काठमाडौँमा सर्प बढेका हुन् कि चर्चामात्र बढी ?
सारांश
- काठमाडौं उपत्यकामा सर्प भेटिने घटना बढेपछि नगर प्रहरी उद्धारमा खटिएका छन्।
- काठमाडौं महानगरपालिकाले सर्प उद्धारका लागि नगर प्रहरीलाई तालिम दिएको छ, र ललितपुरमा पनि उद्धार टोली गठन गरिएको छ।
- सर्प विज्ञका अनुसार, मानिस र सर्पबीचको 'इन्काउन्टर' बढेको र सामाजिक सञ्जालमा जानकारी बढ्दा सर्प देखिएको हो।
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकाका सर्प भेटिएका घटना बढ्दै गएका छन् । यस्ता घटना बढेसँगै नगर प्रहरीहरू सर्प उद्धारमा खटिरहेका छन् ।
नगर प्रहरीहरू प्रत्येक साता कहीँ न कहीँ उद्धारमा खटिरहनु परेको छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले नगर प्रहरीलाई सर्पको उद्धार तालिम नै सञ्चालन गरेको छ ।
असारको पहिलो हप्ता नगर प्रहरीलाई ३ दिने तालिम दिएको हो । ‘हाम्रो कल सेन्टरमा लगातार सर्प भेटियो भन्दै फोन आउन थालेपछि विभागको टोलीले नगर प्रहरीलाई तालिम दिएको हो,’ महानगरका विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक (एसपी) विष्णु जोशी बताउँछन् ।
उनका अनुसार अहिले सर्पको आतङ्कजस्तो भइरहेको छ । ‘विषालु सर्प नभए पनि मान्छेहरू आत्तिएर फोन गरिरहेका हुन्छन् । पहिले यस्तो थाहा थिएन । अहिले महानगरको टोलीले उद्धार गर्न थालेपछि फोन धेरै आउने गरेको छ,’ जोशीले भने, विषालु सर्प रहेनछ भने तत्काल उद्धार गरेर नजिकैको खोलातिर लगेर छोड्ने गरेका छौँ ।’
दुई दिन अगाडिमात्रै काठमाडौँ महानगरपालिका–१४, एड्भान्स इन्जिनियरिङ्ग कलेजको पारी घरको कम्पाउन्डमा रहेको सर्प नगर प्रहरीले उद्धार गरेको थियो ।
ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले सर्प उद्धार टोली नै बनाएर काम गरिरहेको बताए । ‘गुनासो धेरै आएपछि हामीले ६ जनालाई उद्धार तालिम र उद्धार सामग्री दिएका छौँ । टोली गएर उद्धार गरिरहेको छ,’ हाछेथुले भने ।
उनका अनुसार ललितपुर महानगरमा गत वर्ष बाढी आएको बेला जम्मा एउटा सर्प उद्धार गर्नुपरेको थियो । ‘पोहोर बाढीले क्षति पुर्याएको नख्खु क्षेत्रम सर्प भेटिएको थियो तर यो वर्ष हामीले २९ वटा उद्धार गरिसकेका छौँ,’ उनले भने । ललितपुर महानगर प्रहरीले ललितपुर जिल्लाभित्रका स्थानीय तहहरूमा गएर उद्धार गर्ने गरेको छ ।
‘२० भन्दा बढी घटना ललितपुर महानगरभित्रै छन् । हामीले ललितपुर जिल्लाको महालक्ष्मी, गोदावरी नगरपालिकामा पनि गएर उद्धार गरिरहेका छौँ,’ हाछेथुले भने ।
यो वर्ष सर्प यति धेरै देखिन थालेकोमा हाछेथुले आश्चर्य व्यक्त गरे । ‘पहिला–पहिला नगर प्रहरीलाई सर्प उद्धार गरिदिनुपर्यो भनेको खासै थाहा छैन, तर अहिले अचम्म लाग्ने गरी सर्प देखिन थाल्यो । हामीले सर्प उद्धार गर्नुपर्छ भनेर पहिले केही तयारी गर्नै पर्दैन थियो तर अहिले देखिरहेको छ,’ हाछेथुले भने ।
उनले विद्यालय, सार्वजनिक चौर, निजी घर, इनार छेउ लगायत ठाउँहरूबाट सर्प उद्धार गरेको सुनाए । ‘हामीले विषालु सर्प महालक्ष्मीको वनको सुरक्षित क्षेत्रमा लगेर छोड्ने गरेका छौँ भने अविषालु सर्प नजिकैको खोला, सुरक्षित क्षेत्रमा लगेर छोड्ने गरेका छौँ ।
उपत्यकाको अन्य पालिकाहरूमा समेत सर्प देखिएको घटना बढ्दै गएको छ । सर्प धेरै देखिनुको कारणमा तापक्रम नै मुख्य रहेको भन्दै चर्चा हुने गरेको छ । गर्मी बढेकाले सर्प धेरै आयो भन्ने हल्ला हुनु सामान्यजस्तै भइसकेको छ ।
‘हामीलाई पनि गर्मीको कारण बढेजस्तो लाग्छ, उद्धार गर्न बोलाउनेले पनि गर्मीले गर्दा सर्प बढ्यो भन्छन्,’ ललितपुर नगर प्रमुख हाछेथुले भने ।
सर्प बढेको होइन देखिएको मात्र हो : विज्ञ
सर्प विज्ञ भने यसलाई मान्छे र सर्पबिच ‘इन्काउन्टर’ बढेको बताउँछन् । सर्पसम्बन्धी खोज, अनुसन्धान गरिरहेका बसन्त सुवेदी गर्मीले गर्दा काठमाडौँमा सर्प बढेको हल्लालाई मिथक भन्छन् । उनले काठमाडौँ सर्प बढ्नुको एक प्रतिशतमात्रै जलवायु परिवर्तनको कारण हुन सक्ने बताए ।
‘काठमाडौँमा सर्प पहिलेदेखि नै थियो । अहिले मान्छेहरू सजग हुन थाले । पहिला मान्छेले सर्प मार्थे, देखिँदैन थियो । अनि त्यसको खबर जाँदैन थियो । अहिलेचाहिँ सोसल मिडियामा फोटो खिच्ने, हाल्ने, उद्धारकर्ताले उद्धार गर्यो भने पनि फोटो खिच्ने, हाल्ने हुँदा अलिकति मान्छेहरूमा बढी इन्ट्रयाक्सन भएको हो,’ सुवेदीले भने ।
सर्प उद्धारकर्तालाई प्रशिक्षणसमेत दिने सुवेदीले सर्प बढी देखिनुको ३ कारण सुनाए । उनका अनुसार पहिला मान्छेले सर्प देखे पनि वास्ता गर्दैनथे । पछिल्लो समय उद्धारकर्ता बढी भएपछि उद्धारकर्तालाई बोलाउने गर्छन् । त्यसले पनि सर्प बढेको हो कि भन्ने परेको उनको तर्क छ ।
अर्को कारण भनेको मानव बस्ती बढिरहेको छ । मानव बस्ती बढ्ने वेला जङ्गल वा खेतबारी फँडानी हुन्छ । यसले सर्पको ‘नेचुरल ह्याबिट्याट’ मासिने र यसबाट पनि मान्छे र सर्पको ‘इन्काउन्टर’ हुने उनले प्रस्ट पारे ।
तेस्रो मुख्य कारण भनेको पहिला मान्छेहरूले सर्प देखेपछि मारिहाल्ने गर्दा सर्प देखिएको कुरा बाहिर पुग्दैन थियो । सुवेदीले भने, ‘सर्प मारे पनि मान्छेहरूले फोटो हाल्दैन थिए । अहिले मान्छेले सर्प मारे पनि फोटो खिचेर हाल्छन् । उद्धार गर्न बोलायो भने पनि उद्धारकर्ताले र हेर्न भेला भएका मानिसले फोटो खिचेर हाल्छन् । यसरी सोसल मिडिया आउटरिच बढ्यो । खासमा यो सर्प र मानिसबिच जम्काभेट बढी भएको हो ।’
जलवायु परिवर्तनको भूमिका के हो ?
सर्प बढी देखिनुमा सुवेदी जलवायु परिवर्तनको भूमिका धेरै देख्दैनन् । ‘यो एक प्रतिशत सत्य हो, ९९ प्रतिशत भ्रम हो । पहिला काठमाडौँ भ्याली राजगोमन (किङ कोब्रा) हरूको राम्रो ह्याबिट्याट हो । उनीहरू पहिले पनि यहीँ थिए । उसको आज पनि राम्रो ह्याबिट्याट नै यहीँ हो । सकेसम्म अलि माथिल्लो पहाडमै बस्न खोज्छ किङ कोब्रा । उसको लागि यो फेभरेबल कन्डिसन नै हो,’ सुवेदीले भने ।
तापक्रम एकदुई डिग्री बढेको सत्य भए पनि त्यसले सर्पलाई खासै असर नपर्ने उनको भनाइ छ । ‘तराईको सर्पहरू यहाँ आउनेचाहिँ होइन । त्यसको लागि सयौँ वर्ष लाग्छ । दुईतीन वर्षमै एक्कासी तराईका सर्प पहाडतिर आउने भन्ने हुँदैन,’ उनले भने, ‘तर तापक्रम बढ्यो भने लामो समयपछि सर्पहरूको संख्या यहाँ बढ्न सक्छ ।’
कुन सर्प छन् उपत्यकामा ?
सुवेदीका अनुसार विषालु सर्पमा राजगोमन (किङ कोब्रा), चन्द्रनाग (मोनोस्लेड कोब्रा) छन् । चन्द्रनागलाई सेतीनाग पनि भन्ने गरिने उनको भनाइ छ ।
सुगा सर्प र आन्द्रो सर्प भन्ने आँदो सर्प (माउन्टेन पिट भाइपर) पनि काठमाडौँ उपत्यकामा पाइने सुवेदीले बताए । ‘विशेषगरी विषालु सर्प यति नै हो । अविषालु सर्पमा उपत्यकामा सबैभन्दा धेरै पाइने हिमालयी सिङ्गारे सर्प (हिमालयन ट्रिन्केट) हो । अविषालुमा तराईको डोमिनेन्ट सर्प भनेको धामन हो भने पहाडको डोमिनेन्ट सर्प भनेकोचाहिँ हिमालयी सिङ्गारे नै हो । उपत्यकामा पनि धामन पाइन्छ, मुख्यतः यिनै सर्प हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण