शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

इरानमाथिको आक्रमणपछि आपतकालीन बैठक बोलाउने तयारीमा आईएईए

आइतबार, ०८ असार २०८२, २२ : ३५
आइतबार, ०८ असार २०८२

सारांश

  • अमेरिकाद्वारा इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण भएपछि IAE ले आपतकालीन बैठक बोलायो।
  • आक्रमणका कारण फोर्दो, नतान्ज र एस्फाहानमा विकिरणको मात्रा बढेको प्रमाण फेला परेको छैन, तर थप मूल्याङ्कन जारी छ।
  • इरानका विदेशमन्त्रीले आक्रमणलाई गम्भीर र दीर्घकालीन असर पार्ने घटना भनेका छन्, सबै विकल्प खुला राखेको बताए।

भिएना । संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) ले गभर्नर मण्डलको आपतकालीन बैठक सोमबार बस्ने जानकारी गराएको छ ।

संस्थाले आइतबार बिहान सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘इरानका तीन स्थानहरू फोर्दो, नतान्ज र एस्फाहानमा आक्रमण भए पनि हालसम्म त्यहाँको वरपरको क्षेत्रमा विकिरणको मात्रा बढेको कुनै प्रमाण भेटिएको छैन ।’

आईएईएले थप जानकारी संकलन भइरहेको जनाउँदै, परिस्थिति स्पष्ट हुनासाथ विस्तृत मूल्याङ्कन प्रस्तुत गरिने जनाएको छ । यसअघि, संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्पले ती तीन आणविक स्थलहरूमा सफलतापूर्वक कारबाही सम्पन्न गरिएको जानकारी दिएका थिए । 

इरानका परराष्ट्र मन्त्री सैयद अब्बास आरागचीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमणलाई ‘गम्भीर’ र ‘दीर्घकालीन असर पार्ने घटना’ भनी टिप्पणी गरेका छन् । साथै, उनले इरानले सबै प्रकारका विकल्पहरू खुला राखेको स्पष्ट गरेका छन् ।

आईएईएका प्रमुख राफाएल ग्रोसीले आक्रमण हुनुअघि शनिबार दिएको जानकारी अनुसार, इजरायलद्वारा पछिल्ला केही दिनयता एस्फाहानमा रहेको एक ठूलो आणविक केन्द्रमा पुनः आक्रमण भएको र त्यसबाट केही संरचनाहरूमा क्षति पुगेको उल्लेख गरिएको थियो ।

ग्रोसीका अनुसार, ती स्थलहरूमा अधिकांश अवस्थामा आणविक पदार्थ नभएको वा अल्प मात्रामा मात्र रहेको हुनाले वातावरणमा विकिरण फैलिने सम्भावना न्यून छ ।

उनले भने, ‘एस्फाहानको यो केन्द्र इरानको आणविक कार्यक्रमको एक महत्वपूर्ण हिस्सा हो । यसमा पटक–पटक आक्रमण भइरहेको अवस्था निकै गम्भीर हो । यद्यपि अहिलेको मूल्याङ्कनअनुसार बाह्य क्षेत्रमा तत्काल कुनै खतराको संकेत देखिएको छैन । तर म बारम्बार दोहोर्याउँदै आएको छु- आणविक पूर्वाधारमाथि कहिल्यै आक्रमण हुनुहुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप