शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’

शुक्रबार, ३० जेठ २०८२, १९ : ३४
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाए।
  • प्रसाईंलाई पक्राउ गर्न भारतको आसामबाट नेपाल ल्याइयो, उनले इन्काउन्टरको डरले भागेको बयान दिए।
  • प्रसाईंले आफूलाई मार्ने योजना बनेको र केपी ओलीको आदेशमा इन्काउन्टरको तयारी भएको दाबी गरे।

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन भयो । प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई प्रदर्शनकारीलाई उक्साएर सुरक्षाकर्मीमाथि गाडी हुत्याउँदै बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढे । तीन तहको सुरक्षाघेरा तोडेपछि प्रहरीले गाडी नियन्त्रणमा लिई प्रसाईसहित गाडीमा सवार अन्य प्रदर्शनकारीलाई तीनकुनेतर्फ फर्कायो ।

थुनछेक बहसपछि प्रसाईलाई थुनामा पठाउन जिल्ला अदातल काठमाडौँले बिहीबार गरेको आदेशको पूर्णपाठअनुसार मञ्चमा रहेका रविन्द्र मिश्र, धवल शमशेर राणा, खुश्बु ओलीलगायतलाई प्रसाईले आक्रोशित पारे ।

प्रदर्शन हिंसात्मक बनेपछि उनी तीनकुने आईल्यान्डबाट पेरिसडाँडा जाने बाटोतर्फ एउटा घरको अन्डरग्राउन्डको सटरमा लुकेर केही समयपछि गाडीमा फरार भए । सिन्धुलीको बाटो हुँदै नयाँदिल्ली पुगेर त्यहाँबाट भारतको आसाममा लुकेर बसेका उनलाई आसाम प्रहरीको सहयोगमा नेपाल ल्याई झापाबाट पक्राउ गरिएको थियो ।

उक्त विषयमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईले आफूलाई इन्काउन्टरको सूचना पाएपछि भारत भागेको बयान गरेका छन् । प्रसाईको बयानअनुसार चैत १५ मा हुने प्रदर्शनबारे फागुनमा नै राजसंस्था पुर्नस्थापन जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, परिचालन समितिका संयोजक धवल शमशेर राणा, सचिव रविन्द्र मिश्र, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित प्रसाईसमेतको पहलमा उक्त प्रदर्शन भएको थियो ।

उक्त प्रदर्शनका लागि धवल शमशेर र रविन्द्र मिश्रलगायतका नेता भक्तपुरस्थित आफ्नो घरमा आई सल्लाह गरेको उनको भनाइ छ । चैत १३ गते जिल्ला प्रशासन कार्यालयबाट शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति समेत लिएकोमा प्रदर्शनअघि नै प्रहरीले कार्यक्रमस्थलमा बल प्रयोग गरेको दाबी उनले बयानमा गरेका छन् ।

उनले प्रहरीलाई मार्ने नियतले गाडी नचलाएको, प्रदर्शनस्थलमा अश्रुग्यास, ढुङ्गा र गोली प्रहार हुन थालेपछि संयमित भई ज्यान बचाउनका लागि निषेधित क्षेत्रमा सुस्तरी गाडी चलाएर गएको दाबी अदालतसमक्ष बयानका क्रममा गरेका छन् ।

काठमाडौँ प्रहरी परिसरका एसपी विश्व अधिकारी र अपिल राज बोहरा र एकजना डीएसपीले आफूहरुलाई तीनकुने प्रदर्शनको स्थानका लागि दिएकोमा उक्त स्थान कति उपयुक्त थियो, प्रज्वलनशील भण्डारण थियोलगायतका विषयमा सुरक्षा समितिले नै जान्नुपर्नेमा त्यो स्थान दिइएको बयान उनले गरेका छन् ।

तीनकुनेमा पुगेपछि अचनाक आफ्नो आँखा पिरो भइ पोलेको, आँखा पोलेपछि कार्यक्रम स्थलमा हेर्दा धुवाँ नै धुवाँ देखेको, मानिसहरुको भागाभाग भैरहेको, गोली चलेको, मान्छे भुइँमा लड्दै कुद्दै गरेको देखेको तथा छतमाथि अपरिचित मानिसहरुले बन्दुक ताकेको देखेको दाबी उनले गरेका छन् । त्यसैबिच करिब १५० मिटरको दूरीमा पुग्दा आफ्नो कानको छेउबाट गोली गएको र आफू सवार गाडीमा अश्रुग्यास खसेको पनि उनको भनाइ छ ।

त्यसपछि कार्यक्रममा घुसपैठ भएको र आफूलाई मार्ने पूर्वसूचना पाएका कारण ज्यान बचाउन चालकलाई ओराली आफैले गाडी चलाएर सुरक्षित स्थानमा जान खोजेको उनले बताएका छन् ।

‘मलाई मार्ने योजना साँचो रहेछ सोची गाडीबाट हाम फालेर ड्राइभरलाई ओराली आफैँ गाडी सुरक्षित स्थानतिर लान लाग्दा तीनकुने मोडमा घुम्तीका कारण प्रहरीलाई देखिनँ । कान्तिपुर छेउमा पुगेपछि पुलमा प्रहरीहरु उभिएको देखेँ,’ बयानमा उनले भनेका छन्, ‘त्यसपछि प्रहरी रहेको स्थानमा गएपछि म सुरक्षित हुन्छु भन्ने सोची ज्यान बचाउन प्रहरी घेराभित्र छिरेको हुँ ।’

उनले कोही घाइते नहोस् भनी गाडीको हाफ क्लजमा ब्रेक लगाउँदै सचते अवस्थामा गाडी चलाएको पनि दाबी गरेका छन् । तर त्यसक्रममा प्रहरीले आफ्नो गाडीमाथि लाठी प्रहार गरी गाडीमा क्षति पुर्‍याएको बताएका छन् । 

घेराभित्र सुरक्षित महशुस गरी गएकोमा प्रहरीले नै आफूसमक्ष आई मुसुक्क मुस्कुराएर कार्यक्रम स्थलमा जान भनेर आफूलाई मञ्चसम्म पुर्‍याइदिएको उनको दाबी छ । ‘एक जना प्रहरी आई मेरो स्टाफलाई दुर्गा प्रसाईलाई मार्ने योजना छ, पेस्तोल बोकेकाम मान्छेहरु परिचालित छन् भन्ने सूचना पाएपछि ज्यान जोगाउन मञ्चबाट हामफाली तीनकुने आइल्याण्डबाट पेरिसडाँडातिरको एक घरको सटरमा लुकेको बयान उनले दिएका छन् ।

सटरमा लुकेकै अवस्थामा गाडी मगाएको उनको भनाइ छ । ‘म निस्किने समयमा इन्काउन्टर गर्न केपी ओलीको ठाडो आदेश छ, तलाई दिनेश अधिकारी (चरी) बनाउलान् सुरक्षित हुनु भनेर खबर आएपछि म सो स्थानबाट काठमाडौँ छाडी सिन्धुलीको बाटो हुँदै भारत गएको हुँ,’ बयानमा उनले भनेका छन् ।

दिल्लीबाट आसामा गइ बसेकोमा ५ जना कानुन व्यवसायी र मानव अधिकार आयोगको रोहबरमा गिरफ्तारी दिन तयार रहेको सन्देश पनि पठाएको उनको भनाइ छ ।

त्यसैबिच प्रधानमन्त्रीको निर्देशनमा अस्पतालको खाता रोक्का गरेको, श्रीमती र छोरालाई पक्राउ गर्ने तयारी रहेको जानकारी पाएपछि आफैँले आसाम राज्यको इन्फरमेसन ब्युरोमा सुरक्षित नेपाल पुर्‍याइदिन भनेर गिरफ्तारी दिएको बयानमा उनले बताएका छन् ।

आसाम प्रहरीले प्रसाईलाई काकडभिट्टाको सिमामा नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप