शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

अमेरिकाले अर्को हप्ता इरानसँग वार्ता गर्ने

इरानलाई तेल बेच्न दिन सकिन्छ, चीनले किनोस्  : ट्रम्प
बुधबार, ११ असार २०८२, २१ : ५४
बुधबार, ११ असार २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौताको लागि अर्को हप्ता बैठक गर्ने बताए तर उनले सम्झौता आवश्यक नभएको कुरामा जोड दिए।
  • ट्रम्पले इरानलाई तेल बेच्न दिने र चीनले इरानी तेल खरिद गर्न सक्ने बताए, जसले अमेरिकी 'अधिकतम दबाब' नीतिमा केही लचकता आउने संकेत दिएको छ।
  • ट्रम्पले इरानको आणविक क्षमतामा अमेरिकाले सफलता प्राप्त गरेको दाबी गरे तापनि प्रारम्भिक गुप्तचर रिपोर्टहरूले फरक धारणा राखेको छ।

हेग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी प्रतिनिधिमण्डलले इरानसँग सम्भावित आणविक सम्झौताको सम्बन्धमा अर्को हप्ता बैठक गर्ने बताएका छन्। तर उनले पटक–पटक अब उक्त सम्झौता ‘त्यति आवश्यक नभएको’ भनेर स्पष्ट पारे।

नेदरल्यान्ड्सको हेगमा सम्पन्न नेटो सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी इरानसँग अर्को हप्ता कुरा गर्न जाँदैछौँ। सम्भवतः हामी कुनै सम्झौता पनि गर्नेछौँ, तर मलाई त्यो आवश्यक जस्तो लाग्दैन। उनीहरूले युद्ध गरे, अब आफ्नै संसार फर्किए, सम्झौता भए पनि नभए पनि फरक पर्दैन।’

उनले यसअघि आफ्नो प्रशासनले विगतमा इरानसँग वार्ता गर्दा जुन प्रतिबद्धता मागेको थियो, अहिले पनि उही कुरा माग्ने जिकिर गरे। ‘हामी जे माग्दै थियौँ, अहिले पनि उही माग हो,’ ट्रम्पले भने।

त्यसपछि उनले इरानको आणविक क्षमतामा अमेरिका सफलतापूर्वक प्रहार गरिसकेको पुनः दाबी गरे । यद्यपि प्रारम्भिक गुप्तचर रिपोर्टहरूले यसबारे फरक धारणा दिएको छ।

‘हामी चाहन्छौँ कि इरानसँग आणविक हतियार नहोस्, र त्यो हतियार त हामीले नष्ट गरिसकेका छौँ। मैले भनेको थिएँ इरानसँग आणविक हतियार हुँदैन, र हामीले त्यो उडायौँ, एक प्रकारले भन्ने हो भने ‘ब्लोन अप टु किङ्डम कम’। त्यसैले मलाई सम्झौताको विषयमा धेरै गहिरो भावना छैन,’ ट्रम्पले भने।

ट्रम्पले भने अनुसार मञ्चमा चढ्दै गर्दा उनले अमेरिकी विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोलाई सम्झौता तयार गर्नेबारे सोधेका थिए।  अमेरिका इरानलाई सम्झौतामा हस्ताक्षर गराउन सक्छ भनेर ट्रम्पले विश्वास व्यक्त गरे ।

  • इरानलाई तेल बेच्न दिन सकिन्छ, चीनले किनोस्

ट्रम्पले इरानले आफ्नो देश पुनर्निर्माण गर्न तेल बिक्रीबाट आम्दानी आवश्यक पर्ने बताएका छन् र चीनले इरानी तेल किन्ने कुरामा आफूलाई आपत्ति नरहेको स्पष्ट पारेका छन्। यो भनाइ इरानमाथिको ‘अधिकतम दबाब’ नीति केही लचिलो हुने सङ्केतको रूपमा हेरिएको छ।

ट्रम्पले पत्रकारहरूसँग भने, ‘हेर्नुहोस्, उनीहरूले भर्खरै युद्ध लडे। त्यो युद्ध सकियो। उनीहरूले साहसपूर्वक लडे। म हार मान्दिनँ।’

जब पत्रकारले चीनलाई इरानी तेल किन्न दिने प्रस्तावबारे सोधे, उनले भने, ‘उनीहरू (इरान) तेल व्यवसायमा छन्। म चाहँदा रोक्न सक्छु – आफैँले चीनलाई तेल बेच्न सक्छु। तर म त्यो गर्न चाहन्न। उनीहरूलाई देश पुनः व्यवस्थित गर्न पैसा चाहिन्छ। हामी पनि त्यो हेर्न चाहन्छौँ,’ ट्रम्पले भने।

‘उनीहरूले तेल बेच्न चाहन्छन् भने बेच्नेछन्। हामी त्यहाँ गएर तेल कब्जा गर्न खोजेका छैनौँ,’ उनले थपे।

योभन्दा अघि नेटो शिखर सम्मेलनतर्फ जाँदै गर्दा ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए: ‘चीनले अब इरानबाट तेल किनिरहन सक्छ। आशा छ, उनीहरूले अमेरिकाबाट पनि धेरै तेल किन्नेछन्। यो सम्भव बनाउन पाउनु मेरो ठुलो सम्मान हो!’

तर त्यसपछि एक वरिष्ठ ह्वाइट हाउस अधिकारीले स्पष्ट पारे कि ट्रम्पको पोस्ट कुनै प्रतिबन्ध खुकुलो बनाउने औपचारिक घोषणा होइन। ‘राष्ट्रपतिले जुन निर्णायक कदम चालेर इरानको आणविक पूर्वाधार ध्वस्त पार्नुभयो र इजरायल-इरानबिच युद्धविराम गराउनुभयो, त्यसका कारण स्ट्रेट अफ होर्मुज संकटमा परेन। त्यो चीनका लागि विनाशकारी हुने थियो,’ ती अधिकारीले भने।

उक्त अधिकारीले थपे, ‘राष्ट्रपतिले चीनसहित सबै देशहरूलाई अमेरिकाको अत्याधुनिक तेल आयात गर्न आग्रह गरिरहनुभएको छ, इरानी तेल होइन – जुन अमेरिकी प्रतिबन्धको उल्लङ्घन हुन्छ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप