गिरिजाबाबु : त्याग र नेतृत्वका अविचल नायक
सारांश
- गिरिजाप्रसाद कोइरालाको योगदानबारे लेखिएको यस लेखले प्रजातन्त्र स्थापनामा उनको भूमिकालाई हाइलाइट गर्दछ।
- कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई मुलुकलाई द्वन्द्वबाट मुक्त गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
- लेखमा कोइरालाको निधनपश्चात् नेपाली राजनीतिमा आएका परिवर्तन र उनको सम्झनाबारे चर्चा गरिएको छ।
१९८१ साल असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कनिष्ठ पुत्रका रूपमा गिरिजाप्रसाद कोइरालाको जन्म भएको थियो । समयक्रममा कोइराला दम्पतीको कनिष्ठपुत्र गिरिजाप्रसाद नै नेपालको प्रधानमन्त्री हुन सफल भए । जसले आफ्नो जीवन नै नेपालको प्रजातन्त्र स्थापना, पुनर्स्थापना र प्रजातन्त्रको प्रबर्द्धनमा सुम्पिए ।
प्रजातान्त्रिक नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला हो । प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर आफ्नो जीवनकालको ८३ वर्षको उमेरमा पनि आफैँ प्रजातन्त्र स्थापनाका लागि सडक संघर्षमा होमिने व्यक्त हुन्, गिरिजाप्रसाद कोइराला । तर, विडम्बना २०६६ साल चैत्र ७ गतेका दिन उहाँको निधन भएको थियो ।
प्रजातन्त्र पुनर्स्थापनापश्चात् २०४८ को आम निर्वाचनपछि जननिर्वाचित नेपालको बारम्बार हुने प्रधानमन्त्रीका रूपमा भन्दा पनि एउटा क्रान्ति र शान्ति नायकका रूपमा उनको परिचय नेपाली जनताले पाएका हुन् ।
गिरिजाबाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्योलपूर्ण महाभेलमा फसेको डुङ्गालाई माझ भेलबाट किनारामा ल्याउनु भएको थियो । आज त्यही कुरा नै स्मरणीय हुन जान्छ । भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ । ती व्यक्तिको सम्झनामा हामीले कुनै दीप प्रज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन । तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ ।
जीवनमा केही मानिसहरू हुन्छन्, कसैको पनि सम्झनामा । मेरो पनि सम्झनामा एउटा त्यस्तो व्यक्तिको स्मृति अझै ताजा छ– गिरिजा बाबुको सम्झना । हामी जो भारत प्रवासमा थिएनौँ, जो भारतको बनारसमा पढ्न पनि गएका थिएनौँ, तिनीहरूका लागि उहाँ गिरिजा दाइ हुनुहुन्थेन, गिरिजाबाबु नै हुनुहुन्थ्यो । किनभने उहाँलाई समकालीन नेताहरूले गिरिजाबाबु नै भनेर बोलाउँथे । अनि उहाँको नाम एउटा क्रान्ति पुरुषको रूपमा लिइन्थ्यो, काँग्रेस र प्रजातन्त्रको एउटा अथक सिपाहीको रूपमा । तत्कालीन अवस्थामा—प्रवासमा हुँदा होस् कि खुलारुपमा, नेपालमा रहँदा वा प्रतिबन्धित अवस्थामा पनि नेपाली कांग्रेसको सङ्गठन धान्ने मानिसको रूपमा उहाँलाई नै बढी मानिन्थ्यो । हामीले त्यसैगरी उहाँलाई चिन्थ्यौँ, जुन परिचय उहाँको जीवनपर्यन्त कायम रह्यो ।
समयक्रममा गिरिजाबाबुको परिचय बिपीको असली कार्यकर्ता भन्दा पनि नेपाली कांग्रेसको कुशल सङ्गठकको रूपमा भयो । जुन परिचय मृत्युपर्यन्त कांग्रेस संगठनको एक्लो सेनापतिको पर्यायवाची भएर रह्यो । बारम्बार कांग्रेसको सभापति र संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री हुँदा पनि उहाँलाई कांग्रेसको सङ्गठनकै चिन्ता हुन्थ्यो । मृत्यु शय्यामा समेत उहाँलाई नेपाली कांग्रेसको नै चिन्ता थियो । बिपी स्वयं पनि कतिपय साङ्गठनिक कुरामा गिरिजाबाबुको सल्लाहले मात्र काम गर्नुहुन्थ्यो भन्ने भनाइ छ । पछि त गिरिजाबाबुप्रति जतिसुकै कुरा नमिले पनि उहाँका समकालीन र अग्रज नेताहरूले उहाँलाई मान्नै पर्ने अवस्था सृजना भयो । जुन उहाँको जीवनभरि लागू भयो किन भने यो उहाँको नेपाली कांग्रेसप्रतिको निष्ठा र संगठनका कारणले नै थियो ।
समयको पदचापलाई राम्रोसँग मनन गर्नसक्ने राजनीतिज्ञ हुन् गिरिजाबाबु । त्यस्तो व्यक्ति पनि एक दिन यो नश्वर शरीर यहीँ छोडेर जानु भयो । आध्यात्मिकताका आधारमा भन्ने हो भने उहाँले अर्को चोलाका लागि यो शरीररुपी लुगा परिवर्तन गर्नुभयो । भौतिकवादी तरिकाले भन्दा उहाँको भौतिक अस्तित्व यहीँ विलीन भयो ।
एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला चाहे पञ्चायतका विरुद्धको सशस्त्र सङ्घर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रूपमा होस्–नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति बन्नुभयो ।
इतिहासमा त्यस्तो बेला एकपल्ट एक जनाको हातमा आउँछ भन्ने कुरा गिरिजाबाबुको त्यो साहसका लागि लागू हुन्छ । आधुनिक कालको कुरा हो, नेकपा माओवादी सशस्त्र जनयुद्ध गर्दै थियो, जसले ९० प्रतिशत नेपाल आफ्नो कब्जामा छ भनेर अहङ्कार गर्थे । उनैलाई शान्ति प्रक्रियामा स्वेच्छिकरुपमा ल्याएर, मूलधारको राजनीतिमा ल्याएर, मुलुकको सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको शान्तिकालीन अवस्थासम्म आएको छ ।
हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्तिप्रक्रियाको अवस्थालाई तुलना गरेर हेरौँ र अनिमात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ र गिरिजाबाबुको योगदानको मूल्याङ्कन गर्न सम्भव हुनेछ ।
नेपालमा नै गिरिजाबाबु जस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ । उहाँको देहावसानपश्चात्का दिनमा शान्तिप्रक्रियाले गति लिन सकेन, यसका लागि सबै उत्तिकै दोषी छन् र सबैभन्दा बढी अनुत्तरदायी चाहिँ तत्कालीन नेकपा माओवादीलाई मान्न सकिन्छ । किनभने उसमा कुनै त्यस्तो सङ्क्रमणकालीन न्याय सम्पादनको अवधारणा र रणनीति रहेनछ, जसको कारणले आजसम्म हिजोका द्वन्द्वका कारणले लागेको घाउमा मलम लाग्न सकेको छैन ।
सायद त्यही कारणले होला, गिरिजाबाबुको अवसानपछि न सत्य निरूपण तथा मेल मिलाप आयोगले गति लिन सक्यो, न त बेपत्ता भएकाहरूका बारेमा कुनै नयाँ प्रक्रिया अगाडि बढ्न सकेको देखियो ।
हुन त उहाँ लामो प्रवासपछि २०३७ सालको सुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नु भएको थियो । तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रूपमा चित्रित थियो । त्यसपछिका दिनहरूमा गिरिजाबाबुका कामहरू नेपालीहरूका लागि खुला किताब जत्तिकै स्पष्ट छन् । मानिसहरू कसैको निधनपश्चात् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दा भन्ने लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षति हुन पुग्यो । वास्तवमा गिरिजाबाबुको निधनचाहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ । अपूरणीय क्षति नै भएको रहेछ । त्यसपछिका राजनीतिक घटनाक्रमले त्यही साबित गरिरहेका छन् । हुन त बाँचेकै भए पनि अहिले १०१ वर्षको वृद्ध हुनुहुन्थ्यो तर पनि यो बिचमा उल्झिएका गाँठाहरू सायद उहाँ यहाँ जीवित हुनु भएको भए सुल्झिन्थे होलान् भन्ने कल्पना गरौँ ।
कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानु पर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन । कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो । तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ भन्ने अहिलेको जटिलतम राजनीतिक परिस्थितिले देखाएको छ ।
उहाँलाई नेपाली राजनीतिको नयाँ प्रक्रियाबाट छानिने राष्ट्रपति पदमा चुनिनबाट पन्छाउन तत्कालीन एनेकपा माओबादीले सुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ । त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ । खोलो त¥यो, लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ ।
भनिन्छ, तत्कालीन एमाओवादीले गिरिजा बाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो । यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ । अब त्यो समय फर्केर आउने छैन । मात्र इतिहासको पदचाप सुनेर थाहा पाउने कुरा मात्र भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्षले सधैँभरि भन्ने कुरा नै भएको छ, मेरो अक्षम्य गल्ती भएकै थियो गिरिजाबाबुलाई राष्ट्रपति बन्नबाट रोकेकोमा । समय गुज्रेपछिको पश्चातापले अब कुनै नयाँ परिणाम दिनेछैन ।
सधैँभरि पड्कने बम, मारिने नेपालीका परिवारको चीत्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्यौलता बिचमा आफूलाई र आफ्नो दललाई महान् शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शान्तिमार्गमा ल्याउनु भयो । लोकतन्त्रप्रतिको आस्थावान बनाउनु भयो र लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनु भयो । आज नेपाली राजनीतिमा माओवादी केन्द्र प्रजातान्त्रिक मूलधारको राजनीतिमा मियोको काम त गरिरहेकै छ नि ।
अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुनसक्नु पर्दछ र निःस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्दछ । वास्तवमा यो उत्तर आधुनिक नेपालमा त्यसोचाहिँ गिरिजा बाबुले मात्र गर्नुभयो । मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिंसात्मक सशस्त्र युद्धमा रहेको त्यस्तो दल नेकपा माओवादी जसले सबैभन्दा ठुलो शत्रु भनेर नेपाली कांग्रेसलाई मात्र घोषणा गरेको थियो । त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनु भयो । यसो गरेकोमा नेपाली कांग्रेसमा अझै त्यसको विरुद्धमा ध्वनि प्रतिध्वनित छ र नेपाली कांग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदैछ । हुन पनि काँग्रेस त्यसपछि मणि हराएको नागजस्तो त भएकै छ ।
अहिलेको विश्वमा लोकतन्त्रका विरुद्धमा जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ । प्रजातन्त्रका विरुद्धमा कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजा बाबुले गर्नुभएको थियो ।
हुन त गिरिजाबाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य पाँच दलहरूको सहयोगले काम फत्ते गर्ने तारतम्ये मिलेको थियो होला । तर रणनीतिकारको अदम्य साहसविना त्यो सम्भव थिएन, जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड समालेको हुन्छ ।
नेपाली जनताका लागि लोकतान्त्रिक संविधान घोषणा भएको छ र त्यसको व्यावहारिक प्रयोगले मुलुकलाई विश्वको प्रजातान्त्रिक मुलुकको श्रेणीमा लैजानु छ । शान्ति र स्थिरता कायम गरेर मुलुकमा सदाका लागि शान्ति स्थापना गरी राजनीतिक स्थायित्व दिनु पर्दछ । यसो गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
अहिले गिरिजाबाबुलाई बिर्सिने खेल नेपाली कांग्रेसभित्रै भइरहेको आभास हुन्छ । अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्र रूप लिएको थियो र पनि कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधान सभाको निर्वाचन सम्भव भएको थियो ।
त्यसपछिका दिनहरू पनि अझै उहाँका देनहरूले डोरिँदै गएका छन् । तर लाग्दै छ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकता बोध हुने गरी तुफान आउन थालेको छ । आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस् ।
नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको श्रद्धान्जलि हुनेछ । कांग्रेसीजनले बिर्सियून् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिने छैनन् । जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए ।
कसरी राजनीतिक अवस्था सङ्लो होला भनेर भन्न सकिने अवस्था अहिले देखिँदैन । यसका लागि गिरिजाबाबुबाट केही गुण लिने र दलभन्दा राष्ट्र ठुलो मानेर समस्या समाधानका लागि लाग्ने प्रेरणा लिने काम गरौँ । लोकतन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जली हुनेछ । प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्रै हो भन्ने गिरिजाबाबुको गुणलाई आत्मसात् गरौँ । त्यही नै उहाँप्रति श्रद्धाञ्जली हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण