आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

वर्षालाई चिठी

आइतबार, ०१ असार २०८२, १२ : २९
आइतबार, ०१ असार २०८२

प्रिय वर्षा !
हृदयभरिको माया अनि मिठो सम्झना ल !

तिमीलाई त हामी दिनरात सम्झिरहेका छौँ तर तिमीलाई हाम्रो याद आउँदैन रहेछ हगि ! नत्र त आकाशमा गड्याङगुडुङ गर्दा खुसी हुन लागेका हामी एक्कासि हराउँदा उफ् भन्दै लामो सास तान्न बाध्य भएका छौँ । हामीले यति धेरै सम्झँदा तिमीलाई पनि बाडुल्की लाग्नुपर्ने हो नि हैन र ? कि हाम्रो एकतर्फी माया मात्रै रहेछ कि क्या हो ?

मौसम विज्ञान विभागले यसपालि त वर्षा समयमै आउँछे, चिन्ता गर्नपर्दैन, बरु आफूले गर्नुपर्ने काम गर्नु र वर्षाबाट जोगिने उपाय गर्नु भनेकाले हामीले घाम लाग्दालाग्दै पनि मकै छर्‍यौँ, हुर्किएका मकैमा मल हाल्यौँ । पैला–पैलाजस्तो भा हामी पनि कहाँ पत्याउँथ्यौँ र ? तर अचेलको मौसम विज्ञान विभाग विश्वसनीय र इमानदार छ, भनेको पुग्छ भन्ने लागेको थियो तर यसलाई पनि कसैले घाँस खुवाइदेछ कि क्या हो ? अन्तैतिर पठाइदिएछ तिमीलाई ।

तिमी अचेल खण्डित भएकी छौ रे ! केन्द्रीकृत राज्यप्रणालीमार्फत विकास सबै ठाउँमा पुगेन भनेर अचेल संघीयता ल्याएका छन् यहाँ । संघीयतामा विकासभन्दा पनि खर्च बढी हुँदो रहेछ । तिमी पनि यहाँ लादिएको संघीयता अनुसार कुनै प्रदेशमा झुल्कने त कुनै प्रदेशबाट भाग्न लागिछ्यौ क्यारे । अनि एकै प्रदेशको पनि पूर्वमा जाँदा पश्चिममा फर्किन्नौ ! के भयो तिमीलाई ?

हुन त विकासका नाममा डोजर चलाएर प्रकृतिको विनाश गरिरहँदा तिमीलाई पनि चित्त त बुझेको छैन होला ! सुख खोज्दै युवायुवती सहर पस्दा गाउँका खेती बाँझै भएको देखेर तिम्रो पनि मन कम्ता अमिलो भको छैन होला !

चिन्ता नगर तिमीले आफ्नो कर्तव्य पूरा गर्‍यौ भने पक्का पनि हामी सरकारलाई गुहारेर भए पनि बाँझो राख्न दिने छैनौँ । तिमीले थाहा पायौ होला, प्रकृतिको दोहन धेरै गर्दा आजित भएर निस्किएको कोरोना भाइरसले धेरैलाई गाउँ आउन बाध्य बनाएको थियो र त्यति वेला यहाँका अधिकांश जग्गा बाँझा थिएनन् नि । तिमी समय समयमा आइरहेको भए धेरै मान्छे यहीँ बस्थे तर तिमी समय समयमा आइनौ, घुर्की मात्रै लाउँछ्यौ, भन त अब कैले आउँछ्यौ ?

हुन त पृथ्वीका मानव ज्याद्रा भए तिमीलाई पैला–पैला देवीका रूपमा पूजा गरी वैशाखअगाडि नै ‘घ्याम्पा सोई सोई, पानी पर् पर्’ भनेर उत्सव मनाउँथे अनि तिमी प्रशन्नै भएर आइहाल्थ्यौ तर आजकाल मुन्छेहरू खानपानमा तथा विलासितामा मात्र रमाउने भए, यस्ता काम छाडिसके, त्यसैले होला तिम्रो मन कुडिएको ।

तिमी अचेल खण्डित भएकी छौ रे ! केन्द्रीकृत राज्यप्रणालीमार्फत विकास सबै ठाउँमा पुगेन भनेर अचेल संघीयता ल्याएका छन् यहाँ । संघीयतामा विकासभन्दा पनि खर्च बढी हुँदो रहेछ । तिमी पनि यहाँ लादिएको संघीयता अनुसार कुनै प्रदेशमा झुल्कने त कुनै प्रदेशबाट भाग्न लागिछ्यौ क्यारे ।

नदीको पनि बिस्तारै बहाब कम हुन लागेको छ । सबैले खानेपानी जोहो गर्नका लागि लिफ्टिङ सुरु गरेका छन् तर सिँचाइका लागि ठुला नहर बनाउन कसैको ध्यान गएको छैन यहाँ, बनाइहाले पनि होँचै ठाउँमा थोरै क्षमताको बनाउने र पहुँचवालाले मात्र प्रयोग गर्ने साधन बनेको छ । कमसेकम त्यो टावर बनाएको क्षेत्रमा ठुल्ठुला नहर बनाएदेखि होँचा ठाउँका सबैमा सिँचाइ गर्न पुग्थ्यो नि हैन ? अनि जंगली जनावरले पनि पानी खान पाउने तथा वनजंगल पनि रिचार्ज हुने र प्रमुख पर्यटकीय गन्तव्य बन्ने पनि निश्चित हुन्थ्यो नि हगि ?

कृषि वा अन्य उत्पादन गर्नेहरूलाई प्रोत्साहन गर्ने र उत्पादित सामानहरू बिक्री नभए सरकारले लिइदिने परिपाटीको विकास कहिले होला र खै ? यी सब कुरा तिमीले हेरेकी नै हौली ! तर म यही भन्छु, तिमीविनाको पृथ्वी उराठलाग्दो मरुभूमि बन्नेछ र तिमीलाई नै धिक्कार्नेछ, त्यसैले प्रिय सबैतिर छाइदेउ र खुसीको बहार ल्याइदेउ ।

पृथ्वीको जननी, प्राणप्यारी, अक्सिजनकी खानी, हाइड्रोकी मालिक्नी, प्रकृतिको अनुपम उपहार— केभन्दा खुसी हुन्छ्यौ, सबै सम्बोधन तिमीलाई ! हुन त इन्द्रले पानी पार्छन् भन्छन् तर इन्द्रलाई पनि खुसी पार्न सक्ने तागत तिमी नै हौ प्रिया ! त्यसैले तिमी एकैचोटि विपत्मा नरमाउनु, बेलाबेला आउ न है !

प्रिय वर्षा ! मेरो बिन्ती छ, एकचोटि सबैतिर मजाले आइदेउ अनि अलि दिन नआउँदा पनि फरक पर्दैन ल !

सधैँ आकाशतिर टोलाएर बस्ने मजस्ता गाउँ फर्किएका युवालाई फेरि पनि खाडीमा नपठाउनका लागि र विभिन्न देशबाट डिपोर्ट गरिएका युवालाई यहीँ राख्नका लागि पनि तिमीले दर्शन दिनैपर्छ, हामी पनि हाम्रो कर्तव्य पूरा गर्नेछौँ । हामी तिम्रै प्रतीक्षामा छौँ वर्षा !

शुभदिनको कामना !

उही तिम्रो सधैँ भलो चाहने प्रतीक्षारत केटो 
तीर्थ सुवेदी
मन्थली नपा १ सानीमदौ रामेछाप । 
२०८२ जेठ ३० ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तीर्थ सुवेदी
तीर्थ सुवेदी
लेखकबाट थप