‘चुली उपन्यासमा जीवनलाई हरेक कोणबाट हेर्न सकिन्छ’
सारांश
- लेखिका अनिता कोइरालाको उपन्यास 'उज्यालो औँसी' प्रकाशित भएको छ, जसमा उनले आफ्नो लेखन अनुभव र साहित्यिक विचारहरू व्यक्त गरेकी छिन्।
- कोइरालाले पछिल्लो समयमा पढेका पुस्तकहरू र समकालीन नेपाली साहित्यको अवस्थाबारे चर्चा गर्दै, साहित्यमा बहस र नैतिकताको महत्त्व दर्शाएकी छन्।
- उनले कथा र निबन्धको भिन्नता र महत्त्वबारे प्रकाश पार्दै, आफ्नो उपन्यास 'उज्यालो औँसी' मा रहेको विषयवस्तु र जीवन विज्ञानबारे जानकारी दिएकी छन्।
अनिता कोइरालाको ‘उज्यालो औँसी’ (उपन्यास, २०८१) प्रकाशित छ । पछिल्लो समयकी सक्रिय स्तम्भकार तथा समीक्षक कोइरालालाई हामीले यसपालि रातोपाटीको स्तम्भ ‘नौ प्रश्न’मा निम्त्याएका छौँ ।
१) हिजोआज तपाईं केमा व्यस्त हुनुहुन्छ, अन्तिमपटक कुन कृति पढ्नुभयो ?
हरेक दिन व्यस्त नै हुन्छु । सर्वप्रथम त म एक गृहिणी हुँ । जिम्मेवारी छ छोरीहरूको, सम्पूर्ण घर व्यवस्थापनको । जिम्मेवारी पूरा गरेर बचेको समयमा अध्ययन गर्छु । विभिन्न विधाका पुस्तक पढ्छु । पढेका प्रायः पुस्तकको पाठकीय प्रतिक्रिया पनि लेख्छु । कहिलेकाहीँ कुनै अन्तक्र्रियात्मक कार्यक्रममा सहभागी हुन्छु । कुनै किताबका बारेमा वक्ताका रूपमा बोल्न पनि निस्किन्छु । आफ्नो नियमित लेखन जारी नै छ, नयाँ कृतिको तयारीमा पनि छु ।
प्रायः म एकचोटिमा दुई–तीनवटा पुस्तक सँगसँगै पढ्छु । पछिल्लोपटक पढेका कृतिहरू समय र विषय अनुसार फरक–फरक छन् । नयाँ र पुराना कृति सँगसँगै पढ्दै छु । गोविन्दराज भट्टराईको नवीनतम कृति नयाँ भुटानको छाया चित्र, बीपी कोइरालाको नरेन्द्रदाइ, लैनसिङ बाङ्देलको मुलुक बाहिर भर्खरै पढेर सकेँ । सलमान रुश्दीको ‘चाकू’ पढ्दै छु ।
म त भर्खर साहित्यमा छिरेको मान्छे, धेरै कुरा बुझेकी पनि छैन । धेरै ज्ञान पनि छैन तर मलाई यस्तो लाग्छ साहित्य बजार हुनुहुँदैन, व्यापार त जहाँ पनि हुन्छ । नैतिकतासहितको व्यापार नराम्रो होइन । साहित्य सरस्वतीको मन्दिरभित्र सम्पन्न गरिने आराधना हो । साहित्यमा बहस चाहिँ हुनैपर्छ ।
भट्टराई सरको कृतिमा भुटानको साँच्चै नयाँ चित्र छ । आफ्नो जन्मस्थानबाट उखेलिएर, पछारिएर, लघारिएर, अपहेलित भएर विभिन्न भुक्तमान खेपेर अमेरिका पुगेका नेपालीभाषी नयाँ जीवनसँग साक्षात्कार हुन्छन् । नेपालीभाषीको कथा, व्यथा, संघर्ष र सफलताको मिठो चौतारीमा बस्दै अमेरिकाका नयाँ नयाँ ठाउँहरूमा घुम्न सकिन्छ । भाषिक, सांस्कृतिक र जातीय अस्तित्व रक्षाका लागि संघर्षशील हाम्रा जातिहरूको क्रियाशीलता देख्दा दङ्ग लाग्छ । संस्कृति र सभ्यता कति मूल्यवान् हुने रहेछ भन्ने कुरा यो कृतिका माध्यमले मजाले अध्ययन गर्न सकिन्छ ।
नरेन्द्रदाइ पढ्दा त संवेदनाको भुमरीले मलाई कता–कता उडायो उडायो ! बीपीको लेखनी बेजोड लाग्यो । सुन्दर कलाले सुशोभित साहित्य निकै हृदयस्पर्शी हुनेरहेछ । म त मोहित नै भएँ, सोचेँ अहो गौरीजस्तो पात्र अब भेटिएलान् ?
नेपालीले मुगलान पस्नुपर्ने बाध्यता, सामाजिक पारिवारिक अवस्थादेखि मुगलानमा भोगेका भुक्तमानहरूको दारुण अवस्थालाई बेजोड किसिमले चित्रण गरेका छन् बाङ्देलले मुलुक बाहिरमा । तत्कालीन समाज, समय र सम्बन्धको दशी–प्रमाण छ । सुन्दर शैली, सरल अनि सुललीत भाषामा लेखिएको यो कृति बडो शक्तिशाली लाग्यो । दृश्यात्मक शब्द लहरीमा मैले त्यहाँका पात्रसँगसँगै मुगलानको दुःख र पीडालाई आत्मसात् गरेँ । कति जीवन्त साहित्य । त्यस्तै अहिले पढिरहेको पुस्तक सलमान रुस्दीको हिन्दीमा अनुवाद गरिएको चाकू हो । अहो ! आफूमाथि त्यसरी दिनदहाडै चाकू प्रहार हुँदाको जीवन्त अनुभव र कलात्मक प्रस्तुति पढ्दै गर्दा म विस्मित भएकी छु ।
२) पछिल्लो समयको साहित्यिक बजार र बहस कस्तो छ ? यसबारे यहाँको धारणा के छ ?
म त भर्खर साहित्यमा छिरेको मान्छे, धेरै कुरा बुझेकी पनि छैन । धेरै ज्ञान पनि छैन तर मलाई यस्तो लाग्छ साहित्य बजार हुनुहुँदैन, व्यापार त जहाँ पनि हुन्छ । नैतिकतासहितको व्यापार नराम्रो होइन । साहित्य सरस्वतीको मन्दिरभित्र सम्पन्न गरिने आराधना हो । साहित्यमा बहस चाहिँ हुनैपर्छ ।
यस्तो लाग्छ, साहित्य त एउटा सुन्दर फूलबारी हो । जहाँ दुबो, धूपी, गुलाफ, मखमली, सयपत्रीलगायत जातजातका फूल हुन्छन् । सबैको आ–आफ्नो अस्तित्व छ, महत्त्व छ । फूल नफुल्ने बिरुवा पनि त्यहाँ हुन सक्छन्, कुनै बिरुवा झपक्क फुलेका पनि हुन्छन्, कुनै मौसम अनुसार फुल्ने हुन्छन्, कुनै बाह्रैमासै फुल्ने । कुनै फूल बास्नादार होलान् कुनै बास्नारहित । कुनै चाँडै ओइलाउलान्, कुनै दिगो भएर फुलिरहलान् । हुन् त सबै फूलबारीका सुन्दर फूलहरू हुन् जस्तो लाग्छ ।
३) केहीअघि तपाईंको पहिलो उपन्यास बजारमा आयो । कथा, नियात्रा, निबन्ध पनि लेखिरहनुभएको छ । वास्तवमा तपाईंले किन लेख्नुहुन्छ ?
सर्वप्रथम त म ध्यानस्थ हुन लेख्छु । अनावश्यक चिन्ताबाट मुक्त हुन र समयको सुन्दर बहावमा बिन्दास भएर बग्न लेख्छु । लेख्न थालेपछि म हराउँछु छुट्टै संसारमा । विचारको गतिशील यात्रामा म पात्रहरूसँग संवाद गर्छु । मैले निर्माण गरेको भूगोलमा म पूर्ण रूपमा हराउँछु । समय कटेको पत्तै पाउँदिनँ, त्यसैले म शान्त हुनलाई लेख्छु ।
४) यहाँको बुझाइमा कथा र निबन्ध के हो ? यी दुवैप्रति यहाँ किन र कसरी आकर्षित हुनुभयो ?
कथामा पात्रहरूमार्फत आफ्नो अनुभूति, घटना, भावना, भोगाइ र विचारलाई अभिव्यक्त गर्न सकिन्छ भन्ने लाग्छ । निबन्ध विचारको सुन्दर र स्वतन्त्र अभिव्यक्ति हो भन्ठान्छु ।
अर्नेस्ट हेमिङवेको ‘दी ओल्ड म्यान एन्ड दी सी’सँग मैले तुलना गरेकी छु चुलीलाई । चुली उपन्यासमा जीवनलाई हरेक कोणबाट हेर्न सकिन्छ, जीवनको यात्रालाई बुझ्न सकिन्छ, जीवनको आरोह–अवरोहलाई छिचोल्न सकिन्छ ।
हामी सबै कथा सुनेर हुर्किएका पुस्ता हौँ । कथामा हाम्रो मन टक्क अडिन्छ । ज्ञान, विज्ञान, धर्म, संस्कार, संस्कृति, नीतिशिक्षादेखि जीवनदर्शनका पक्षलाई कथाको चमत्कारी पर्दामा हेर्दा हामी रमाउँछौँ । हामीलाई कथाले तान्छ । कथामार्फत दिएका शिक्षा चिरस्थायी हुन्छन् । कथाले हामीलाई निर्देशित गरेको हुँदोरहेछ । महाभारतदेखि रामायण हुन् या बाइबलका कथा— हामी कथाको लहरमा बग्दा रहेछौँ । हामीले समाज, सम्बन्ध, राजनीति, युद्ध, मनोविज्ञानका अनेकौँ कथा छातीमा बोकेर हिँडेका हुँदा रहेछौँ । कथैकथाको भारी बोकेर म पनि हिँडेकी छु, त्यसैले कथाका पात्रमार्फत अभिव्यक्त हुन म मन पराउँछु ।
निबन्ध स्वतन्त्र विधा लाग्छ । निबन्धमा म आफैँ बोल्छु पात्रको मनोविज्ञानलाई बोक्नुपर्दैन । आफ्नै विचार, भावना र भोगाइलाई पूर्णरूपमा प्रस्तुत गर्छु । आफ्नै विचार र मनोविज्ञानमा म हराउँछु । आफ्नो मनमा उठेका विचारका तरङ्गलाई शान्त पार्न म निबन्ध लेख्छु ।
५) समकालीन नेपाली उपन्यास, कथा, निबन्ध र नियात्राको अवस्था कस्तो देख्नुभएको छ ?
बडो सुन्दर छ समय । हामी प्रविधिको युगमा छौँ, अझ भनौँ साइबर संस्कृतिले निलेको समयमा । हातहातमा छ साहित्य । विश्व साहित्यलाई प्रविधिको आँखी झ्यालबाट चिहाउन सक्ने युगमा उभिएका छौँ । अनुवादको सजिलो संसारमा छौँ । निमेषभरमा साहित्य संसारमा घुम्न सक्छौँ, अवसर नै अवसर छ ।
नवीनता र विविधतामा नेपाली साहित्य अगाडि बढ्दै छ जस्तो लाग्छ । हरेक संस्कार, संस्कृति, धर्म, क्षेत्र, वर्ग, लिङ्गका विषयमा लेखिएका छन् साहित्य । उपन्यासमा पनि पृथक् पृथक् विषयवस्तु आएका छन् । विदेशमा बसेका नेपाली जातिले डायस्पोरिक साहित्य लेख्दै छन् । युद्ध, यौवन, प्रविधि, प्रकृति र पर्यावरण आदि विषयलाई प्राथमिकतामा राख्दै साहित्य सिर्जना गर्दै छन् ।
यन्त्रले निलेको समाजदेखि मानव अस्तित्व रक्षासम्मका कथा आएका छन् । वैदेशिक रोजगारीले ध्वस्त पारेको सामाजिक संरचनाका विषय हरेक विधामा उठेका छन् । नवीन चेतनाले लेखिएका सुन्दर उपन्यास पढ्दा बडो आनन्द पनि लाग्दो रहेछ । मिथकका पात्रहरूमा साहित्य तीव्र रूपमा लेखिँदै छ । महाआख्यानमाथि विनिर्माण हुँदै छन् । भुइँमान्छेका कथा, व्यथादेखि उपल्लो दर्जाका कथा पनि मुखर भएर आएका छन् ।
कथा र निबन्ध लेखनमा निकै ऊर्जाशील समय छ । कवितामा मात्र प्रायः प्रतियोगिता हुने युगबाट हामीले लामो फड्को मारेका छौँ, यो सुखद पक्ष हो । बाह्रखरीले हरेक वर्ष कथा प्रतियोगिता गर्दै आएको छ । कथा लेख्नेका लागि यो सुन्दर अवसर हो । अरू पनि संघसंस्थाले विभिन्न कथा प्रतियोगिता गर्दै आएका छन् ।
निबन्ध प्रतियोगिता पनि हुँदै छ । कथा, कविता र निबन्धका विभिन्न विशेषाङ्क आउँछन् । यो पनि बडो आशालाग्दो पक्ष हो । निबन्धमा झन् यो वर्ष बडो ऐतिहासिक कर्म भयो । उत्तरआधुनिक विमर्शमार्फत डा. गोविन्दराज भट्टराईले जुन नवीन चेतनाका छर्नुभएको थियो, आज नेपाली साहित्यमा ती चेतना वृक्ष भएर झागिँदै छन् । गोविन्दराज भट्टराई र विजय हितानको प्रयास र साहित्यपोस्टको सहकार्यमा प्रथम नेपाली पर्या–निबन्ध प्रतियोगिता सम्पन्न भयो । देश–विदेशबाट प्रतियोगीहरूले १०८ वटा पर्या–निबन्ध पठाए । त्यसमध्ये ३२ वटा उत्कृट निबन्धहरू जम्मा गरेर, एउटा बडो उत्कृष्ट पर्या–निबन्धको सङ्ग्रह पनि प्रकाशित भएको छ । यो कत्रो उत्सव हो । विजय हितानले त भनेकै छन्, ‘अब धेरै भयो माया पिरतीका कथा, कविता र निबन्ध । अब आफ्नो वासस्थानका बारेमा गम्भीर भएर सोच्ने बेला आएको छ । अब प्रकृतिका बारेका आफ्नो कलम चलाऔँ । यसरी कथा, निबन्ध र कविता क्षेत्रमा आउन चाहने स्रष्टालाई भव्य स्वागत गर्दै छ, साहित्यको सुन्दर अवसरहरूले ।
लेखेर कति कमाउनुभयो वा गुमाउनुभयो ?
लेखेर त मैले धेरै कुरा कमाएँ । सर्वप्रथम म पनि लेख्न सक्छु भन्ने हिम्मत जागृत भयो, यो बहुत मूल्यवान् सम्पत्ति हो । आफ्नो क्षमता चिन्ने अवसर लेखेरै थाहा भयो । थाहा पाउनु त कति मूल्यवान रहेछ । अस्तित्व बोध र अस्तित्व चेतनाको पहिचान भयो । आदरणीय अग्रजहरूको स्नेह, उत्साह, उत्प्रेरणा र विश्वास अमूल्य सम्पत्ति हो । समकक्षीहरूको साथ, सहयोग, मायाप्रेम र सद्भाव तथा मेरा पाठकले मप्रति गरेको विश्वास मेरा अमूल्य सम्पत्ति हुन् ।
साहित्य त यस्तो संसार रहेछ, यहाँ सचेत र लगनशील भएर हिँड्ने हो भने शान्ति, आनन्द र सन्तुष्टिको पीयूष बडो आनन्दले पान गर्न सकिने रहेछ । मैले केही गुमाएकी छैन, पुस्तकको आँखी झ्यालबाट हेर्दै छु भिन्न भिन्न संसार । रमाउँदै छु साहित्यको शीतल चौतारीमा ।
७) फेरि यहाँको कृतिको कुरा गरौँ, पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको उपन्यास ‘उज्यालो औँसी’मा के छ त्यस्तो ?
सर्वप्रथम उज्यालो औँसी मेरो पहिलो प्रयास हो, यस कारण पनि यो विशेष छ, खास छ, पठनीय छ । विषयवस्तु पुरानै भए पनि उपन्यास लेखनको शैली पृथक् छ । स्वैरकल्पनाको उडान छ । सामाजिक संरचनाको सङ्कुचित दृष्टिबाट एउटा छोरी भ्रूणलाई जब हेरिन्छ, त्यो गलत हेराइको सिकारले उत्पन्न गरेको भ्रूणको आक्रोश छ । विभेदले नित्याएको विभत्स मानसिक द्वन्द्व छ । साथै अभिघातले निर्माण गरेको बालमनोविज्ञानका विविध आयाम छ । उज्यालो औँसी कसरी हुन्छ भन्ने सन्देश छ । अन्धकारको गर्तमा चुर्लुम्म डुब्दा पनि उज्यालोको मार्गमा कसरी हिँड्न सकिन्छ भन्ने जीवन विज्ञान छ ।
८) पछिल्लोपटक तपाईंलाई झकझकाएको कुनै एउटा सिर्जना सम्झिनुपर्दा !
यस्ता कृति त धेरै छन् । कल्याणी धर्ती, माधवी, सिद्धार्थ, तीन घुम्ती, ताप, पागल बस्ती कति हुन् कति । यसमध्ये सरुभक्तको चुली उपन्यासले मलाई निकै प्रभाव पारेको छ । अर्नेस्ट हेमिङवेको ‘दी ओल्ड म्यान एन्ड दी सी’सँग मैले तुलना गरेकी छु चुलीलाई । चुली उपन्यासमा जीवनलाई हरेक कोणबाट हेर्न सकिन्छ, जीवनको यात्रालाई बुझ्न सकिन्छ, जीवनको आरोह–अवरोहलाई छिचोल्न सकिन्छ । सरुभक्तले भनेझैँ हिमालमा जोखिमहरू हुन्छन्, जीवनमा हिमालहरू हुन्छन् । कति सुन्दर विचार । आकारमा सानो चुली मलाई सगरमाथाको टुप्पोझैँ लाग्छ । हिमाललाई विम्ब बनाएर लेखिएको चुलीमा जीवन विज्ञानको सार छ ।
९) अब अन्तिम प्रश्न, आखिर जिन्दगी के रहेछ ?
जीवन रहस्यमय पुस्तकको खाली पानाजस्तै रहेछ । जीवन भोग्दै जाँदा ती पाना भरिँदै जाने रहेछन् । यस्तो लाग्छ, साहित्यको विविध विधा मिश्रित छ हाम्रो जीवनमा । कहिले कथा जसरी जीवन अगाडि बढ्छ त कहिले उपन्यास भएर अल्झिन्छ । कहिले यात्रा भएर बग्छ जीवन त, कहिले कविता भएर पोखिन्छ । फेरि कुनै दिन जीवन सङ्गीतझैँ लाग्छ । म सुन्छु, जीवनका अनेकौँ रागहरू । कहिले अमूर्त चित्रझैँ लाग्छ जीवन । कहिले नीलो आकाशझैँ विशाल । विभिन्न रङको कोलाजमा अव्यक्त चित्रझैँ लाग्छ जीवन । जीवन सुन्दर अवसर हो । यस्तो पनि लाग्छ, श्वासको मालामा गतिशील भएर बग्ने नदी हो जीवन तर एक दिन त्यो नदी अचानक विलीन हुन्छ, रहस्यको गर्तमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण