शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

बागमती सरकारको बजेटको आकार बढ्ने

शनिबार, ३१ जेठ २०८२, ०८ : ३५
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको आकार बढाउने तयारी गरेको छ। बजेटमा करिब ३ अर्ब रुपैयाँ वृद्धि हुने अनुमान छ।
  • आगामी बजेटमा नागरिकका मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगार र खाद्यान्न जस्ता विषयलाई सम्बोधन गरिनेछ। निजी क्षेत्रलाई प्राथमिकता दिइनेछ।
  • बजेट निर्माण अन्तिम चरणमा पुगेको छ। सरकारले राजस्व सङ्कलन र विपद् व्यवस्थापनमा नयाँ योजना ल्याउने तयारी गरेको छ।

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को तुलनामा बजेटको आकार बढाएर ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकारले आगामी असार १ गते दिउँसो ३ बजे प्रदेशसभा बैठकमा बजेट कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको तुलनामा अधिकतम ५ प्रतिशतसम्म वृद्धि गर्ने गरी बजेट कार्यक्रम तयार गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही अनुपातमा आगामी आर्थिक वर्षको बजेटमा आकार वृद्धि हुँदा करिब ३ अर्ब रुपैयाँ हाराहारीमा वृद्धि हुने अनुमान आर्थिक मामिला तथा योजना मन्त्रालयको रहेको छ ।

सोही अनुसार बजेट निर्माण कार्य अन्तिम अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् बजेट महाशाखा प्रमुख श्रीकृष्ण आचार्यका अनुसार बजेट निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

बजेट निर्माणको प्रक्रिया अन्तर्गत बजेट कार्यक्रम सिस्टममा समावेश गर्ने कार्य भइसकेको उनले बताए । विषयगत मन्त्रालयले प्राप्त सिलिङ अनुसारको बजेट निर्माणको लागि कार्यक्रमहरू सिस्टममा प्रविष्ट गरिसकेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यसलाई भरिफाई गर्ने काम भइरहेको उनले बताए ।

उनका अनुसार प्रदेश सरकारको निर्देशन अनुसार बजेट निर्माण, परिचालन, व्यवस्थापनमा केही फरकपन आउने गरी बजेट तयार गरिएको छ । राजस्व सङ्कलन तथा परिचालनका सन्दर्भमा पनि नयाँ ढङ्गबाट अघि बढेको उनले बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेका अनुसार चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याउने काम भइरहेको छ । केही महत्त्वपूर्ण योजनाहरूमा प्रदेश सरकारले काम गर्नेगरी बजेट निर्माण भएको उनले बताए । मन्त्रालयका सिलिङबाट प्राप्त कार्यक्रमहरू अनुदान वितरण र चालु तर्फका देखिएकाले केही विषयहरू मिलाउने गरी बजेट निर्माणको कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

आगामी बजेट व्यवस्थापन र कार्यान्वयनको दृष्टिले प्रभावकारी रहने उनले दाबी गरे र राजस्व सङ्कलनको विषयमा पनि केही नयाँपन दिने तयारी रहेको उनको भनाई छ । मन्त्रालयले गत फागुनमा थालेको राजस्व परामर्श तथा अध्ययन समितिको प्रतिवेदनलाई समेत कार्यान्वयन गरी बजेट निर्माण गरिएको उनले बताए । अध्ययन समितिको प्रतिवेदन अनुसार बजेट खर्च, योजना छनौट र राजस्व सङ्कलनका दर तथा दायरका क्षेत्रमा समावेश गरिएको उनले बताए ।

‘चालु आर्थिक वर्षमा विगतको भन्दा प्रभावकारी काम हुन्छ । साउनदेखि नै कार्यक्रमहरू सञ्चालन गर्ने, चौमासिक कुर्न नपर्ने अवस्था मिलाउने मन्त्रालय सक्रिय रहेको छ ।’ उनले भने, ‘बजेटले नयाँ करको क्षेत्र सिर्जना गर्ने कार्यक्रम ल्याउने छ । करलाई जनताको रहर बनाउने विषयमा सरकार गम्भीर छ । सङ्घले दिने प्रदेशले थाप्ने अनि बाँड्ने प्रवृत्तिको अन्त्य गर्नपर्छ ।’

उनका अनुसार आगामी बजेटले नागरिकका मौलिक हक, शिक्षा, स्वास्थ्य रोजगार र खाद्यान्नको विषयमा संवेदनशीलताका साथ सम्बोधन गर्नेछ । उत्पादनमा जोड दिँदै निजी क्षेत्रलाई प्राथमिकताका साथ लगानी गर्ने वातावरण तयार गर्न प्रेरित गर्ने बजेट कार्यक्रम तयार गर्ने सरकारको योजना रहेको उनले बताए । प्रदेश सरकारले निर्माण गरेका संरचनाहरू सञ्चालन गर्ने, त्यसलाई उत्पादनमा जोड्ने र राजस्वसँग सन्तुलन मिलाउने ढङ्गबाट अघि बढाइने मन्त्री काफ्लेले बताए । प्रदेश सरकारका योजना कार्यान्वयनका लागि एकीकृत कार्यालयको मोडलमा अघि बढ्ने तयारी रहेको उनले बताए ।

मन्त्री काफ्लेका अनुसार प्रदेश सरकार विपद् व्यवस्थापनका सवालमा संवेदनशीलका साथ बजेट व्यवस्थापन गर्ने तयारीमा छ । विपद् व्यवस्थापनको लागि कानुनी दायरालाई मध्यनजर गरेर प्रभावकारी कार्यक्रम तयार गर्ने सरकारको रणनीति रहेको उनले बताए । विपद् व्यवस्थापनका लागि क्याबिनेटको बैठक खोज्नुपर्ने, विपत् समितिको बैठक खोज्नुपर्ने अवस्थाबाट थोरै माथि उठ्ने हामी कोसिसमा सरकारले बजेट कार्यक्रम मार्फत गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप