बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय योग दिवस

योग : मानव जातिको एकता र समृद्धिको सूत्र

शनिबार, ०७ असार २०८२, ११ : ५३
शनिबार, ०७ असार २०८२

सारांश

  • संयुक्त राष्ट्र सङ्घमा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्तावलाई १७७ देशको समर्थन प्राप्त भयो, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका महत्त्वपूर्ण थियो।
  • योगको महत्व र यसको बढ्दो लोकप्रियताको चर्चा गर्दै, शारीरिक अभ्यासभन्दा बाहिर यसको गहिरो अन्तर्निहित पक्षलाई बुझ्नुपर्ने कुरामा जोड दिइएको छ।
  • लेखमा नेपालले योग र ध्यानको क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउन र एसियन युनियनको अवधारणालाई अगाडि बढाउनुपर्ने कुरालाई जोड दिइएको छ।

संयुक्त राष्ट्र सङ्घको इतिहासमै अत्यधिक सह–प्रस्तावक राष्ट्रहरूको समर्थन प्राप्त गर्ने प्रस्तावहरू मध्ये एक अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्ने प्रस्ताव पर्दछ । सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घ महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्ने प्रस्तावलाई १७७ देशले समर्थन गरेका थिए । भारतका योग र ध्यान प्रेमी प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभामा प्रस्तुत गरेका थिए जसले ऐतिहासिक समर्थन प्राप्त गर्‍यो । 

आज विश्व भरी करोडौँ मानिसहरूले योग अभ्यास गर्दै आइरहेका छन् । भारतीय उपमहादीपबाट प्रादुर्भाव भएको यो आत्म विज्ञानको धरोहर विज्ञान, चिकित्सा, मनोविज्ञान र अध्यात्म बिचको सेतुका रूपमा स्थापित भई अन्तर्राष्ट्रिय सम्पदा बनिसकेको छ । २१ जुनमा सूर्य उत्तरायणको उच्च स्थितिमा कर्कट रेखाको सिधा माथि पुग्छ र दिन सबैभन्दा लामो हुन्छ । यस वर्ष “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने आदर्श वाक्यका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रम छ ।  

वेद, उपनिषद्, पतञ्जलि योगसूत्र, हठयोग समेत गरेर योगले गहिरो आध्यात्मिक रुपान्तरण गर्ने विज्ञानको रूपमा हाम्रो संस्कृतिमा गहन भूमिका खेलेको छ । योगको अर्थ विधि, क्रिया र अभ्यासका माध्यमद्वारा ूयोगश्चित्तवृत्तिनिरोधः  अर्थात् चित्तको वृत्ति निरोधको अवस्थामा पुग्नु हो । आत्मोपलब्धी प्राप्त हुने यो सत्यको सटिक उद्घाटन पतञ्जलिले योग सूत्रमा सुरु मै गरेका छन् । आठ भागमा विभक्त गरी साधनालाई एक क्रमिक प्रयासको वैज्ञानिक दृष्टि पतञ्जलि दिएको पाइन्छ । ओशोको शब्दमा योग आत्माज्ञानको विज्ञान हो, जसले साधनका रूपमा रहेको शरीर, मन र प्राणको तल्लो तह पार गरेर मौन र शून्यको परम सिद्धिसम्म पुर्‍याउँछ । योगले आफ्नो प्रत्येक कर्मका कुशल हुन सिकाउँछ – योग: कर्मसु कौशलम् । 

आज विश्वमा योगा भनेर साधारणतः शारीरिक अभ्यासलाई चिनिने भएको छ । केही योगासन र प्रणायामका अभ्यास गरेपछि साधारणतयाः योग पूरा भयो भन्ने जस्तो बुझाई व्यापक छ । यस कारणले योगको स्वीकार्यता र महत्वलाई अझ राम्ररी अघि बढाउन यसको अन्तर्य पक्षलाई बुझाउने जिम्मेवारी यसको गहन विज्ञान बुझेका योग प्रशिक्षक र योग अभ्यासीहरुको हो । 

पश्चिमी जीवन दर्शन र शैलीको अधिक प्रभावबाट चलिरहेको आजको विश्व पनि योगको व्यापारीकणबाट बचेको छैन ।

स्वामी विवेकानन्दले हिन्दु धर्मको धनी वाङमयको व्याख्या गर्दै योग र वेदान्तको प्रचार पहिलो पटक पश्चिमी जगतमा गरे । वेदान्तका महान् गुरु स्वामी रामतीर्थले अमेरिकामा वेदान्तको व्यवहारिक पक्षको जीवनशैलीको प्रचार गरे भने परमहंस योगानन्दले अमेरिकामा आश्रम खोलेर विश्व विख्यात पुस्तक “योगीकथामृत” लेखी योग र पूर्वीय अध्यात्मका करोडौँ व्यक्तिलाई योगसाधनामा प्रेरित गरे । कृष्णमूर्तिले स्वयम् कै समझ र प्रयासद्वारा कसैको सहयता नलिई उच्च आध्यात्मिक स्थिति प्राप्तिको कुरा गरे । ओशो यस दिशामा एक प्रकाश स्तम्भ हुन् । उनले साधनाका सबै आयामहरूको समग्र व्याख्या एक नयाँ आध्यात्मिक संस्कृति र एक नयाँ मनुष्यको मार्गचित्र छोडेर गए । ओशोको क्रान्तिकारी विचारको प्रचारमा नेपालले एक अग्रणी भूमिका खेलिरहेको छ । स्वामी रामदेव, सद्गुरु र श्रीश्री रबिशंकरले योग र ध्यानलाई घरघरमा पुर्‍याउन सकारात्मक भूमिका खेल्दै आइरहेका छन् ।   

Meditation Tapoban3

पश्चिमी जीवन दर्शन र शैलीको अधिक प्रभावबाट चलिरहेको आजको विश्व पनि योगको व्यापारीकणबाट बचेको छैन । सन् २०२३ मा योगको विश्व उद्योग १०७ अर्ब अमेरिकी डलरको थियो । सन् २०३० मा २०० अर्ब अमेरिकी डलर कट्ने अनुमान गरिएको छ । योग र ध्यानको सबैभन्दा ठुलो बजार संयुक्त राज्य अमेरिका हो भने एसिया र युरोप यो तीव्र गतिले फैलिरहेको छ । योग स्टुडियो, योग कक्षा, योग ट्रेनिङ, योगा म्याट, मोबाइल एप र कर्पोरेट कार्यक्रमहरू, योग प्याकेज र डिजिटल माध्यमबाट यसको प्रचारप्रसारले यसको उद्योग बढेको हो । किशोर, युवा, वयस्क, स्त्रीहरू र समाजका सबै तप्कामा रहेको सबैमा यसप्रति विश्वभरि उत्सुकता आकर्षण बढिरहेको छ ।  

२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणा र पवित्र प्रयासले विश्व योग दिवस स्थापित भयो । तर योग शारीरिक व्यायामको रूपमा मात्र प्रस्तुत भएको पृष्ठभूमिमा यसको मुख्य तत्त्व ध्यानलाई प्रतिष्ठित गर्न ओशो तपोवनले ठुलो भूमिका खेली विगत १० वर्षको हाम्रो अथक प्रयासले गत वर्ष २१ डिसेम्बरले अन्तर्राष्ट्रिय ध्यान दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घमा मान्यता प्राप्त गर्‍यो । यो नेपालको ठुलो विजय हो । यसको श्रेय नेपालले लिनु पर्छ । जसरी योग दिवसलाई भारतले नरम कूटनीतिको रूपमा प्रयोग गरी भारतको प्रतिष्ठा बढेको छ त्यसै गरी विश्व ध्यान दिवसलाई नेपालले विश्वभरि प्रचार गर्न सके नेपालको पहिचान व्यापक हुने थियो, प्रतिष्ठा बढ्ने थियो र एक राम्रो गन्तव्यको रूपमा पर्यटन उद्योग नेपालमा फस्टाउने थियो । 

विश्व स्वास्थ्य सङ्घले सन्तुलित जीवनशैली र मानसिक रोग न्यूनीकरणका लागि योगासन र ध्यानको अभ्यासलाई  सहायक उपचार प्रणालीको रूपमा मान्यता दिएको छ ।

ध्यान र योगको सम्मिलित प्रयासले एक स्वस्थ र सुखी मनुष्यताको जन्म हुनसक्छ । यो दिशामा नेपालले पनि आफ्नो भूमिका खेल्नुपर्छ । हिमाली क्षेत्रबाट यो प्रादुर्भाव भएकोले सही राजनैतिक समझदारी बनाउन सकियो भने नेपाल योग र ध्यानको एक अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्छ । विगत ३५ वर्षदेखि लगभग ८० देशका व्यक्तिहरू योग र ध्यान सिक्न तपोवन आइरहेको छन् नेपाललाई आफ्नो आध्यात्मिक गन्तव्य बनाइरहेका छन् । इस्लाम इसाई र यहुदी धर्मको पृष्ठभूमि भएका त्यतिकै निष्ठाका साथ योग र ध्यान गरेको कुनै दिन पनि भेट्न सकिन्छ ।

Meditation Tapoban1

विश्व स्वास्थ्य सङ्घले सन्तुलित जीवनशैली र मानसिक रोग न्यूनीकरणका लागि योगासन र ध्यानको अभ्यासलाई  सहायक उपचार प्रणालीको रूपमा मान्यता दिएको छ । समग्र आरोग्य विज्ञानलाई बुझेका आधुनिक चिकित्सकहरूले योग र ध्यानलाई आफ्नो प्रिस्केप्सनमा स्थान दिन थालेका छन् । त्यसैले स्वास्थ्य विज्ञानको रूपमा यसले प्राज्ञिक तथा शैक्षिक स्तरमा मान्यता पाउन थालेको छ । सन् २०२१ मा नसर्ने रोग जस्तै मधुमेह, मुटुरोग, उच्च रक्तचाप जस्ता भित्री असन्तुलनबाट पैदा हुने रोगबाट मर्ने मानिसहरूको सङ्ख्या जम्मा मर्ने मानिसहरूको सङ्ख्याको ७१ प्रतिशत थियो । योग र ध्यानको अभ्यासबाट यस्ता यो हानी एक तिहाइमा झर्न सक्छ भन्ने विश्व स्वास्थ्य सङ्घको निष्कर्ष छ । स्वस्थ जीवनशैली व्यवस्थापन गर्न नसकेर ठुलो सङ्ख्यामा आज मानिसहरू अनेकौँ शारीरिक, मानसिक, भावनात्मक असक्षमताले गाँजिएका छन् ।    

तपोवनले योग, ध्यान र वैकल्पिक चिकित्सा पद्धतिको संरक्षणको लागि भारतमा स्थापित भएको आयुष मन्त्रालय जस्तै नेपालमा पनि एक स्वतन्त्र मन्त्रालय स्थापनाको माग वर्षौँदेखि लगातार उठाउँदै आइरहेको छ । यस लेखद्वारा पनि म नेपालका सबै विद्वत वर्ग र  राजनैतिक व्यक्तित्वहरूलाई विश्वमा नेपाललाई योग, ध्यान, आयुर्वेद र प्राकृतिक चिकित्साको गन्तव्यको रूपमा स्थापित गर्न प्रयासलाई सफल बनाउन एक स्वतन्त्र मन्त्रालय स्थापनाको कार्य यथाशीघ्र सुरु गर्न पुनः पुनः आग्रह गर्न चाहन्छु । 

विचारक मर्छ तर विचार कहिल्यै मर्दैन । युरोपियन युनियनका प्रथम प्रस्तावक चर्चिल त मरेर गए तर युरोपियन युनियन आज जीवित छ ।

योग भनेको जोडिनु हो । अब यो युगमा जाति, धर्म राष्ट्रका नाममा हृदयमा वैमन्स्य, घृणा र हिंसा पालेर मनुष्य बाच्नै सक्दैन । विज्ञान, प्रविधि र सोसल मिडियाले आज भावनात्मक रूपमा विश्वलाई एक परिवार बनाइसकेको छ । अब हामी विभाजित भई एक अर्काप्रति द्वेष पालि बाच्न सक्दैनौँ । अहिले विश्वमा युद्धको भयावह र दर्दनाक स्थिति छ । युरोपियन सङ्घ स्थापना भएपछि आपसमा सधैँ लडिरहेको देशहरू बिच युरोपमा युद्ध भएको छैन । रसिया र युक्रेन युरोपियनका सदस्य भएका भए आजको यो भयावह युद्ध हुने स्थिति नै बन्ने थिएन । एसियन युनियन बनेको भए आज इरान र इजरायलको मतभेद र समस्या समाधान गर्न एसियन युनियनको संसद्ले त्यसको ठुलो भूमिका खेल्न सक्थ्यो । त्यसैले मैले विगत अनेक वर्षदेखि एसियन युनियनको गठन गर्नुपर्छ भन्ने प्रस्ताव विश्व मञ्चमा हर सम्भव ठाउँमा यो प्रस्ताव उठाउँदै आइरहेको छु ।

Meditation Tapoban5 Russia

युरोपियन युनियन कै मोडेलमा एसियामा भएका देशहरूको एक एसियन युनियन स्थापना हुन सके धेरै समस्याहरू समाधान हुने थिए र विकासको एक नयाँ अध्याय सुरु हुने थियो । जसरी साझा इसाई धर्मका कारणले युरोपमा युरोपियन युनियन बनाउन जर्मनी, फ्रान्स जस्ता राष्ट्रहरूलाई सजिलो भयो,  त्यसै गरी सुरुमा एसियाका हिन्दु र बौद्ध बाहुल्य भएका राष्ट्रहरू – भारत, नेपाल, थाइल्याण्ड, भियतनाम, चीन, मंगोलिया आदि राष्ट्रहरू मिली एक साझा एसियन युनियनको प्रारम्भ गर्न सक्छन् । त्यसपछि एसियाका अन्य अन्य धर्म बाहुल्य भएका राष्ट्रहरू पनि सम्मिलित भई हुन सक्छन् । त्यसले एसियाको संस्कृति, समृद्धि, प्रगति र शान्तिमा ठुलो भूमिका खेल्न सक्छ । सबै भन्दा बढी जनसङ्ख्या भएको यो महादेशमा एसियन युनियन बन्न सके विश्व कै एक अनुपम उपलब्धि हुनसक्छ । 

विचारक मर्छ तर विचार कहिल्यै मर्दैन । युरोपियन युनियनका प्रथम प्रस्तावक चर्चिल त मरेर गए तर युरोपियन युनियन आज जीवित छ । मैले एसियन युनियनको कुरा गर्दा यसको गठन कठिन लाग्न सक्छ । मनुष्य मर्छ तर यो शुभ विचार कहिल्यै मर्दैन । । म पनि अवश्यै मर्छु तर एसियन युनियनको मेरो यो पवित्र परिकल्पना एक दिन यथार्थ बनेर आउँछ भन्नेमा म पूर्ण विश्वस्त छु । त्यसैले आज हाम्रा बुद्धिजीवी र  राजनेताहरूले यो कुरा समय मै बुझेर यसमा कदम बढाए यसको श्रेय नेपालको पोल्टामा आउने थियो । नेपाल यस दिशामा अघि बढे बसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः र सर्वे सन्तु निरामयाः जस्ता उदात्त धारणाका हाम्रा ऋषिहरूको परिकल्पना सकार भएर आउने थियो ।      

यो विषयमा खुला मनले मनन गर्न, यसबाट एसियाको शान्ति र समृद्धिमा हुने ठुलो योगदानलाई बुझिदिन र समर्थन गरिदिन सबैलाई म पुनः पुनः विनम्र आग्रह गर्दछु ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी आनन्द अरुण
स्वामी आनन्द अरुण
लेखकबाट थप