बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार फलोअप

मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

अर्का पीडित रामवती राजवंशीको विषयमा भने अझै छलफल हुन सकेन
शुक्रबार, २० असार २०८२, ०८ : २२
शुक्रबार, २० असार २०८२

सारांश

  • कटहरी गाउँपालिकाका सभापति रामकुमार कामत मिटरब्याजको आरोपमा जग्गा फिर्ता गर्न सहमत भए, जसमा वडाध्यक्षलाई फसाइएको थियो।
  • पीडित वडाध्यक्षले उजुरी गरेपछि कामतले जग्गा फिर्ता गर्ने लिखित सहमति गरे, साथै ब्याजबापतको रकम पनि फिर्ता गर्ने भए।
  • यो घटना २०७४ सालमा सुरु भएको थियो, जसमा रामकुमारले जग्गा कब्जा गर्न खोजेका थिए, तर पछि उनले सहमति जनाए।

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः जग्गा फिर्ता गर्न सहमत भएका छन् । पीडित वडाध्यक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र सोसम्बन्धी समाचार सार्वजनिक भएपछि दबाबमा परेका कामतले असार १६ गते जग्गा र नगद फिर्ता गर्ने लिखित सहमति गरेका हुन् ।

कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका रामकुमारबाट आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङमा ‘अनुचित लेनदेन’को उजुरी दर्ता गराएका थिए । त्यसपछि रामकुमारले कटहरी गाउँपालिका–३ को वडा कार्यालयमा भएको छलफलमा जग्गा फिर्ता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

वडा कार्यालयले प्रमाणीकरण गरेको सहमतिपत्र अनुसार, रामकुमारले धरौटीबापत लिएको जग्गामध्ये कित्ता नम्बर ८९० को १६९.३० वर्गमिटर जग्गा जदुलाललाई फिर्ता गर्ने उल्लेख छ । साथै, ब्याजबापत लिएको रकममध्ये ४ लाख रुपैयाँ नगद फिर्ता गर्न पनि उनी राजी भएका छन् ।

सहमति हुनुअघि रामकुमारले जग्गा फिर्ता गर्नका लागि थप २३ लाख रुपैयाँ मागिरहेका थिए । तर, विवाद बाहिरिएपछि उनी आफूले लिएको रकमबाटै ४ लाख फिर्ता गर्न तयार भएका हुन् । पीडित जदुलालका अनुसार बाँकी जग्गा हाललाई रामकुमारले नै भोगचलन गर्ने गरी सहमति भएको छ ।

यो घटना २०७४ सालमा सुरु भएको थियो । वडाध्यक्ष जदुलालले रहेमान मियासँग ६८ लाखमा जग्गा किन्ने निधो गरे, तर उनीसँग ४८ लाख मात्र थियो । बाँकी २० लाख रुपैयाँ उनले बद्री चौधरीसँग सापटी लिए र जग्गा चौधरीकै नाममा पास गरिदिए । केही महिनामै चौधरीले पैसा फिर्ता मागेपछि जदुलालले तत्कालीन गाउँपालिका अध्यक्ष रहेका रामकुमारसँग गुहार मागे ।

रामकुमारले २१ लाख रुपैयाँ दिएर चौधरीको नामको जग्गा आफ्नी श्रीमती रुणादेवी कामतको नाममा ल्याएर धितो सकार्ने आश्वासन दिए । तर, त्यसपछि नै जग्गा कब्जाको खेल सुरु भयो । जदुलालको दाबीअनुसार, उनले ऋणको सावाँब्याज गरी रामकुमारलाई पटक–पटक गरेर साढे ३५ लाख रुपैयाँ बुझाइसकेका थिए । तर, जग्गा फिर्ता माग्दा रामकुमारले थप २३ लाख रुपैयाँ मागेर मानसिक तनाव दिइरहेका थिए ।

पीडित जदुलाल र आरोपी रामकुमार दुवै नेपाली कांग्रेसका नेता हुन् । जदुलाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् भने रामकुमार पार्टीको गाउँपालिका सभापति छन् । जदुलालले पार्टीभित्रैबाट समस्या समाधान गर्न सांसददेखि मन्त्रीसम्मलाई गुहारे । तर, उनको समस्या समाधान नभएपछि उनी प्रशासन कार्यालय र संचारकर्मीसँग पुगेका थिए । 

रामकुमारले भने जदुलालसँग गरेको सहमतिको कागज पनि लुकाउन खोजेका थिए । किनभने, उनीविरुद्ध अरू मिटरब्याज पीडितले पनि उजुरी दिएका छन् । कामतबाटै पीडित कटहरी–२ की ५५ वर्षीया रामवती राजवंशीले ८ लाख ऋण लिँदा आफ्नो १ करोडभन्दा बढी पर्ने ८ कट्ठा जग्गा गुमाएकी छन् । उनको जग्गा विभिन्न व्यक्तिको नामबाट हुँदै अन्ततः रामकुमारको नाममा पुगेको थियो । यो विषयमा पनि यसअघि समाचार प्रकाशित भइसकेको छ ।

अहिले राजवंशीको त्यो उजुरी जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ । तर, रामकुमारको राजनीतिक पहुँचका कारण छानबिनमा कांग्रेस नेताहरूले नै अवरोध गरिरहेको पीडितको गुनासो छ । मोरङमा हालसम्म ६७८ वटा मिटरब्याजसम्बन्धी उजुरी दर्ता भएका छन्, जसमध्ये ८ वटा मुद्दामा मिलापत्र भई १ करोड ८३ लाख रुपैयाँ लेनदेन र १ बिघा १ कट्ठा १२ धुर जग्गा फिर्ता गराइएको छ ।

111

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप