‘महाभोज’ हेरेपछि सेलिब्रेटीहरूले के भने ?

काठमाडौँ । शुक्रबारबाट प्रदर्शन भएको नेपाली चलचित्र ‘महाभोज’ विभिन्न सेलिब्रेटीहरूले पनि हेरेका छन् । सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै उनीहरुले चलचित्रको प्रशंसा गरेका छन् ।
सोमबार साँझ ’महाभोज’ हेर्न कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाज शास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो । चलचित्र हेरेपछि उनीहरूले ’महाभोज’ ले उठाएका विषयवस्तु र यसको प्रस्तुति उचित भएको बताए ।
साहित्यकार अमर न्यौपानेले चलचित्रले कानुनी राज्यको चुनौती माथि प्रश्न उठाएको बताए । ’यत्रो सङ्घर्ष गरेर हामीले संविधान, कानुन बनाएका छौँ । हामी अहिले २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौँ, तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् । यत्रो ठुलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो चलचित्रले उठाउँछ ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्रले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए ।'जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर चलचित्रमा राम्रोसँग देखाइएको छ,'उनले भने ।
कलाकार सरोज खनालले चलचित्रको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, 'गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ’महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो चलचित्रले झकझक्याउँछ ।'
कलाकार जितु नेपालले चलचित्रको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । 'चलचित्रले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ । यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । र, यो चलचित्र अत्यन्त रमाइलो पनि छ,' उनले भने । कलाकार परीक्षा लिम्बुले चलचित्रले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको बताइन् ।
'मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो चलचित्रले देखाएको छ,' उनले प्रतिक्रिया दिइन् । निर्देशक नवीन चौहानले ’महाभोज’का निर्देशक दिनेश राउतको कार्यको उच्च मूल्याङ्कन गरे । उनले भने, 'महाभोजलाई मैले निर्देशक दिनेश राउतको आजसम्मकै उत्कृष्ट चलचित्रको रूपमा पाएँ ।'
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको 'महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया
-
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
-
बारामा २२ किलो गाँजासहित एक जना पक्राउ
-
उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला