मह काढ्ने परम्परा : नयाँ प्रविधि आवश्यकता

समाचार सारांश
- भिरमौरीको मह काढ्ने परम्परागत विधि र यसको महत्वबारे जानकारी दिइएको छ। यसमा मह सिकारको तरिका, समुदायको भूमिका र महको औषधीय गुणबारे उल्लेख छ।
- नेपालका विभिन्न जिल्लाहरूमा भिरमौरीको मह पाइने र यसको संकलन कार्तिक-मंसिर र वैशाख-जेठमा हुने कुरा बताइएको छ। मह सिकारमा सुरक्षा र आधुनिकीकरणको आवश्यकतामा जोड दिइएको छ।
- भिरमौरीको महको मूल्य र बजार, साथै यसलाई पर्यटनसँग जोड्न सकिने सम्भावनाबारे चर्चा गरिएको छ। मह संकलनकर्ताले तिर्नुपर्ने राजस्व र स्थानीय मूल्यको विवरण पनि समावेश छ।
मह उत्पादन गर्ने मौरी वर्गका विभिन्न प्रजातिमध्ये भिरमौरी पनि एक हो । यस मौरीलाई ‘एपिस लेबोरिओसा’ वा चट्टानमा बस्ने भएकाले ‘क्लिफ बी’ भनेर पनि चिन्ने गरिन्छ । यो मौरी समुद्र सतहदेखि करिब १२०० देखि ३६०० मिटर उचाइसम्मका क्षेत्रमा पाइन्छ । आकारमा अन्य महमौरीभन्दा ठुलो देखिने यो मौरी पहाडका चट्टान, पहराहरू र पानीको स्रोत (झरना, खोला) नजिकका खुला ठाउँमा एउटा गोलामा ठुला–ठुला चाका लगाएको पाइन्छ ।
यस मौरीले एउटै गोलाबाट ४० किलोभन्दा बढी मह दिन्छ । नेपालका विभिन्न जिल्ला (सोलुखुम्बु, जाजरकोट, रुकुम, बझाङ, बाजुरा, जुम्ला, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ, सिन्धुपाल्चोक, ताप्लेजुङ, खोटाङ, दोलखा, रसुवा आदि) का ग्रामीण भेगका ठाडो भिरमा यो मौरीका गोला देख्न सकिन्छ । ती जिल्लामा प्रायः भिर मौरीको मह काढ्ने गरिन्छ । स्थानीय पर्यावरण, भिरको आकार, चरन क्षेत्र र उचाइ अनुरूप एकै भिरमा १०–१२ पोला (माहुरीको गोला वा गुँड) देखि ३०–४० पोलासम्म देखिन्छ । भिर मौरीका सञ्चित मह खास गरी कार्तिक–मंसिर र वैशाख–जेठ गरी वर्षको दुईपटक काढ्न सकिन्छ ।
वैशाख–जेठ ( जडीबुटी फुल्ने समय) लाई महको मुख्य सिजन मानिन्छ । यस सिजनको महमा बढी औषधीय गुण हुन्छ भन्ने मान्यता छ । भिर मौरीको मह काढ्ने वा संकलन गर्ने प्रक्रियालाई मह सिकार भनिन्छ ।
पुस्तौँदेखि चलिआएको मह सिकार गर्ने प्रचलनलाई ग्रामीण भेगका केही समुदायले यथावत् कायम गरिआएको पाइन्छ । उक्त भेगमा अवस्थित विशेषतः गुरुङ, मगर, राईका साथै अन्य समुदाय समेतका अनुभवी र पाका व्यक्तिको अगुवाइमा मह सिकार कार्यले निरन्तरता पाउँदै आएको छ । मह सिकारमा प्रयोग हुने धेरै सामग्री र उक्त क्षेत्रका मौरीचरन बिरुवाको नाम समेत गुरुङ भाषाका छन् । मह काढ्ने कार्य निकै जोखिमयुक्त भएकाले मह सिकार गर्नुपूर्व पूजाआजा गरिन्छ ।
स्थानीय चलन अनुसार कुनै समुदायमा मह सिकार गर्ने निश्चित बार समेत तोकिएको पाइन्छ भने कुनै समुदायमा सरुन परेको समयमा मह नकाढ्ने चलन भेटिन्छ । चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्याङलाई भिरमा झुन्डाएर तल झारिन्छ र पर्याङमार्फत पर्याङ्गे महको पोला भएको ठाउँमा मह निकाल्न पुग्छ । पर्याङमा बसेर मह निकाल्न जाने व्यक्तिलाई स्थानीय भाषामा पर्याङ्गे भनिन्छ ।
मह सिकार गर्ने परम्परागत विधि र शैलीलाई आधुनिकीकरण गर्ने, सुरक्षा संवेदनशीलतामा ध्यान दिने र प्रशोधनका लागि नयाँ प्रविधिको खोजी गरी वैज्ञानिक तवरबाट मह सिकार गर्नुपर्ने देखिन्छ ।
पर्याङ्गेसँगै धुँवा लगाउने लगायत अन्य काम गर्ने व्यक्तिहरू समेत पर्याङमा बसेका हुन्छन् । तसुरो र दाबिलो प्रयोग गरेर मह काढिन्छ र चोयाबाटै बुनेको टोकरीमा जम्मा गरिन्छ । यसरी जम्मा गरेको महलाई भिरको उचाइ कम भएमा तल फेदीमा झार्ने र भिरको उचाइ ठुलो भएमा महमाथि तान्ने गरिन्छ । यी सबै कार्य गर्दा भिरको शिरमा बस्ने ज्यामीले डोरी खेलाउने र फेदीमा बस्ने ज्यामीले ठुलो आवाजमा संवाद गरेर तल झार्ने वा माथि लैजाने गरिन्छ । यही प्रक्रियाबाट रित्तो टोकरीलाई पुनः मह सिकारीको नजिक पुर्याइन्छ । यसरी काढिएको मह उक्त समुदायको निर्णय अनुसार केही मात्रा समुदायले नै उपभोग गर्ने र बाँकी परिमाण बिक्री गरिन्छ ।
मह बिक्रीबाट प्राप्त रकमहरू उक्त समुदायले समाजको अन्य सार्वजनिक कार्यहरू वा चाडबाडमा खर्च गर्ने गरेको पाइन्छ । मह काढ्दा अपनाउनुपर्ने सुरक्षात्मक विधि निकै कम पाइयो । केही लामबाहुले कपडा र टाउकोमा जालिदार घुम्ती लगाएर मह सिकार गरिन्छ । साथै मह सिकार पुख्र्यौली पेसा भएकाले पर्याङ्गेको उमेर ढल्दै गएपछि नयाँ पर्याङ्गेहरू स्वेच्छाले तयार हुँदै जान्छन् र पेसालाई निरन्तरता दिँदै जाने पाइन्छ ।
भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नसासम्बन्धी समस्या, युरिक एसिड, रक्तचाप भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञले बताउने गरेका छन् । प्रत्येक पोलाबाट निकालिने महको परिमाण र गुणस्तर उक्त क्षेत्रको चरन क्षेत्रको पर्याप्तता र विविधतामा निर्भर गर्छ ।
साधारणतः प्रत्येक चाकाबाट १० देखि २० किलोसम्म मह प्राप्त हुने स्थानीयको भनाइ छ । लालीगुराँस लगायत फ्लाड, चिमल, च्यासिङजस्ता वनस्पतिको रसबाट तयार गरिएको मह धेरै सेवन गरिएमा लठ्याउने, मात लाग्ने साथै बेहोस समेत हुन सक्ने जोखिम रहन्छ । लालीगुराँस वर्गमा पर्ने वनस्पतिहरूमा ग्रानोटक्जिन रसायन पाइने भएको हुँदा भिर मौरीको महलाई हिमालयन वाइल्ड हनी वा म्याड हनीको नाम दिई प्रचार–प्रसार कार्य भएको पाइन्छ । साथै उक्त समयमा अन्य बिरुवाहरू (चिलाउने, कटुस, टुनी, ठोस्ने जस्ता वनस्पति) पनि पहाडी क्षेत्रमा फुल्ने गर्दछन् ।
परम्परागत रूपमा मह सिकार गर्दा एकपटकमा धेरै मौरी मरेको पाइयो । एकातिर मह कटाइ गर्दा मौरीको फूल, लार्भा र प्युपा नाश भएको छ भने अर्कातर्फ धुवाँ लगाउँदा तातो रापले मौरीको रानुलाई समेत असर पार्न सक्ने खतरा रह्यो । साथै विस्तारित रूपमा रहेको जलविद्युत् आयोजना, हाई टेन्सनका लाइनहरू, जलवायु परिवर्तनले भिर मौरीको वासस्थानमा निकै असर पारेको देखिन्छ । मह सिकार गर्ने परम्परागत विधि र शैलीलाई आधुनिकीकरण गर्ने, सुरक्षा संवेदनशीलतामा ध्यान दिने र प्रशोधनका लागि नयाँ प्रविधिको खोजी गरी वैज्ञानिक तवरबाट मह सिकार गर्नुपर्ने देखिन्छ ।
लमजुङ जिल्लामा मह सिकारका लागि डिभिजन वन कार्यालयमा प्रतिलिटर एक सय रुपैयाँ राजस्व तिरेर मह संकलनकर्ताले सङ्कलन पुर्जी लिनुपर्ने प्रावधान छ । स्थानीय स्तरमा महको मूल्य सरदर प्रतिकिलो दुईदेखि तीन हजार रुपैयाँ रहेको छ । भिर मौरीको महको मुख्य ग्राहक प्रायः विदेशी नागरिक हुन् ।
भिर मौरीको मह सिकार गर्ने तरिकालाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीय बासिन्दाको पुख्र्यौली पेसाको संरक्षण गर्ने, मौरीको वासस्थान संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्ने र भिर मौरीलाई पर्यटनसँग जोडेर लान सकिएमा स्थानीय समुदायलाई फाइदा पुग्ने र मह सिकार गर्ने परम्परालाई दिगो व्यवस्थापन गर्न सकिन्छ ।
(लेखक अंगाई मौरीपालन विकास केन्द्र, भण्डारा, चितवनका प्रमुख हुन् भने डा. देवकोटा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कार्यरत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
इजरायल–इरान युद्धले कमोडिटितिर सोझियो लगानी, विश्वभरको शेयर बजार घट्दो
-
‘क्यूएफएक्सको जागिर आकर्षक लाग्यो, धेरै सुविधा भएकाले रोजेँ’
-
बयानका लागि सहसचिव भट्टराई अख्तियारमा
-
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार