आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कात्तिकमा उपनिर्वाचनको प्रस्ताव, रास्वपामा मुकुल नै महामन्त्री !

शुक्रबार, ०६ असार २०८२, २२ : ००
शुक्रबार, ०६ असार २०८२

आज मिति २०८२ साल असार महिनाको ६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. उपनिर्वाचन प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर परामर्श गरेका हुन् । आयोग पदाधिकारीहरूले आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सुझाव दिँदै राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचनबारे समेत छलफल गरेका हुन् । सो क्रममा आयोगले कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव गरेको छ ।

२. मुलुक नै महामन्त्री

निर्वाचन आयोगले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।

निर्वाचन आयोगले अभिलेखमा महामन्त्री डा मुकुल ढकाल नै रहेको बताएपछि त्यसमा रास्वपाले आपत्ति जनाएको हो ।

३. उद्धारको तयारी

इरान र इजरायलबिच युद्ध चर्किएसँगै ती मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि नेपालले तयारी थालेको छ । परराष्ट्र मन्त्रालयले स्थितिको गम्भीरतापूर्वक निगरानी गरिरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन उद्धारका लागि रणनीतिक योजनाहरूमा काम गरिरहेको प्रस्ट पारेको छ ।

४. बस्नेत दोषी ठहर

नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेसी तोक्ने आदेश गरेको छ ।

 

५. ओभरपास सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँस्थित चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को ओभरपासको उद्घाटन गरेका छन् । १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण गरेको ग्वार्को ओभरपास नेपालकै पहिलो हो ।

 

६. राजमार्गमा सावधानी

अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

७. तीन दलको बैठक

प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको हो ।

८. सात बुँदे सवाल

कांग्रेस र एमालेबिच गत वर्ष भएको सात बुँदे सहमतिका कतिपय बुँदा अहिलेसम्म कार्यान्वयनमा आउन सकेका छैनन् ।

०८१ असार १७ गते प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले करिब साढे तीन वर्षका लागि सात बुँदे सहमति गरेका थिए । सोही सहमतिमा टेकेर केपी शर्मा ओलीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।

९. बोर्ड

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्टक ब्रोकर नियमावली, २०६४’ को छैटौँ संशोधन गर्न लागेको छ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्कट ब्रोकर)को पुँजी बढाउन समय थप गर्नेगरी बोर्डले नियामवाली संशोधन गर्ने लागेको हो ।

१०. रोका पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ परेकी छन् । प्रहरीले उनलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप