शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

‘जाऊँ है पोखरा अभियान’ टोली लुम्बिनीमा

शुक्रबार, ३० जेठ २०८२, १५ : ५५
शुक्रबार, ३० जेठ २०८२

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जाऊँ है पोखरा अभियानको टोलीले विगत वर्ष जस्तै अहिले पनि लुम्बिनी प्रदेशमा कार्यक्रम सुरु गरेको छ ।

 होटेल सङ्घ पोखरा नेपाल र जाऊँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा विभिन्न ठाउँमा भ्रमण गर्ने क्रममा अहिले लुम्बिनी प्रदेशको बुटवलमा पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

होटेल सङ्घ पोखरा नेपाल र जाऊँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा जेठ २९ गते देखि असार २ गते सम्मका लागि  पश्चिम नेपालका बुटवल, नेपालगन्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन गर्ने भएको हो । 

सोही अभियान अन्तर्गत बुटवलमा प्रशासनिक निकाय सहित सरोकारवालाहरूसँग पोखराका लागि निम्तो दिँदै अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जाऊँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्ने बताए। उनले अब पोखरा र लुम्बिनीलाई जोडेर पर्यटन प्रवर्द्धन अभियान थाल्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल होटेल सङ्घ (हान) का केन्द्रीय सदस्य सिपी श्रेष्ठले नेपालमा जनसङ्ख्या निकै न्यून भएकाले आन्तरिक भन्दा विदेशी पर्यटकहरूलाई नै आकर्षित गर्ने गरी अभियानहरू सञ्चालन गर्नुपर्ने बताए ।

उनले सरकारले लिने नीतिका कारण पर्यटकहरू आउन नसकेको र आएकाहरूले खर्च नगरेको समेत बताए । उनले अहिले सरकारले भन्सार चेकजाँचमा लिएको नीति, भारतीयहरूलाई २५ हजार भन्दा बढी ल्याउन नदिने नीतिमा ५ हजार डलरसम्म ल्याउन दिने जस्ता प्रावधान राखेर बजेट आएकाले त्यसले पर्यटन क्षेत्रमा आशा जगाएको बताए ।

यसैगरी अन्तरक्रिया कार्यक्रममा होटेल सङ्घ पोखराका अध्यक्ष एव जाऊँ है पोखरा अभियानका संयोजक लक्ष्मण सुवेदीले दुई दशकअघिदेखि सुरु भएको यो अभियानले आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

उनले बुटवल भैरहवाका होटेल व्यवसायीहरूसँग सहकार्य गरेर विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै लुम्बिनी र पोखरा जोड्ने गरी अभियानहरू थाल्नुपर्नेमा जोड दिए ।

उनले पश्चिम नेपालका सहरहरूसँग पोखरालाई जोड्न सिधा बस सेवा, भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी गोपाल रानाले आन्तरिक पर्यटन प्रवर्द्धनमा जाऊँ है पोखरा बुटवल भैरहवा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरूका लागि समेत सिकाई हुने बताए ।

अभियान अन्तर्गत बुटवलपछि नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियानले अपिल गरेको छ ।

पोखराको होटेल क्षेत्रमा पाँच खर्ब हाराहारीको लगानी, एक हजार दुई सय होटेलमा ४० हजार बेड तथा करिब २० हजार जनाले रोजगारी पाएको होटेल सङ्घ पोखराको दाबी छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन कै लागि सङ्घले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव र खेलकुदका कार्यक्रम समेत गर्दै आएको छ । 

सङ्घले भारतीय पर्यटक प्रवर्द्धनका लागि भारतीय सहरहरूमा ‘चलिए पोखरा अभियान’ समेत सञ्चालन गर्दै आएको जानकारी जनाएको छ । यसैगरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरूमा समेत सङ्घले सहभागिता जनाउँदै आएको छ । 

पोखरामा बन्जी जम्पिङ, जिप लाइनिङ, विभिन्न मठ, मन्दिरहरूमा सन्ध्याकालीन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रा लाइट, क्यानोनिङ लगायत दर्जनौँ पर्यटकीय सेवा उपलब्ध रहेको अवगत गराइको छ । पोखरा नेचर, कल्चर र एड्भेञ्चर सबै हिसाबले उपयुक्त पर्यटकीय गन्तव्य भएको बताउँदै पोखरा भ्रमणका लागि अभियानले निम्तो समेत दिएको छ ।

पोखरामा पर्यटन तान्ने विभिन्न  क्षेत्रहरू रहेका छन् भने  लुम्बिनीमा धार्मिक  स्थल भएको दुवै बिच  थप सहकार्य  गरेर  पर्यटन  तान्नु पर्ने पर्यटन व्यवसायीको  भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप