बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखराका ठाउँठाउँमा मनाइयो रोपाइँ महोत्सव

आइतबार, १५ असार २०८२, २० : ३४
आइतबार, १५ असार २०८२

पोखरा । ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नारा सहित पोखरामा आइतबार २० औँ संस्करणको रोपाइँ महोत्सव आयोजना गरिएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा–२६ गुँदे ताल क्षेत्रमा २० औँ रोपाइँ महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

महोत्सवमा पर्यटकहरूले हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरे । कार्यक्रममा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मानो रोपेर मुरी फलाउने यो विशेष दिनले विदेशी पर्यटकलाई नेपालको कृषि संस्कृति बुझाउन र अफ सिजनमा पनि पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

कार्यक्रममा परिषद्का अध्यक्ष तारानाथ पहारीले हराउँदै गएको कृषि प्रणालीको जगेर्ना गर्ने, खेतीयोग्य जमिनको संरक्षण गर्ने र पोखराको पर्यटनलाई चलायमान बनाउन महोत्सवको आयोजना गरिएको बताए । २०६१ सालदेखि परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको छ ।

महोत्सवमा हिले दौड, रस्साकस्सी, हिलोमा माछा समाउने  लगायत प्रतियोगिता पनि गरिएको थियो । महोत्सवमा नेपाली र विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ । अन्य विभिन्न सङ्घ संस्थाले धान दिवस महोत्सवका रूपमा मनाएका छन् ।

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा पाचाैँ हेमजा हिले महोत्सव गरिएको छ । महोत्सवमा हिलेदौड, रस्साकस्सी, धान रोपाइँ प्रतियोगिता, उत्कृष्ट किसान सम्मान तथा असारे भाका जस्ता कार्यक्रमहरू आयोजना गरिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले बताए । उनले हेमजालाई कृषि पर्यटनसँग जोड्न, किसानको सम्मान गर्न र युवाहरूलाई कृषिमा प्रोत्साहन गर्न महोत्सवलाई निरन्तरता दिइएको बताए ।

यता, नेपाल किसान महासङ्घ कास्कीले पोखरा–१४ खाल्टेमसिनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले धानलाई जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्डसँग जोड्नुपर्ने बताए । 

उनले कृषिलाई व्यावसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप