शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
बजेट तयारी

लुम्बिनी प्रदेशका ‘माननीय’ले बजेटमा कस्ता–कस्ता आयोजना मागे ?

शनिबार, ३१ जेठ २०८२, ०७ : २७
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • लुम्बिनी प्रदेश सरकारले सांसदहरूलाई निर्वाचन क्षेत्रमा बजेट दिने योजना बनाएको छ, जसमा प्रत्यक्षतर्फका सांसदलाई ३ करोड र समानुपातिकलाई १ करोड १० लाख छुट्याइएको छ।
  • सांसदहरूले आफ्नो क्षेत्रका लागि योजना माग गरेका छन्, जसमा विद्यालयको भौतिक संरचना, स्वास्थ्य चौकीमा उपकरण, खेलकुद मैदान निर्माण, र सडक निर्माण जस्ता विकासका योजनाहरू समावेश छन्।
  • समानुपातिक सांसदहरूले बजेटमा विभेद भएको गुनासो गरेका छन्, भने आगामी आर्थिक वर्षको बजेटमा कटौती हुने संकेत देखिएको छ।

बुटवल । लुम्बिनी प्रदेश सरकारले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि घुमाउरो बाटोबाट बजेट दिने भएपछि सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका लागि योजनाहरूको माग बुझाएका छन् ।

साबिकमा निर्वाचन क्षेत्र विकास कोषबाट सांसदले रकम लैजाने गरेकोमा अब विभिन्न मन्त्रालयमार्फत निश्चित रकमको योजना बजेटमा सामेल गराउन थालेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रत्यक्षतर्फका सांसदलाई ३ करोड र समानुपातिकतर्फका सांसदलाई १ करोड १० लाखका दरले योजना छनोट गर्न दिएको छ ।

गत वर्ष प्रत्यक्षतर्फका सांसदलाई २ करोड ७५ लाख र समानुपातिक तर्फकालाई १ करोडका योजना दिइएको थियो ।

लुम्बिनीका ५२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका सदस्यलाई ३ करोड बराबरका योजना दिने तयारी भएको हो । समानुपातिक तर्फका सांसदलाई भने १ करोड १० लाखका दरले मात्रै योजना छान्न दिएको अर्थ मन्त्रालयले जनाएको छ । यद्यपि सांसदहरूले तोकिएको सीमाभन्दा पनि धेरै रकमका योजना माग गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

अहिले सङ्घीय सरकारले दिने अनुदान घटेको र बजेटको आकार घटाउने तयारी भइरहेको अर्थमन्त्री धनेन्द्र कार्कीले रातोपाटीलाई बताए ।

समानुपातिक सांसदको असन्तुष्टि

लुम्बिनी प्रदेशमा ५२ प्रत्यक्ष र ३५ समानुपातिक सांसद छन् । समानुपातिक सांसदले आफूहरूलाई विगतदेखि नै बजेटमा भेदभाव हुँदै आएको गुनासो गरेका छन् । सकेसम्म बराबर, नभए पनि प्रत्यक्षतर्फका सांसदको तुलनामा ५० प्रतिशत नघट्नेगरी योजना तथा बजेट दिनुपर्ने उनीहरूको भनाइ थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आफूहरूलाई १० लाख रुपैयाँमात्रै बढाइएको नागरिक उन्मुक्ति पार्टीकी सचेतकसमेत रहेकी समानुपातिक सांसद नरमाया ढकालले बताइन् ।

यस्तै कांग्रेसकी सचेतक जमुना ढकालले प्रत्यक्ष र समानुपातिक भनेर विभेद नगरी योजना राख्न पाउनुपर्ने बताइन् ।

प्रत्यक्ष निर्वाचित सांसद भोजप्रसाद श्रेष्ठले पनि सांसदको व्यक्तिगतभन्दा जनताको आयोजनाहरू जनप्रतिनिधिले सरकारसम्म लैजाने भएकाले अङ्कभन्दा पनि योजनाका आधारमा बजेट विनियोजित हुनुपर्ने बताए ।

सांसदका योजना कस्ता ?

नवलपरासी जिल्लाको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित खड्क बस्नेतले आफ्नो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयको भौतिक संरचना र शैक्षिक सामग्री माग गरेका छन् । यस्तै खेलकुद मैदान निर्माण तथा खेलकुद प्रतियोगिताका लागि कार्यक्रम माग गरेको उनले बताए ।

उनले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा उपकरण खरिदका साथै केही धार्मिक पर्यटन प्रवर्द्धनका लागि  कार्यक्रम माग गरेको जानकारी दिए ।

जमुना ढकाल समानुपातिक सांसद हुन् । उनले रुपन्देही परिवार नियोजन शाखा बुटवललाई भिडियो एक्सरे मेसिन, बुटवलको लायन्स आँखा अस्पतालमा आवश्यक उपकरण, बुटवलको ज्ञानोदय रात्रि माविको भौतिक विकासका लागि बजेट माग गरेको बताइन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसार नै शिक्षा र स्वास्थ्यमा जोड दिएको जिकिर गर्दै उनले एक करोड १० लाख रुपैयाँले कुनै पनि सडक पूरा नहुने प्रस्ट पारिन् ।

बर्दिया क्षेत्र नं. १ (१) बाट निर्वाचित सांसद भुवनेश्वर चौधरीले शिक्षाको अधुरा काम र केही नयाँ कामका लागि बजेट माग गरेको बताए । केही उपस्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रको कम्पाउन्ड विस्तारको योजना माग गरेको पनि उनले जानकारी दिए । उनले बाँसगढी गाउँपालिका वडा नम्बर ६ मा पक्की पुल निर्माणका लागि योजना माग गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ (२) का वसीउद्दिन खाँले मर्चवार क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्ने प्रस्ट पार्दै तोकिएको ३ करोडका योजनाले विकासको जनअपेक्षा पूरा नहुने बताए ।

उनले मर्चवारमा ४ लेन सडक पूरा गर्न, सेमरा, करोता हुँदै मर्चवार रिंगरोड निर्माण, सोमरीमाई र कोटिहीमाई पक्की पुल, खड्ग वनगाईमा सिँचाइ आयोजना, विद्यालयको भौतिक पूर्वाधार विकासका योजना माग गरेको रातोपाटीलाई बताए ।

यस्तै रुपन्देही क्षेत्र नम्बर २ (२)का सांसद भोजप्रसाद श्रेष्ठले विगतका अधुरा आयोजना पूरा गर्नुपर्ने बताए । उनले विगतमा स्वास्थ्य, खानेपानी आदिका अधुरा योजनासँगै अन्य सामाजिक क्षेत्रका लागि योजना आवश्यक रहेको प्रस्ट पारे ।

कपिलवस्तु १ (१) का सांसद विष्णु प्रसाद पन्थीले आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाको विकास लागि भौतिक पूर्वाधारका योजना माग गरेको बताए । उनले खासगरी शिक्षा, स्वास्थ्य केन्द्रित योजना आफूले मागेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप