सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष

आइतबार, ०१ असार २०८२, २२ : ४९
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • वर्षायाममा काठमाडौं उपत्यकामा खानेपानीका मुहान दूषित हुँदा झाडापखाला, ज्वरो, रुघाखोकी र सर्पदंशका बिरामी बढेका छन्।
  • टेकु अस्पतालमा झाडापखाला, ज्वरो, र सर्पदंशका बिरामीको संख्या बढेको छ। दूषित पानी र खाना, विषादीयुक्त फलफूल र तरकारीका कारण झाडापखाला फैलिएको छ।
  • डाक्टरका अनुसार, सर्पदंशका बिरामी पनि बढिरहेका छन्, जसमा पहाडी क्षेत्रका 'पिट भाइपर' सर्पको टोकाइ मुख्य कारण हो। सर्पको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ।

काठमाडौँ । मनसुन स्वास्थ्यका लागि चुनौतीपूर्ण मौसम बन्ने गर्छ । 

काठमाडौँ उपत्यकामा बर्खा लागेसँगै खानेपानीका मुहान दूषित हुन थालेका छन् । कीराफट्याङ्ग्रया तथा सर्पको बिगबिगी बढ्न थाल्दा अस्पतालहरूमा बिरामीको चाप पनि हुन थालेको छ । विशेषगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को आकस्मिक कक्ष झाडापखाला, ज्वरो–रुघाखोकी र सर्पदंशका बिरामीले भरिन थालेको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल चालिसेका अनुसार पछिल्लो एक सातायता यस्ता बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । ‘अहिले अस्पतालमा भर्ना हुने बिरामीमा अधिकांश झाडापखाला, ज्वरो र सर्पदंशका छन्,’ उनले भने, ‘केही बिरामी त अत्यन्तै सिकिस्त अवस्थामा बेहोस भएर आकस्मिक कक्षमा आइपुग्छन् ।’ 

अस्पतालको तथ्याङ्कअनुसार हाल दैनिक औसतमा १२ देखि १५ जना झाडापखालाका, करिब २५ जना ज्वरो–रुघाखोकीका र १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । यी बिरामीहरू काठमाडौँ, ललितपुर र भक्तपुरका साथै उपत्यका बाहिरका छिमेकी जिल्लाहरूबाट समेत आउने गरेका छन् ।

दूषित पानी र खानाले बढायो झाडापखाला 

बर्खायाममा झाडापखाला फैलनुको मुख्य कारण दूषित पानी र खानेकुरा नै रहेको डा. चालिसे बताउँछन् । उनका अनुसार वर्षाको भेलले खानेपानीका मुहान, इनार र पाइपलाइनहरूमा ढल मिसिने हुँदा पानीमा ‘कोलिफर्म’ जस्ता हानिकारक ब्याक्टेरियाको सङ्क्रमण हुन्छ । यही दूषित पानीको प्रयोग खाना पकाउन, भाँडा माझ्न वा सीधै पिउनका लागि गर्दा झाडापखालाको जोखिम बढ्छ ।

‘अहिले अस्पतालमा आउने बिरामीमा पेट दुख्ने र पातलो दिसा हुने साझा लक्षण देखिएको छ,’ डा. चालिसेले भने, ‘यसको कारण ब्याक्टेरियल इन्फेक्सन वा फुड पोइजनिङ हो ।’ बजारमा पाइने फलफूल र तरकारी राम्ररी नपखाली खाँदा पनि सङ्क्रमण फैलिएको बताए । 

अत्यधिक विषादी प्रयोग गरिएका तरकारी र फलफूलले पनि पेटको समस्या बढाएको हुन सक्ने अनुमान गरिए पनि त्यो प्रमाणित हुन भने बाँकी रहेको उनको भनाइ छ । बासी, सडेगलेका र झिँगा भन्किएका खानेकुराले पनि झाडापखालाको प्रकोप बढाउन मद्दत गरेको छ ।

सर्पदंशका बिरामी पनि बढ्न थाले 

झाडापखालासँगै बर्खामा सर्पदंशको जोखिम पनि उत्तिकै बढेको छ । टेकु अस्पतालमा काठमाडौँ उपत्यकाभित्र मात्र नभई धादिङ, गोरखा, नुवाकोट र काभ्रेजस्ता पहाडी जिल्लाहरूबाट समेत सर्पले टोकेका बिरामीहरू उपचारका लागि आइपुगेका छन् ।

डा. चालिसेका अनुसार, हाल उपचारमा आएका अधिकांश बिरामीलाई पहाडी क्षेत्रमा पाइने हरियो रङको ‘पिट भाइपर’ सर्पले टोकेको पाइएको छ । यो सर्पको विषले रगतलाई पातलो बनाइदिने र शरीरका विभिन्न भागबाट रक्तस्राव गराउने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । ‘सर्पले टोकेपछि टोकेको भाग सुन्निने, आँखाका ढकनी लत्रिने, नाक, गिजा वा पिसाबबाट रगत बग्ने, र घाँटी लत्रिने जस्ता लक्षणहरू देखिन्छन्,’ उनले भने ।

तराईमा पाइने विषालु सर्प ‘कोब्रा’ र ‘करेत’ले टोकेका बिरामीहरू यस वर्ष हालसम्म अस्पतालमा भर्ना नभए पनि ढुक्क हुने अवस्था नरहेको उनी बताउँछन् । ‘तापक्रम वृद्धिसँगै सर्पको वासस्थानमा परिवर्तन आउन सक्छ, त्यसैले पहाडी क्षेत्रमा पनि यस्ता सर्प देखिँदैनन् भन्न सकिँदैन,’ उनले सचेत गराए । 

सर्पले टोकेमा कुनै पनि घरेलु उपचार वा झारफुकमा अलमल नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न उनको आग्रह छ ।

कसरी जोगिने ? 

डा. चालिसेका अनुसार केही सामान्य सावधानी अपनाए बर्खायाममा देखिने यी स्वास्थ्य समस्याबाट बच्न सकिन्छः

शुद्ध पानी पिउनेः पिउने पानीलाई सधैँ कम्तीमा एक मिनेट भकभकी उमालेर, फिल्टर गरेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउनुपर्छ ।

खानाको सरसफाइः खाना बनाउनुअघि, खानुअघि र शौचालय प्रयोगपछि साबुनपानीले मिचीमिची हात धुनुपर्छ । बासी, सडेगलेको र खुला स्थानमा राखेको खानेकुरा खानुहुँदैन ।

काँचो खानेकुरामा सावधानीः फलफूल र तरकारीलाई राम्ररी पखालेर मात्र खानुपर्छ । सकेसम्म यो मौसममा काँचो सलाद नखानु नै उत्तम हुन्छ ।

व्यक्तिगत सरसफाइः व्यक्तिगत सरसफाइमा ध्यान दिने र घरवरिपरिको वातावरण सफा राख्ने ।

तत्काल स्वास्थ्य संस्था जानेः दिनमा दुई पटकभन्दा बढी पातलो दिसा भए, शरीर कमजोर भए, वा ज्वरोसँगै श्वासप्रश्वासमा कठिनाइ भए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । झाडापखाला हुँदा शरीरमा पानीको कमी हुन नदिन जीवनजल वा अन्य झोलिलो पदार्थ पटक–पटक पिउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप