११ करोड ठग्ने आरोपीको डेरामा बास !
सारांश
- काठमाडौंको नरेफाँटबाट लक्ष्मण पराजुली र अरुणराज शर्मा पक्राउ परेका छन्, जसले युके पठाउने नाममा ११ करोड ठगी गरेका थिए।
- पराजुली र शर्माले ३८ जना पीडितलाई बेलायत पठाउने सपना देखाएर प्रतिव्यक्ति ३५ देखि ४० लाख रुपैयाँ असुलेका थिए।
- प्रहरी अनुसन्धानका अनुसार, ठगीको रकम भारतीय एजेन्टलाई बुझाइएको र गिरोहमा अन्य भारतीय नागरिकहरुको संलग्नता रहेको खुलेको छ।
काठमाडौँ । काठमाडौँको नरेफाँटबाट जेठ २५ मा लक्ष्मण पराजुली र अरुणराज शर्मा पक्राउ परे । उनीहरू युके पठाउने नाममा ११ करोड ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
मोरङको रतुवामाई नगरपालिका–१० घर भएर कपनस्थित सरस्वती नगर बस्दै आएका ४४ वर्षीय लक्ष्मण पराजुली ‘आइइएलटीएस’ पढाउने शिक्षक पनि हुन् । पराजुली दम्पतीले चाबहिलमा विदेश जानेहरूका लागि अध्यापन गर्ने ‘इएलटी सेन्टर’ सञ्चालन गर्दै आएका छन् । तर, त्यही इएलटी सेन्टरमा ‘आइइएलटीएस’ पढ्न आएकाहरूलाई वर्किङ र पर्मानेन्ट भिषा लगाएर बेलायत पठाउँछौँ भन्दै रकम ठगेको आरोपमा लक्ष्मण पक्राउ परे । पत्नी सम्झना पौडेल त्यही कसुरमा पराजुली फरार छिन् ।
सोही कार्यमा ४७ वर्षीय अरुणराज शर्माले पनि पराजुलीलाई सघाएको आरोप छ । सोहीअनुसार धनुषाको सवैला नगरपालिका–१२ का उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ–३२ नरेफाँट स्थित शर्माको डेरामा लुकेर बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
बेलायत सपना देखाएर उनीहरूले ११ करोड ६ लाख ९७ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ३८ जना पीडितहरूले उनीहरुविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । आरोपीहरूले प्रतिव्यक्ति ३५ देखि ४० लाख रुपैयाँ असुलेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘उनीहरूले २० देखि ३० वर्षका युवायुवतीलाई टार्गेट गरेर रकम असुलेको देखिन्छ ।’
ठगिनेहरू अधिकांश स्नातक पास गर्नेहरू छन् । अरुणराज शर्माचाहिँ कन्सल्टेन्सीमा काम गर्छन् । उनले प्रहरीसँग भनेका छन्, ‘इन्स्टिच्युट फर मेडिकल स्टडिज’ मा काम गर्छु ।’
करोडौँ ठगीमा संलग्न आरोपीहरू डेरामा बस्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पराजुली दम्पती कपनमा र शर्मा नरेफाँटमा सामान्य डेरामा बसेको देखिएको छ ।’
विद्यार्थीहरूसँग असुलेको रकम भारतीय एजेन्टलाई बुझाएको उनीहरूले बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीहरूको जीवनशैली हेर्दा ठगेको रकम भारतीयहरूले लगेको हाम्रो आशङ्का छ ।’
पराजुलीले आफूले उठाएको रकम ‘करिअर टेक कन्सल्टेन्सी’मा बुझाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
पराजुली र शर्मासँग जोडिएका अर्का एक जना भारतीय नागरिक रहेको बताइएको छ । यस्तै ठग्ने गिरोहमा संलग्न भारतीय नागरिक राहुल पुञ्ज यसअघि पक्राउ परेका थिए । आफूले एमबिबिएस अध्ययन गरेको दाबी गर्ने पुञ्ज धरौटीमा छुटिसकेका छन् । नेपालबाट बेलायत जान चाहनेहरूलाई भारतबाट ‘प्रोसेसिङ’ गर्ने सर्तमा रकम लिने गरेको आरोपीहरूले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।
पराजुलीले सञ्चालन गरेको ‘इएलटी सेन्टर’मा लेखापालको रूपमा कार्यरत कविता तिमल्सिनालाई यसअघि प्रहरीले पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको थियो । वैदेशिक रोजगार न्यायाधिकरणले तिमल्सिनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ ।
वैदेशिक रोजगार विभागले पराजुली र शर्माको गिरोहसँगबाट जरिवाना र बिगोसहित १६ करोड ६० लाख असुल गर्नुपर्ने मागदावी लिएको छ । तर, असुलेको रकम भारतीयलाई बुझाएको भन्दै उनीहरू पन्छिएका छन् । उनीहरूले त्यतिधेरै रकम फिर्ता गर्न सक्ने अवस्था पनि नरहेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण