ‘वादे वादे जायते तत्त्व बोध’का लागि सुरु गरिएको यो बहस रातोपाटी टीभीबाट प्रसारित र रातोपाटी डटकममा पोस्ट पनि भएका छन् ।
रातोपाटी न्यूज नेटवर्कले बाह्रौँ वार्षिकोत्सवमा विशेष सामग्रीका रूपमा तिनै बहसको सङ्ग्रह ‘संविधान संशोधन किन र के केमा ?’ पुस्तकाकार रूपमा प्रकाशन गरेको छ । यो बहस शृङ्खलामा सहभागी भएर आफ्ना विचार अभिव्यक्त गर्नुहुने सबै महानुभावमा हार्दिक आभारसहित कृतज्ञता व्यक्त गर्दछु । साथै यो सार्थक बहस अभियान सम्भव तुल्याउन सहयोगी बन्नुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन्छु ।
रातोपाटी विगतबाट सिक्छ, वर्तमानको सामना गर्छ र भविष्यबारे सोच्छ l त्यसैले १३ वर्ष प्रवेशको पहिलो दिन हामीले १३ देखि २८ वर्ष समूह अर्थात् जेनेरेसन ‘जी’ लक्षित सामग्री प्राथमिकतासाथ पस्केका छौँ l भोलि मुलुक हाँक्ने जिम्मेवारी यो पुस्तामा पनि पुग्नेछ l अहिले चाहिँ जेन ‘जी’ मुलुक र आफ्नोबारे के सोचिरहेको छ ? सरोकारवाला सबैले हुर्कँदै गरेको यो पुस्ताको मनोविज्ञान बुझ्न सकुन् भनी रातोपाटीद्वारा सातै प्रदेशका एक हजार १९ जना जेन ‘जी’बिच गरिएको सर्वेक्षणको नतिजा पनि पोस्ट गरेका छौँ l
रातोपाटी डटकम अहिले जुन उचाइमा पुगेको छ र जुन प्रतिष्ठा आर्जन गर्न सफल भएको छ, त्यसका लागि यो सुखद अवसरमा म विगतदेखि वर्तमानसम्म रातोपाटीमा जोडिएर योगदान दिएका र सक्रिय रहेका सबैप्रति अनुग्रहित छु र सबैलाई एकमुष्ट हार्दिक धन्यवाद दिन्छु l
रातोपाटी डटकमले १२ वसन्त पार गर्दा हासिल गरेको सानदार सफलता सँगसँगै स्वाभाविक रूपमै १२ बर्खाका दुःखकष्ट समेत भोगेको छ । ती दुःखकष्टमा पनि अविच्छिन्न साथ, सहयोग र हौसला दिनु हुने हाम्रा आदरणीय पाठक/दर्शक, विद्वान् लेखक, भरपर्दा समाचार स्रोत, उदारमना विज्ञापनदाता एवं शुभेच्छुकहरूलाई यस सुखद अवसरमा म हृदयदेखि सम्झन्छु र सबै सबैप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु ।
भविष्यमा पनि रातोपाटीको दुःखसुखमा तपाईंहरू सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेकी छु ।
विजया शर्मा
अध्यक्ष
रातोपाटी न्यूज नेटवर्क
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
-
विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
-
रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
-
म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री
-
रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको छ : नारायणकाजी श्रेष्ठ
-
मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन: डा भट्टराई