सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक

सोमबार, ०२ असार २०८२, १९ : ०५
सोमबार, ०२ असार २०८२

काठमाडौँ । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग् इतिहासः आदिम सभ्यता सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा।डा। पेशल दाहालले पुस्तक विमोचन गरेका हुन् । यो पुस्तक विश्वमा सभ्यताको विकास हुनुभन्दाअघिका मानिसहरुको जीवनशैली र उनीहरुले विकास गरेको संस्कृतिमा केन्द्रित रहेको लेखक श्रेष्ठको भनाइ छ ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रकाशन गरेको यो श्रेष्ठको दोस्रो पुस्तक हो । यसभन्दाअघि २०७९ सालमा अध्ययन केन्द्रले नै श्रेष्ठको हिमालयको उत्पत्ति नामक पुस्तक प्रकाशन गरेको थियो ।

हाल अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भूगर्भ शास्त्र केन्द्रीय विभाग र नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर सम्पन्न गरिसकेका छन् । उनले यस पुस्तकमा पृथ्वीमा जीवहरुको उत्पत्ति र विकासक्रमसँगै विभिन्न समयमा मानिसहरुले विकास गरेका प्रविधिहरुको बारेमा सरल नेपाली भाषामा सामग्री प्रस्तुत गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्राडा दाहालले आफूले केही दशकअघि नै लेखेका प्राग् इतिहाससम्बन्धी पुस्तकमा धेरै सूचनाहरु अद्यावधिक गरेर पुस्तक तयार पारिएको बताए । अहिलेको समयमा नेपालमा प्राग् ऐतिहासिक अध्ययन निकै कम मात्रामा भएको भन्दै पुरातत्व र भूगर्भशास्त्र दुवै पढेका श्रेष्ठले यसमा राम्रो योगदान दिन सक्ने उनको बुझाइ थियो । दाहालले यो पुस्तक पुरातत्व र भूगर्भ शास्त्रका विद्यार्थी एवं अध्येताका लागि त झनै उपयोगी हुने बताए । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्वप्रमुखहरू प्राडा मदन कुमार रिमाल, प्राडा सोमप्रसाद खतिवडा, सहप्राडा सन्ध्या खनाल पराजुली, भूगर्भशास्त्र केन्द्रीय विभागका प्राडा कविलाश पौडेललगायतले पुस्तकका लेखक र पुस्तकमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, त्रिवि संस्कृति विभागका अध्यापक एवं विद्यार्थी र काठमाडौं महानगरपालिकाका २०८०र८१ का सम्पदाका लागि युवा र बालबालिका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै आयोजक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालले केन्द्र पछिल्लो समय नेपाली इतिहास र पुरातत्वको अध्ययन अनुसन्धानमा सक्रिय रहेको भन्दै यस्ता कृतिहरुको प्रकाशनमा संस्थाले विशेष प्राथमिकता दिने बताए । अध्ययन केन्द्रले जागरुक युवाहरुलाई समेटेर नयाँ ढंगले अनुसन्धान गर्दै अघि बढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप