सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

आइतबार, ०१ असार २०८२, २२ : १४
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • अछामको मङ्गलसेन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ।
  • नगरपालिकाले फोहोर पालेवन सामुदायिक वनमा फाल्दा वन क्षेत्र दुर्गन्धित र स्वास्थ्य जोखिम बढेको छ।
  • फोहोर हटाउन उपभोक्ता समितिले आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ गरेको छैन।

अछाम। अछामको मङ्गलसेन नगरपालिकाले आफ्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । मङ्गलसेन बजारभित्रको सबै फोहोर मध्य पहाडी राजमार्गअन्तर्गत ठूलासैन–मङ्गलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो ।

मङ्गलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियो । नागरिकलाई असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ । पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुप्रो देख्न सकिन्छ । बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जङ्गलको सडक छेउछाउमा थुपारिएको छ । घरबाट निस्कने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, ब्वायलर कुखुराको भुत्ला, मदिराका बोतलहरू लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ ।

यसरी जथाभाबी फोहोर फालिँदा जङ्गल नै कुरूप मात्र होइन, स्वास्थ्यको जोखिम बढेको स्थानीयले बताएका छन् । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन् सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ  । फोहोर हटाउन र त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरी पटकपटक नगरपालिकालाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद ढुङ्गानाले बताए । करिब एक वर्षदेखि फोहोर त्यहाँ फाल्ने गरेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप