मनसुनको मुखमा सञ्चालनमा आउँदै यी पुल
सारांश
- बर्खा सुरु नहुँदै सडक र पुलहरूमा क्षति पुगेको छ, जसले यातायात अवरुद्ध पारेको छ।
- नवलपरासी र हेवाखोलामा पुल भाँचिदा यातायातमा समस्या भएको छ, भने रामेछापमा निर्माणाधीन पुल दोस्रो पटक भाँचिएको छ।
- सरकारले क्षतिग्रस्त पुलहरूको पुनर्निर्माणमा जोड दिइरहेको छ, तर ढिलाइ र गुणस्तरका प्रश्नहरू उठिरहेका छन्।
काठमाडौँ । यो वर्ष बर्खा सुरु नहुँदै देशभरका सडक र पुल अस्तव्यस्त बन्न थालिसकेका छन् । बर्खा सुरु नहुँदै बाढी पहिरोका कारण यातायात सञ्चालनमा ठुलो प्रभाव पारेको छ ।
गत असोजको बाढीले देशभरका पुल तथा सडक तहसनहस गरेपछि सरकारले पुनर्निर्माणमा आलटाल गर्दै आएको छ । अर्कोतर्फ सडक पूर्वाधार अस्तव्यस्त हुँदा देशभर जनताले सास्ती भोग्नुपरेको छ ।
गत जेठ २९ गते नवलपरासी पूर्वको दुम्कीबासस्थित विनय खोलामा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भयो ।
पुस २६ मा दुम्कीबासस्थित विनयी खोलाको फलामे पुल भाँचिएपछि बनाइएको अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालनमा ल्याइएको थियो । पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो यो पुल अत्यधिक भारसहितका भारतीय मालवाहक लरीका कारण भाँचिएको थियो ।
पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरियो । तर केही हप्तामै आएको भारी वर्षाले डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भयो । पुल सञ्चालनमा नआउञ्जेल डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि अहिले समस्या बनेको छ ।
पुरानो पुल भाँचिएको स्थान नजिकमा नयाँ पुल निर्माणको चरणमा छ । लामो समयदेखि उक्त पुल निर्माण नहुँदा सवारी सञ्चालनमा समस्या बनेको हो ।
यस्तै गत जेठ ३१ गते हेवाखोलामा बेलिब्रिज जडान गर्ने क्रममा भाँचियो । भारतको प्राविधिक सहयोगमा मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा भाँचिएको थियो । उक्त बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना मजदुरको मृत्यु नै भयो । गत असोजमा आएको बाढीले यो पुल बगाएको थियो । पुल बगाएपछि भारतले अनुदानमा दिइएको बेलिब्रिज जडान गरियो । तर त्यो पनि भाँचियो । र फेरि बेलिब्रिज जडान गर्नुपर्नेमा अन्योल भइरहेको सडक विभागले जनाएको छ ।
रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल निर्माणका क्रममा दोस्रो पटक भाँचियो । असार ८ गते निर्माणका क्रममा उक्त पुल भाँचिएको हो ।
पुलको भटौलीतर्फको भागको स्ल्याब भाँचिएर तल खसेको छ । सोही पुल यसअघि पनि वैशाख २६ गते भाँचिएको थियो । कालिका/कल्पवृक्ष जेभीले निर्माणको ठेक्का लिएको पुल पुनर्निर्माणका क्रममा पुनः भाँचिएको हो । एकै स्थानमा दोस्रो पटक पुल भाँचिएपछि स्थानीयले गुणस्तरप्रति प्रश्न उठाएका छन् ।
विनय खोलाको नयाँ पुल एकसाताभित्र सञ्चालन हुने

आयोजना निर्देशनालय एडीबीका निर्देशक तथा सुपरिटेन्डेन इन्जिनियर चुँडाराज ढकालले नयाँ पुल ६ दिनभित्र सञ्चालनमा ल्याउने रातोपाटीलाई जानकारी दिए ।
ढकालले भने, ‘नयाँ पुल निर्माणको अन्तिम चरणमा छ । ६ दिनभित्र सञ्चालनमा आउँछ ।’
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर शिव खनालका अनुसार नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) सडकअन्तर्गत पर्ने यो पुलसहितको सडक स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो ।
सम्झौता ६ वर्षअघि भए पनि विविध कारणले यो खण्डमा विस्तार कार्य अघि बढ्न सकेको थिएन । साथै यो पुल तीन वर्षअघि निर्माण थालिएको थियो ।
‘सडक, पुल सबै एउटै ठेक्कामा भएकाले करिब ६ वर्षभन्दा बढी लाग्यो । पुल मात्रै बन्न तीन वर्ष लागे पनि ठेक्कामा पुल पनि समेट्ने भएकाले ६ वर्षै लाग्यो भन्न पर्छ,’ इन्जिनियर खनाल भन्छन्, ‘पुल करिब–करिब तीन वर्षमा बनेको हो ।’
नयाँ पुलको लम्बाइ २४५ मिटर छ । नारायणगढदेखि बुटवलसम्म २४ वटा पुल पर्छन् । यसमध्ये दुम्कीबासको यो पुल सबैभन्दा लामो पुल भएको दाबी छ । आठ वटा स्पानसहितको पुल निर्माण गरिएको छ । यसअघि क्षतिग्रस्त पुलमा चार वटा स्पान मात्रै थिए । यसको लागत भ्याटसहित २० करोड ३४ लाख रुपैयाँ पर्न गएको देखिन्छ ।
‘अब करिब निर्माण अन्तिम चरणमा छ,’ खनालले भने, ‘पुरानो पुल भत्केको कारण पनि यो पुलबाट छिटोभन्दा छिटो यातायात सञ्चालन गर्नेगरी हामीले तयारी गरिरहेका छौँ ।’ उनले यो पुल १५–१६ गतेसम्म सक्नेगरी तीव्र काम भइरहेको बताए ।
कति बाँकी छ विनयी पुल निर्माणको काम ?
खनालका अनुसार ८ वटा स्पानसहितका पुलहरूको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । पुलैको छेउमा सेफ्टी बेरियर (रेलिङ) लगाउने र ढलान, कालोपत्र गर्न बाँकी छ ।
‘स्ट्रक्चरको अन्तिम–अन्तिम स्पानतिर छौँ, भोलि (शुक्रबार) त्यो सकिन्छ होला । अनि त्यसपछि त्यहाँ कालोपत्र गर्नुपर्छ,’ खनालले भने, ‘त्यो पुलमा मात्रै गरेर भएन, पुलमा आउने दायाँबायाँ सडकमा पनि गर्ने तयारी गर्दैछौँ । अब पाँच–छ दिनको समय न्यूनतम लाग्ने देखेका छौँ ।’
तर वर्षाका कारण काममा अवरोध हुँदा ढिलाइ भइरहेकाले तत्काललाई डाइभर्सन बनाएर पनि सञ्चालन भइरहेको उनले बताए ।
हेवाखोलाको बेलिब्रिज जोड्न पार्टस् खोजिँदै

हेवाखोलामा भाँजिएको बेलिब्रिज जोड्न पार्टस्हरू खोज्ने कार्य भइरहेको विभागले जनाएको छ । विभागका एक इन्जिनियरका अनुसार उक्त स्थानमा बेलिब्रिज तत्काल जडान गर्न नसकिने देखिन्छ ।
‘बेलिब्रिज नभाँचिएको भए हेवाखोलामा अवरोध भएको सडक यतिखेर सञ्चालन आइसक्थ्यो । त्यो बेलिब्रिज ड्यामेज भयो । नयाँ किसिमको भएकाले त्यसको पार्टस्हरू मगाएर मेन्टेन गर्ने गरी काम भइरहेको छ,’ ती इन्जिनियरले भने, ‘भारत सरकारबाट हामीलाई अनुदानमा आएको बेलिब्रिज हो । पार्टस्हरू कहाँ पाउँछ भनेर खोजिराको अवस्था छ ।’
पार्टस् नपाएसम्म बेलिब्रिजबाहेक अरू डाइभर्सन नै बनाएर चलाउनेगरी पनि तयारी भइरहेको उनले बताए ।
तामाकोशी पुल गुणस्तरमा प्रश्न

यस्तै तामाकोशीमा भाँचिएको निर्माणाधीन पुल पुनर्निर्माणको क्रममा रहेको विभागले जनाएको छ ।
२०७८/७९ मा विभागअन्तर्गत पुल महाशाखासँग निर्माण कम्पनीले २०८२ भदौ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी २२ करोड ५५ लाख ४० हजारमा यहाँको पुल निर्माण सम्झौता गरेको थियो । पुल निर्माणको ६० प्रतिशत भुक्तानी कम्पनीले लिइसकेको छ । २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त मोटरेबल पुल निर्माणपछि मन्थली–भटौलीसहित खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको आवतजावत सहज हुने र सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने दूरी छोटिने अपेक्षा छ । तर यो पुल एकै स्थानमा दोस्रो पटक पुल भाँचिएपछि गुणस्तरप्रति प्रश्न उठेको छ ।
अन्य पुलको अवस्था केछ ?
गत असोजको बाढीले क्षतिग्रस्त पुलमध्ये खोटाङ–उदयपुर जोड्ने सुनकोशी नदीको फोक्सिङटार पुलमा जडान गरिएको बेलिब्रिज निकालिएको छ । साथै उक्त नदीमा मोटरेबल पुल निर्माणका लागि सरकारले ३५ करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ ।
यसैगरी खुर्कोट, लार्चा र लिपिङमा बाढीले क्षति गरेको बेलिब्रिज जडान सम्पन्न भएको सडक विभागले जनाएको छ । साथै काठमाडौँ जोड्ने कान्ति लोकपथको बागमती खोलाको पुल मकवानपुरतर्फ यही जेठ २५ मा बेलिब्रिज जडान सम्पन्न भएको जनाइएको छ ।
गत असोजको बाढी पहिरोबाट ८ वटा मोटरेबल पुलमा क्षति पुगेको थियो । क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि सरकारले एक अर्ब ९० करोड १० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण