बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

महिला भलिबलमा सुदूरपश्चिमबाट उदाउँदै गरेका संगीता र सरिता

बुधबार, ०४ असार २०८२, १५ : ००
बुधबार, ०४ असार २०८२

सारांश

  • सुदूरपश्चिमका दुई महिला खेलाडी, सरिता चन्द र संगीता विष्टको भलिबल यात्रा र सफलताको कथा प्रस्तुत गरिएको छ।
  • सरिताले सुदूरपश्चिम महिला भलिबल टिमलाई स्वर्ण पदक दिलाइन् भने संगीताले घाँस-दाउराको दैनिकीबाट भलिबल कोर्टसम्मको यात्रा तय गरिन्।
  • खेलाडीहरूले आर्थिक अभाव र संघर्षका बाबजुद पनि भलिबललाई आफ्नो जीवन र नशाको रूपमा लिएका छन् र राष्ट्रिय टिममा पुग्ने लक्ष्य राखेका छन्।

धनगढी  । सुदूरपश्चिमका पहाडका जिल्ला विकट छन् । अहिले पनि यी पहाडका कुनाकन्दरामा घाँस–दाउरासँगै भविष्यको भारी बोकेर हिँड्ने धेरै छोरीहरू छन् । तीमध्ये धेरैजसोको सपना सामाजिक परम्परा र अभावको भुमरीमा हराउँछ । 

तर, केही सपनाहरूले भने पसिना साहसको बलमा आकाश छुने हिम्मत गर्छन् । यस्तै दुई साहसी सपनाहरू हुन्, सरिता चन्द र संगीता विष्ट । एकले सुदूरपश्चिमको भलिबल छात्रा टिमको इतिहासमा पहिलो पटक स्वर्णको चमक छरेकी छन् भने अर्कीले घाँस–दाउराको दैनिकीबाट भलिबल कोर्टसम्मको अविश्वसनीय यात्रा तय गरेकी छन् । 

१५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा दर्शकको उत्साह थियो, तर त्यो उत्साहभन्दा बढी सुदूरपश्चिमको टिममा एउटा फरक किसिमको बेचैनी र आशा थियो । एकातिर लुम्बिनी प्रदेशको बलियो र अनुभवी टोली, अर्कोतिर पहिलो पटक फाइनलको स्वाद चाख्दै गरेको सुदूरपश्चिम । धेरैका लागि नतिजा अनुमान गर्न गाह्रो थिएन । तर, कोर्टभित्र सरिता चन्द र उनको टोलीको आत्मविश्वासले अर्कै इतिहास रच्ने संकेत दिइरहेको थियो । 

प्रत्येक स्पाइकमा उनीहरूको वर्षौँको मेहनत देखिन्थ्यो, हरेक ब्लकमा उनीहरूको जितको भोक झल्किन्थ्यो । सरिता ओपन स्पाइकरको भूमिकामा थिइन् । जब अन्तिम तीन अंक सुदूरपश्चिमको पोल्टामा पर्‍यो । त्यो क्षण सुदूरपश्चिमको भलिबलले दशकौँदेखि देखेको एउटा अधुरो सपना पूरा गर्ने थियो । 

त्यो क्षण सम्झिँदा सरिताको आवाजमा अहिले पनि उस्तै उत्साह र गर्व झल्किन्छ । भन्छिन्, ‘त्यो ऐतिहासिक जित थियो । सुदूरपश्चिम छात्रा टिमको नाम अहिलेसम्मकै पहिलो गोल्ड मेडल । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ । त्यो जितले मलाई मात्र होइन, सुदूरपश्चिमका सम्पूर्ण भलिबल प्रेमीहरूलाई एउटा नयाँ आशा र पहिचान दियो । आज धेरैले मलाई चिन्नुहुन्छ, म हृदयदेखि नै खुशी छु ।’ 

सरिताका अनुसार उनीहरूलाई सुरुदेखि नै जित्ने आत्मविश्वास थियो । गुरुहरूले उनीहरूको कानमा मन्त्र फुकेका थिए, ‘यो साल टिम बलियो छ, जितिन्छ ।’ त्यही आत्मविश्वासले उनीहरूलाई सेमिफाइनलमा गण्डकी र फाइनलमा लुम्बिनीजस्तो बलियो टोलीलाई हराउन ऊर्जा दियो । त्यो जितले ६ वर्षदेखि भलिबलमा रगत–पसिना बगाएकी सरिताको जीवनलाई एउटा नयाँ उचाइ र अर्थ दिएको थियो ।

बैतडीको मेलौलीस्थित एउटा दुर्गम गाउँ । संगीता विष्टका लागि भलिबल शब्द नै अपरिचित थियो । उनको संसार घरको काम, घाँस–दाउरा, गाई–भैंसी र गोठालोमा सीमित थियो । 

तर, उनको जीवनले त्यतिवेला नयाँ मोड लियो, जब काठमाडौँबाट घर आएका दाइले उनको अग्लो कद देखेर भने, ‘संगीता, तेरो हाइट राम्रो छ, तैँले गेम खेल्नुपर्छ ।’ संगीताले आश्चर्य मान्दै सोधिन्, ‘दाइ, गेम रे? कस्तो गेम ? के हो गेम भनेको ?’ उनलाई केही थाहा थिएन । 

दाइले उनलाई खेलाडीका तस्बिर देखाए । भलिबल खेल्दा देश–विदेश घुम्न पाइने, नाम र सम्मान कमाइने सपनाको रङ भरिदिए । त्यही सपनाले संगीतालाई तान्यो । दाइले व्यक्तिगत बल किनेर ल्याइदिए र एक वर्षसम्म आफैँले सिकाए । सुरुमा त बल उठाउँदा अगाडिको साटो पछाडि जान्थ्यो । उनी भन्छिन्, ‘दाइले भन्नुहुन्थ्यो, त्यसरी होइन, अगाडि उठाउनुपर्छ ।’ 

दाइको निरन्तर हौसला र आफ्नो लगनले उनले हार मानिनन् । कक्षा ८ पछि ललितपुरको जावलाखेलमा केही महिना प्रशिक्षण लिइन् र पछि महेन्द्रनगरमा प्रशिक्षक जगदीश भट्ट (बटला गुरु) को निगरानीमा आफ्नो खेललाई तिखार्दै लगिन् ।

उनी भावुक हुँदै भन्छिन्, ‘सुरुमा त म घरको सबै काम गर्थेँ । दाइले खेलतिर नलगाएको भए सायद मेरो जीवन अर्कै हुन्थ्यो । उहाँकै कारण आज म यो ठाउँमा छु ।’ समाजले सुरुमा दाइलाई ‘किन छोरीलाई यसरी खेलमा लगाउँछ ? बिगार्न खोजेको हो?’ भनेर अनेकौँ कुरा काट्यो, तर आज तिनै मानिसहरू ‘हेर त, त्यही केटी आज कहाँ पुगी’ भनेर गर्व गर्छन् । उनको यात्राले समाजको सोचलाई पनि परिवर्तन गरिदिएको छ ।

सरिता र संगीता, दुवै बैतडीका चेली । उनीहरूको भेट केही वर्षअघि खेलकै सिलसिलामा भए पनि धनगढी आएपछि उनीहरूको मित्रता झनै गाढा भयो । अहिले उनीहरू एउटै कोठामा बस्छन् । एउटै सपना बाँड्छन् र एकअर्काको दुःखसुखमा बलियो खम्बा बनेर उभिन्छन् । उनीहरू हाँस्दै भन्छन्, ‘हामी एकअर्काको मुटु नै हौं ।’ 

जब अभ्यासपछि शरीर गलेर आउँछ, एकअर्कालाई हौसला दिन्छन् । जब घरको यादले सताउँछ, एकअर्कालाई सम्झाउँछन् । घरबाट पठाएको चामलको पिठोको रोटी पकाएर खाँदा उनीहरू घरकै आँगनमा पुगेको महसुस गर्छन् । यो मित्रताले उनीहरूलाई सहरको एक्लोपन र संघर्षमा ठुलो सहारा दिएको छ ।

खेलका लागि परिवार, विशेषगरी दाइहरूको पूर्ण साथ छ । उनीहरूले आर्थिक अभाव महसुस हुन दिएका छैनन्, तर सधैँ घरबाट पैसा माग्नुपर्दा उनीहरूलाई आत्मग्लानि हुन्छ । संगीता भन्छिन्, ‘कहिलेकाहीँ घरबेटी भाडा माग्न ढोकामा ढकढक गर्न आउँदा नरमाइलो लाग्छ । मनमनै सोच्छु, कति घरमा भन्नु ! आफैँ कमाउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ ।’

राज्यबाट खेलाडीका लागि नियमित पारिश्रमिक वा डाइटको उचित व्यवस्था नहुँदा उनीहरू जस्ता धेरै खेलाडीहरू संघर्ष गर्न बाध्य छन् । 

यही कारणले उनीहरूका कयौँ साथीहरूले आर्थिक अवस्था कमजोर भएकै कारण रहर हुँदाहुँदै पनि खेल छोड्न बाध्य भए । सरिता भन्छिन्, ‘धेरै साथीहरूले घरको आर्थिक अवस्थाले गर्दा र व्यवस्थापन गर्न नसकेर खेल छोड्नुभयो ।’

 उनीहरू चना, गेडागुडी र सीमित स्रोतसाधनमा आफ्नो डाइट व्यवस्थापन गर्छन् । खेलाडीका लागि चाहिने पौष्टिक आहार उनीहरूका लागि विलासिता हो । यो उनीहरूको मात्र होइन, नेपालका अधिकांश खेलाडीको साझा व्यथा हो ।

यति धेरै संघर्षका बाबजुद पनि सरिता र संगीताका लागि भलिबल एउटा खेल मात्र होइन, यो उनीहरूको जीवन हो, एउटा नशा हो । सरिता भन्छिन्, ‘भलिबल त मेरो जीवन साथीजस्तै लाग्छ ।’ 

संगीता थप्छिन्, ‘भलिबल नछोई सुत्न पनि मन लाग्दैन, खाना मन पनि लाग्दैन, यस्तो नशा बसिसक्यो ।’ शनिबार बिदाको दिन पनि उनीहरू कोठामा बस्न सक्दैनन्, कभर्ड हलतिरै पुग्छन् । उनीहरूको यो लगाव र समर्पण नै उनीहरूको सफलताको सबैभन्दा ठुलो रहस्य हो ।

उनीहरूलाई थाहा छ, राष्ट्रिय टिमसम्मको यात्रा अझै कठिन छ । मानिसहरूले उनीहरूको उचाइ कम भएको टिप्पणी गर्छन्, तर उनीहरू राष्ट्रिय खेलाडी निरुता दिदीजस्ता खेलाडीबाट प्रेरणा लिन्छन् । उनीहरू दृढताका साथ भन्छन्, ‘हाइटले मात्र हुँदैन, मनबाट इच्छाशक्ति र मेहनत हुनुपर्छ । हामी पनि एकदिन राष्ट्रिय टिमको जर्सी लगाएर देशको नाम राख्न चाहन्छौँ ।’ 

बैतडीको शिवनाथकी सरिता र मेलौलीकी संगीता यी दुवै सुदूरपश्चिमबाट नेपाली महिला भलिबलमा उदाउँदो ताराको रूपमा चिनिन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप