बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

विश्वकपले सुस्तायो गीत संगीत

आइतबार, ०३ असार २०७५, १५ : ५७
आइतबार, ०३ असार २०७५

काठमाडौं – केही दिन अगाडिदेखि रुसमा जारी  ‘२१औं फिफा बिश्वकप २०१८’को रौनकले चारै तिर छोएको छ । सर्वसाधारण मात्र हैन कलाकार, गायक गायिका लगायत सबै प्रकारका सेलिब्रेटी विश्वकप तिर रमाइरहेका छन् । सायद त्यसैले होला केही दिनयता चलचित्र र गीत संगीतका कार्यक्रममा पनि सुस्तता आएको  देखिएको छ । गीत संगीतकै कुरागर्ने हो भने पनि सातामा कम्तिमा २ दर्जन वा सो भन्दा माथी संख्यामा सार्वजनिक हुने गर्दथे । तर बिश्वकपले गर्दा यो साता आधा दर्जन हाराहारीका गीत संगीत मात्र सार्वजनिक भए । ती यसप्रकार रहेका छन् । 
 
 
‘मेरो प्राण तिमी नै’
नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा र निर्देशनमा पनि सक्रिय छिन् । केही समय अघि गायक मुरारी गुरागाईको एक गीतको म्युजिक भिडियो निर्देशन गरेकी उनले गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको गायन र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियो समेत ल्याएकी छन् । भिडियोमा नायिका मरिस्का पोख्रेल र दृश्य सुबेदीको अभिनय छ । भिडियोमा मरिस्काको दृश्यसँगको भेट, उनीहरुको प्रेमविवाह अनि घरमा दुर्घटनामा परेपछि ह्वीलचेयरमा मरिस्का बस्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ ।


‘कयौ गल्ती’
अम्बिका म्युजिक प्रालीले गायक प्रमोद खरेलको स्वरमा ‘कयौ गल्ती’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भक्त लुगेंली मगरको संगीत रहेको गीतमा शब्द तोरण बस्नेत रहेका छन् । गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेत्री रेजिना उप्रेतीको सशक्त अभिनय रहेको छ । रेजिना पहिलेभन्दा पनि अझ राम्री बनेर भिडियोमा देखिएकी छिन् । भिडियोमा रेजिनालाई देवराज, सरप्राइज सुबेदी ,चन्द्रिकाले साथ दिएका छन् । सबैको काम तारिफ योग्य छ । 

‘पातली’
गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीले तीज गीतको म्यूजिक अहिले सार्वजनिक गरेका छन् । ‘पातली’ बोलको गीतको भिडियोमा दुई प्रेमीको प्रसंग देखाइएको छ । भिडियो नेपाली संस्कृति झल्काउने गरि  छायाँकन गरिएको छ । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । 
काजिश श्रेष्ठ, अन्जली अधिकारी, प्रकाश खरेल, अस्मिता गौत्तमको अभिनय रहेको भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । 

‘मन्द मुस्कान’
नव गायिका इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’को भिडियो सार्वजनिक भएको छ । महेश खरेलको शब्द र खेम थापाको संगीत रहेको गीतमाको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको अभिनय छ । कपिल लामा निर्नेशित भिडियोमा राजेश घिमिरको छायांकन छ ।

‘अंगालोमा बाँधि’
गायक नारायण धितालको एल्बम ‘जय मायाप्रेम’मा रहेको  ‘अंगालोमा बाँधि’ बोलको गीत माथी बनेको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक धितालसँगै भारतीय चर्चित गायिका संजीवनीको स्वर समेत रहेको छ । निरपेश उप्रेतीको शब्द र शिखर आर सन्तोषको संगीत सृजनाको छ । स्कट्ल्यान्डको आकर्षण स्थलमा छायांकन गरिएको भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको अभिनय रहेको छ । भिडियो दिपेश रेग्मीले निर्देशन गरेका हुन् ।

‘गुडी जाने रेल’
बिशाल गौतमको स्वरमा मनछुने गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडियोको निर्देशन भने प्रकाश धितालले गरेका हुन् । देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको म्युजीक भिडीयोमा जीबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप