शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शीतल निवासमा देउवा र प्रचण्डको भेट, के भन्छन् मीन विश्वकर्मा ?

शनिबार, २१ असार २०८२, १७ : ४३
शनिबार, २१ असार २०८२

सारांश

  • कांग्रेस नेता विश्वकर्माले देउवा र प्रचण्डको भेटलाई सरकार परिवर्तनको भेट नभएको बताए।
  • उनले वर्तमान सरकारले गति लिन नसकेको र सुशासनमा नागरिकको विश्वास जित्न नसकेको टिप्पणी गरे।
  • विश्वकर्माले सरकार परिवर्तनको पक्षमा नरहेको र सरकारको कार्यशैली बदल्ने विषयमा छलफल भइरहेको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गत शुक्रबार शीतल निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको भेटलाई सरकार बदल्ने भेटको रूपमा चित्रण गर्न नहुने बताएका छन् । 

काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने, ‘दुई शीर्ष नेता शेरबहादुर देउवा र प्रचण्डको बिचमा भएको भेटघाट सौहार्दपूर्ण, मैत्रीपूर्ण, हार्दिकताको साथ कुनै पर्व विशेषमा भएको भेट हो । त्यो सरकार बदल्नेको बारेमा भएको भेटघाट होइन ।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुईवटै काँध थापिदिँदा पनि गति पक्रिन नसकेको टिप्पणी गरे । ‘कांग्रेसले एउटामात्रै काँध होइन, दुईवटै काँध थापिदिएको छ सरकारलाई । तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकछोप गर्न सक्दिनँ । गति पक्रिन सकेको छैन । सुशासनको सम्बन्धमा भर्खरै सरलता र सुगमता आएको छ । नागरिकहरूमा वाह ! सरकार भन्ने ढङ्गबाट, ओहो! परिवर्तन भयो नि त भन्ने ढङ्गबाट अथवा प्रत्येक नागरिकले मन, मस्तिष्कबाट सरकारलाई एकदम मुस्कानको साथ समर्थन गरोस् भन्ने हाम्रो अपेक्षा थियो । त्यो विन्दुमा पुर्‍याउन नसकिएको सत्य हो,’– उनले भने । 

साथै, नेता विश्वकर्माले अहिले आफूहरू सरकार परिवर्तनको पक्षमा नरहेको पनि बताए । उनले सरकार बदल्ने भन्दा पनि भइरहेको सरकारको कार्यशैली बदल्नेतिर आफूहरूले सोचिरहेको बताए । पार्टी केन्द्रीय समिति बैठकमा पनि सरकारको कार्यशैली परिवर्तनको पक्षमा खुलेर छलफल भइरहेको उनले बताए । 

उनले सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्नेतर्फ लाग्न आवश्यक रहेको बताए । नेता विश्वकर्माले कांग्रेसले हामी प्रधानमन्त्रीमा छैनौँ भनेर उम्किने स्थितिमा नरहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप