बागमती प्रदेशसभामा आर्थिक सर्वेक्षण पेस

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक सर्वेक्षण पेस गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभाको बैठकमा प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ ।
मन्त्री काफ्लेका अनुसार प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको छ भने प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुराउने संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ ।
बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६०२ अमेरिकी डलर रहेको छ । सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षण अनुसार सवारी साधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ७ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भइसकेको छ । नेपाल राष्ट्र बैङ्कले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ ।
सर्वेक्षणले अनुसार प्रदेशका ९९.९७ प्रतिशत जनसङ्ख्या विद्युत पहुँचमा पुगेको छ । राष्ट्रिय स्तरमा ३ हजार ५१२ मेगावाट विद्युत उत्पादन भएकोमा १ हजार ५८८ मेगावाट (४५.२ प्रतिशत) बागमती प्रदेशबाट भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । प्रदेशका ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ भने प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.५२ प्रतिशत रहेको छ । जसमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.०७ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत र उद्योग क्षेत्रको ११.१३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । उत्पादनमूलक उद्योगमा बागमतीको योगदान ३१.७ प्रतिशत रहेको छ भने राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७.१२ प्रतिशत रहेको छ ।
प्रदेशको ४४.५२ प्रतिशत जनसङ्ख्या (२७ लाख २३ हजार) कृषि पेसामा आबद्ध रहेको छ । फागुनसम्म ३ लाख ५२ हजार हेक्टरमा खाद्यान्न, २९ हजार हेक्टरमा तेलहन, र ३१ हजार हेक्टरमा तरकारी बाली लगाइएको छ । सहुलियत ऋण कार्यक्रम अन्तर्गत ३ अर्ब ३० करोड रुपैयाँ लगानी भएकोमा १ अर्ब ८१ करोड रुपैयाँ फिर्ता भएको छ ।
बागमती प्रदेशमा नेपालका कुल वन क्षेत्रको १७.०५ प्रतिशत हिस्सा रहेको छ । देशभरका कुल बैङ्क तथा वित्तीय संस्थाका ११ हजार ५४३ शाखा मध्ये २६ प्रतिशत (३ हजार ४१ शाखा) बागमतीमा छन् । बागमती प्रदेशको वित्तीय साक्षरता दर ६४.५ प्रतिशत पुगेको छ ।
बिमाका कुल २ हजार ९९२ शाखा मध्ये बागमती प्रदेशमा ८४० शाखा छन् । बागमतीमा रहेका ३ हजार २२९ वटा सहकारी संस्थाहरू मध्ये काठमाडौँ जिल्लामा १,६६२ वटा छन् ।
फागुनसम्म बागमती प्रदेशमा ९१ हजार ८४९ जना बेरोजगार सूचीकृत छन् । जसमध्ये ६८ हजार ७७१ जना प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा सहभागी भएका छन् । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार देशको बेरोजगारी दर ११.४ प्रतिशत भए पनि बागमती प्रदेशमा यसको उल्लेख ७ प्रतिशत रहेको छ ।
नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बागमती प्रदेशमा गरिबीको रेखामुनि बस्ने जनसङ्ख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
-
थरुनी बुहारी
-
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान
-
अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार बढी व्यवसायीलाई कारबाही
-
सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत घट्ने अवस्था छ : मन्त्री पौडेल
-
शनिबार बिहानको आक्रमणमा इजरायलमा दुई जनाको मृत्यु