राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम छात्रा भलिबल टोलीलाई स्वर्णपदक

समाचार सारांश
- १५औँ राष्ट्रपति रनिङ शिल्डको छात्रा भलिबलमा सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक जित्यो। फाइनलमा लुम्बिनी प्रदेशलाई ३-१ सेटले पराजित गर्यो।
- सुदूरपश्चिम प्रदेशले १५ वर्षपछि उपाधि जितेको हो। प्रशिक्षकले यसलाई प्रदेशको खेलकुद इतिहासकै लागि गर्वको क्षण भने।
- सुदूरपश्चिमको छात्र भलिबल टोलीले काँस्य पदक जित्यो। छात्रा टोलीले पहिलो पटक जित हासिल गर्दै इतिहास रचेको छ।
कैलाली । १५ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्रा भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक सफलता हासिल गर्दै स्वर्णपदक जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
यो जित सुदूरपश्चिम प्रदेशको लागि १५ वर्षपछिको पहिलो जित हो । प्रशिक्षक लालबहादुर बटालाले टिमको १५ वर्षपछि जित निकाल्दा खुसीको सिमाना नै नरहेको बताए । उनले भने, ‘यो जित हाम्रो लागि मात्र होइन, सारा सुदूरपश्चिमको खेलकुद इतिहासका लागि गर्वको क्षण हो। आज राम्रो मेहनत गरे ।’
सुदूरपश्चिमको छात्र भलिबल टोलीले पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जितेको छ।
१५ औँ राष्ट्रपति रनिङ शिल्ड, खेलकुद प्रतियोगितासम्म आइपुग्दा सुदूरपश्चिमको छात्रा भलिबल टिमले यो पहिलो पटक जित हात पारेको हो। यो जितसँगै सुदूरपश्चिम छात्रा टोलीले इतिहास रचेको छ।