कोशी प्रदेश : बजेटको आकार ३७ अर्ब पुग्न सक्ने अनुमान

समाचार सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ बजे बजेट ल्याउँदै छ। आर्थिक मामिला मन्त्री रामबहादुर मगरले दोस्रो पटक बजेट प्रस्तुत गर्दै छन्।
- मुख्यमन्त्री कार्कीले बजेटको आकार ३६-३७ अर्बको आउन सक्ने बताए, स्रोत सीमित भए पनि बजेट बढ्ने संकेत छ।
- प्रदेश सरकारले भवन, पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ, तर सीमित स्रोतका कारण कठिनाइ हुने अनुमान छ।
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि आज बजेट ल्याउँदै छ । सरकारले आज दिउँसो ३ बजे बस्ने कोशी प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्न लागेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन् । उनले दोस्रो पटक बजेट पढ्न लागेका हुन् ।
प्रदेश सरकारले ल्याउन लागेको बजेटको आकार वृद्धि हुने प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा मन्त्री मगरले पनि सङ्केत गरेका छन् । प्रदेश सरकारलाई संघबाट प्राप्त गर्ने सशर्त, समपूरक र समानीकरण अनुदानको रकम विगत वर्षहरूमा भन्दा घटेको छ । आन्तरिक राजस्व सङ्कलनको अवस्था पनि लक्ष्य भेट्न सक्ने अवस्थामा छैन । तर, बजेटको आकार भने चालू आर्थिक वर्षको भन्दा बढाएर ३७ अर्ब हाराहारी पुर्याउन लागेको स्रोतले दाबी गरेको छ ।
यसअघि प्रदेश सरकारले मन्त्रालयहरूलाई २८ अर्ब ८५ करोडको सिलिङमा आधारित भएर योजना प्रविष्ट गर्न निर्देशन दिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट चालू आर्थिक वर्षको भन्दा बढ्ने बताए । ‘आर्थिक स्रोतको चाप छ । सँगसँगै योजनाहरू समावेश गर्नुपर्ने पनि चाप छ । त्यसो हुँदा बजेट केही बढ्ने देखियो,’ मन्त्री मगरले भने ।
आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार सरकारले आगामी वर्षका लागि ३७ अर्ब हाराहारी बजेट ल्याउन लागेको हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।
यसैबिच प्रदेशका मुख्यमन्त्री कार्कीले स्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको भएपनि यस पटक बढ्नसक्ने बताए । उनले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै बजेटको आकार ३६–३७ अर्बको आउन सक्ने बताए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत,’ मुख्यमन्त्री कार्कीले भने ।
प्रदेश सरकारको बजेटले प्रदेश सरकारका भवन तथा संरचना निर्माण, पूर्वाधार निर्माण, शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहमदाबाद विमान दुर्घटना : गुजरातका पूर्व मुख्यमन्त्रीको शव पहिचान
-
मधेश प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट
-
नागरिकलाई सुरक्षित यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी : सभापति देउवा
-
बागमतीको बजेट आउन ढिलाइ
-
लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता, ५ करोड बिगो मागदाबी
-
काठमाडौँको सार्वजनिक यातायात प्रणाली सुधार गर्न सके वार्षिक ४० अर्ब रुपैयाँ जोगिन्छ : महामन्त्री थापा