शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा

एसईईमा ननग्रेडेडको कारण खोज्दै काठमाडौँ महानगर, प्रधानाध्यापकहरूसँग छलफल

बिहीबार, १९ असार २०८२, ०६ : ३३
बिहीबार, १९ असार २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले एसईई परीक्षाको नतिजा सुधारका लागि प्रधानाध्यापकहरूसँग छलफल गरेको छ।
  • परीक्षामा ५८ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए, जसमा ९५६ जना ननग्रेडेड नतिजा भएका छन्।
  • उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयमा नेतृत्वको भूमिका खोजेको बताइन् र नतिजा सुधारका लागि एक महिनाभित्र काम गर्न आग्रह गरिन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्ष परीक्षा (एसईई) मा गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू ननग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग छलफल गरेको छ । 

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । ती परीक्षार्थीमध्ये ९ सय ५६ जना (ननग्रेडेड)ले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

यो नतिजाका बाबजुद उत्तीर्ण विद्यार्थीमध्ये ७ सय ८९ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५ सय ४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । 

गएको वर्षको तुलनामा यो वर्ष २ सय ४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् । यो विद्यालयहरूको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरूमा मिहिनेत गर्ने बानीको विकास, शिक्षकहरूको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले बिदाका समयमा सञ्चालन गरेका विद्यालयहरू तथा विशेष निगरानी कक्षाबाट आएको परिवर्तन हो ।

३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १ हजार १ सय ४८ छ । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८ सय ९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २ स य ५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । 

यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३ सय ९५ जना र १६ जना विद्यार्थी थिए । यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भइरहेको छ भने तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै देखिएको छ । यही नतिजालाई पनि सुधार गर्ने लक्ष्यसहित प्रधानाध्यापकहरूसँग छलफल गरिएको हो ।

छलफलमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको बताइन् । ‘चुनौती छन्, यसकारण नेतृत्वको खोजी भएको हो,’ उनले भनिन्, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना ननग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’

छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसईईको नतिजा राम्रो नभएको उल्लेख गरे । 

छलफलमा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिना अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक् प्रयास गर्ने प्रतिबद्धता जनाए । केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उनले उल्लेख गरे । 

प्रधानाध्यापकहरूले थप कारण देखाउँदै भने, ‘केही मेहिनेत गर्ने विद्यार्थीको पनि ननग्रेडेड नतिजा आयो । कति विद्यार्थीले जाँच दिए तर गयल देखायो । घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आबद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरू चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरू अभिभावकलाई टेर्दै टेर्दैनन्, अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् ।’

अभिभावकलाई विद्यार्थीको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा नआउने कारण पनि प्रमुख रहेको उनीहरूको भनाइ थियो । ‘बिहान पढायो, त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन्, गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन, यसकारण उनीहरूमा खराब बानीको लत छ,’ प्रअहरूले समस्या देखाए । 

उनीहरूले थपे, ‘महानगरपालिकाले नियमित अनुगमन गरिदिनुपर्छ । प्रधानाध्यापक र शिक्षकको नेतृत्व विकास र क्षमता विकास गरिदिनुपर्छ ।’

‘उसको विषयमा मलाई भन्दा पनि नभन्नू, म स्कुल आउन पनि आउँदिनँ, मेरो नानीबाबुलाई ब्ल्याक बेल्ट चाहिएको छ, एसईई फेल भएर पनि फरक पर्दैन’ भन्ने अभिभावक पनि रहेका उनीहरूले बताए । ‘हामीले सेलेक्टेड विद्यार्थी लिने होइन । विद्यालयको क्षमताले अट्टाउने सबै विद्यार्थी भर्ना लिने हो, यसकारण सामुदायिक विद्यालयमा अनेक् खालका कार्यक्रम चाहिएको छ,’ उनीहरूको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप