शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

अंगूरबाबा जोशी : प्रथम ‘बार एट ल’ र प्रिन्सिपल

एक नाम, अनेक काम
शनिबार, २१ असार २०८२

काठमाडौँ । नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् ।

राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ ।

साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २८ औँ एपिसोड अंगूरबाबा जोशीका सम्बन्धमा छ । प्रथम नेपाली महिला ‘बार एट ल’ (मिडिल टेम्पुल लन्डन)  हुन्– अंगूरबाबा जोशी । उनले सन् १९६१ मा ‘अक्सफोर्ड विश्वविद्यालय’ बाट सो अध्ययन पूरा गरेकी हुन् ।

परिचय 

  • जन्ममिति : वि.सं. १९८९ साउन ३२
  • निधन : वि.सं. २०७७ असार ०६
  • जन्मस्थान : डिल्लीबजार, काठमाडौँ
  • माता : दीपकुमारी पन्त
  • पिता : पीताम्बरप्रसाद पन्त
  • शिक्षा : स्नातकोत्तर (राजनीतिशास्त्र), साहित्य र कानुनमा स्नातक तथा बार एट. ल.
  • कृति : कल्पना (कथासङ्ग्रह), क्यान्सरको वरदान, वृद्धा अवस्था : जीवनको श्रीपेच, दीक्षा,  अक्षर साधना र गोधूलि (आत्मकथा) आदि  
  • पदक/विभूषण : गोरखा दक्षिण बाहु दोस्रो, त्रिशक्तिपट्ट तेस्रो, महेन्द्र विद्याभूषण पहिलो, शुभराज्याभिषेक पदक, दीर्घसेवा पदक, रत्नश्री पदक, जगदम्बा श्री आदि 
  • विदेशभ्रमण : विश्वका अधिकांश मुलुक

समाजसेवाका क्षेत्रमा निरन्तर सक्रिय रहेकी अंगूरबाबालाई कुनै अप्ठेराले फरक पारेन ।  उमेरका कारणले होस् चाहे क्यान्सर रोगसँग जुध्नुपर्दा होस् अथवा कसैले खुट्टा तान्ने प्रयास गर्दा नै किन नहोस्, कहिल्यै उनी पछाडि परिनन् । 

त्यसैले होला, जस्तासुकै चुनौतीपूर्ण घडीमा पनि अविचलित भई सेवासाधना र अध्यात्मपथमा उनले बढाएको क्रियाशीलता अविस्मरणीय बनेको छ । आफ्नो तथा राष्ट्रको विकासका निम्ति तीनवटा तत्त्व : नैतिकबल, चारित्रिक शुद्धता र आध्यात्मिक चेतना अपरिहार्य रहेको धारणा अंगूरबाबाको थियो । 

उनका अनुसार,‘यी तत्त्व प्रत्येक क्षेत्रमा जरुरी छन् । यसैको अभावमा आज सर्वत्र विसङ्गति र विकृति बढिरहेका हुन् ।’ नेपालका विभिन्न क्षेत्रमा उनको अग्रसरता रह्यो । 

सन् १९६२ मा पद्मकन्या कलेजको प्रिन्सिपल भएकी अंगूरबाबालाई बेलायतको ‘अक्सफोर्ड विश्वविद्यालय’ मा पढ्न जाने महिलातर्फ पनि कीर्ति प्राप्त छ ।  बेलायतमा पढाइ सकेर स्वदेश फर्किएपछि अंगूरबाबा ‘प्रिन्सिपल’ का रूपमा काम गर्न थालेकी हुन् । 

‘महेन्द्र विद्याभूषण’ पाउनेमा पनि उनी कीर्तिमानी बनेकी छिन् । नेपालको संवैधानिक इतिहासमा ‘संविधान मस्यौदा आयोग’ मा सहभागी हुने पहिलो महिला सदस्य पनि अंगूरबाबा हुन् । 

नेपालको संविधान २०१९ का लागि उक्त आयोग गठन भएको थियो ।  व्यापारका माध्यमबाट अर्थोपार्जन गरी समाजसेवाको कार्य अघि बढाउने अवधारणाका सूत्रधार समेत रहेकी अंगूरबाबा ‘दिवा शिशु हेरचाह केन्द्र’ (डे केयर सेन्टर) खोल्नेतर्फ समेत पहिलो नेपाली महिला बनेकी छिन् । 

कामकाजी महिलाका छोराछोरी हेर्ने यो केन्द्र ‘नेपाल बाल सङ्गठन’ स्थापना हुनु अगावै डिल्लीबजार, काठमाडौँमा खोलिएको थियो । ‘अंगूरबाबा एक नाम, अनेक काम’ को पर्याय बनिन् । 

उनको सहभागिता विविध क्षेत्रमा रहेको पाइन्छ । आफूले हात हालेका कुनै पनि काममा इमानदारीसाथ पूर्णरूपमा समर्पित भई लाग्नु उनको विशेषता रह्यो । 

सानैदेखि रोगी थिइन्– अंगूरबाबा । जन्मिएदेखि नै ‘थ्यालिसिमिया माइनर’ रोगले पीडित थिइन् उनी । 

अरू केटाकेटी जस्ती थिइनन् । थोरै श्रम गर्दा पनि थाकिहाल्थिन् । 

दुई/तीन वर्ष बोली नै फुटेन । बिरामी भइरहने मात्र होइन, उनकै भाषामा, अलि ‘गोज्याङ्ग्री’ पनि थिइन् । 

त्यसैले सबै जना उनलाई ‘लाटी मैया’ भन्थे रे । तर त्यही लाटी पछिल्ला समयमा देश, विदेशमा चिनिने भइन् ।

अरूलाई शिक्षादीक्षा दिने, समाजसेवी एवं अनुकरणीय व्यक्तित्व बन्न सक्षम भइन् । यसमा उनलाई ठुलो गौरव लाग्थ्यो । 

आत्मिक रूपमा ज्यादै बलिई तर शारीरिक रूपमा अस्वस्थ उनीसित २०७६ सालको पुस सात गते बारम्बारको प्रयासपछि संक्षिप्त टेलिफोन वार्ता सम्भव भएको थियो । तर त्यतिखेर उनी ज्यादै अशक्त अवस्थामा थिइन् । 

सुखद कुरो, झन्डै दुई दशकपूर्व भएको भेट र लिइएको अन्तर्वार्ता उनले बिर्सिएकी रहेनछिन् । बल्लतल्ल जिज्ञासा समाधान गर्न सकेकी अंगूरबाबा अस्पतालबाट घर फर्किएको केही दिनमात्र भएको थियो । 

निकै बेरदेखि दमले दुःख दिएको अवस्थामा अरूले नाइँ नास्ति गर्दा पनि उनी आफै अघि सरी केही जानकारी दिएकी हुन् । अहिले उनको भौतिक शरीर हामीमाझ छैन । 

२०७७ असार ०६ गते उनले यो संसार छाडेकी हुन् । पछिल्ला तीन सातादेखि छातीको सङ्क्रमणबाट पीडित थिइन् । 

रक्ताल्पताकी दीर्घरोगी अंगूरबाबा कहिले ‘गलस्टोन’ त कहिले ‘अल्सर’ बाट पीडित बनिन् । सोराइसिस, आइराइटिस, अस्टो आरथ्राइटिस आदिसँग जुधेकी उनलाई ‘पेरोटिड ग्लान्ड’को क्यान्सर भयो । 

यही कारण मुख बाङ्गियो । पाँच वर्षपछि स्तन क्यान्सर देखियो । 

२०६५ सालमा मुटुको रोग भयो । तीनवर्ष अघि निमोनिया र सेप्टिसिमाले ग्रस्त पार्दा चार महिना जति थला परेकी थिइन् । 

थरीथरीका रोगले उनलाई जीवनका हरेक घडीमा बाधा तेर्स्याउन नखोजेका होइनन् । तर, उनको अटल विश्वास र अदम्य व्यक्तित्वको जति प्रशंसा गरे पनि कम हुन्छ । 

आध्यात्मिकतातर्फ उनको अटल आस्था थियो । योगानन्द गुरुदेव, खप्तडबाबा, शिवपुरी बाबा, श्यामचेतन बाबा आदिका सन्देशलाई आत्मसात् गर्दै साधनापथमा अग्रसर थिइन् उनी । अंगूरबाबा तन, मनको सुस्वास्थ्यका निम्ति सकेसम्म योगाभ्यास पनि गर्थिन् । सभ्य, सुसंस्कृत र सम्पन्न परिवारमा जन्मिएकी अंगूरबाबा जन्मका क्रमले माहिली छोरी हुन् । बाल्यकालमा तराई (सिमरा) र काशी पटक, पटक घुम्ने मौका पाएकी थिइन् ।

अंगूरबाबाको ११ वर्षको उमेरमा १२ वर्षे बलराम जोशीसित वि.सं. २००० सालको अक्षयतृतीयाका दिन विवाह भएको हो ।  प्रो.डा. बलराम जोशीकी पत्नी अंगूरबाबा पतिपत्नी सँगै एसएलसी दिने नेपाली महिलामा पनि प्रथम बनेकी छिन् । 

नवदम्पतीले वि.संं. २००४ सालमा एसएलसी दिएका थिए । त्यतिबेला उनीसित एसएलसी दिने अन्य तीन महिलामा साधनादेवी प्रधान, सहानादेवी प्रधान र भुवनराज्यलक्ष्मी (राणा) थिए ।

२००६ सालमा आई.ए. सकेर उनी श्रीमान् बलरामसँगै बनारस पढ्न गइन् । त्यहाँ महिला कलेजमा स्नातक तह सकेर उनी सन् १९५३ मा ‘बीएचयू’ (वाराणसेय हिन्दु विश्वविद्यालय) को ‘सी. एच. सी. कलेज’ मा भर्ना भइन् । 

त्यहाँ नेपालबाट पढ्न जाने उनी एकमात्र छात्रा थिइन् । उनले त्यहाँ सन् १९५४ मा एम. ए. पूरा गरिन् । 

बनारसबाट फर्किएपछि ‘पद्मकन्या कलेज’ मा पढाउन थालिन् । यसबिच उनले सन् १९५७ मा बी.एल. (कानुन स्नातक) गर्न भ्याइन् । 

त्यसबखत पटना विश्वविद्यालयको सम्बन्धनमा काठमाडौँमा ‘ल कलेज’ थियो । ‘नेपाली सांस्कृतिक प्रमण्डल’ को सदस्य भएर उनले यही बेला चीन जाने अवसर पनि प्राप्त गरेकी हुन् । 

अंगूरबाबाले कोलम्बो छात्रवृत्ति अन्तर्गत बेलायत पढ्न जाने मौका पाइन् । बलराम जोशी पनि सँगै गए ।

अंगूरबाबाले ‘बेलायती संविधान’ विषय रोजेकी थिइन् ।  मदनपुरस्कारप्राप्त बलराम ‘पीएचडी’ का लागि अलग्गै विश्वविद्यालयमा थिए । 

सन् १९५७ सेप्टेम्बरमा बेलायत पुगेकी अंगूरबाबाले त्यहाँको ‘अक्सफोर्ड विश्वविद्यालय’ बाट ‘बी. लिट.’ गरिन् । यहीबीच उनले लन्डनको ‘मिडल टेम्पल कलेज’ बाट ‘बार एट ल’ गरेकी हुन् । 

बलरामले पनि पीएचडी गरे । अंगूरबाबा स्वदेश फर्किएर २०११ सालदेखि पढाइरहेकै पद्मकन्या कलेजमा पुनः पढाउन थालिन् । 

२०१८ जेठ २५ प्रिन्सिपलका रूपमा काम थालिन् । यहीबीच, नेपाल महिला सङ्गठन काठमाडौँको अध्यक्ष समेत भएकी अंगूरबाबा राष्ट्रिय पञ्चायतको सदस्य हुन पुगिन् । 

सामुदायिक सेवा समितिको सभापति, त्रिवि सभा, आयोग र प्राज्ञिक सभामा सदस्य, नेपाल बाल सङ्गठन तथा तत्कालीन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (हाल समाज कल्याण परिषद्) को सदस्य रहेकी अंगूरबाबा २०३४ कात्तिक एक गते स्थापित तारा गाउँ विकास समितिको अध्यक्ष बनिन् । 

यो संस्था २०४९ चैत १६ गते तारागाउँ रिजेन्सी होटल लिमिटेडमा परिणत भयो । हायात इन्टरनेसनल कम्पनीबाट व्यवस्थापनको कार्य भइरहेको पृष्ठभूमिमा अंगूरबाबाको ठुलो भूमिका मानिन्छ । 

यसलाई उनले ‘तारागाउँ सांस्कृृतिक पर्यटन केन्द्र’ बताएकी छिन् । ७५ वर्षको उमेरसम्म उनले तारागाउँको अध्यक्षता सह्मालेकी थिइन् । 

२०२३ कात्तिक १९ गते ‘सनातन धर्म सेवा समिति’ की संस्थापिका सदस्य अंगूरबाबा नेपाल रेडक्रस, नेपाल स्काउट तथा उच्च शिक्षा परिषद्सँग पनि सम्बद्ध रहिन् । गुठी संस्थानको ‘विद्वत्परिषद्’ मा रहेकी उनी ‘नेपाली शिक्षा परिषद्’ मा मानार्थ सदस्य भइन् ।

उनी ‘हिन्दु विद्यापीठ’ सँग पनि आबद्ध थिइन् । लैङ्गिक समानतासम्बन्धी परियोजनामा सक्रिय थिइन् उनी । 

उनले २०६७ सालमा ‘गार्गी कन्या गुरुकुल’ स्थापना गरिन् । उनकै भनाइमा ‘यो नेपालको पहिलो कन्या गुरुकुल हो ।’ 

 मैनाबहादुर पुरस्कार प्रतिष्ठान तथा डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानको अध्यक्षता सह्मालेकी थिइन् उनले । अंगूरबाबाले डा. बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार, श्री दीपकुमारी पीताम्बरप्रसाद पन्त समाजसेवा कोष, श्री चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा कोष, वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त पुरस्कार पनि स्थापना गरेकी छिन् ।  २०५० सालमा उनका पतिको निधन भएको हो । 

सन्तानतर्फ एक छोरा किरणराज जोशी र छोरीतिर ज्योति शेरचन तथा प्रभा रिजाल छन् ।

उनी नेपालको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा पुगिन् । महिला चेतना विस्तार तथा आध्यात्मिक एवं सामाजिक जागरणमा अंगूरबाबाको विशेष योगदान छ । पद, पैसा, पावर र प्रतिष्ठाको घिनलाग्दो दौडमा पनि अघि बढ्नसक्नुका पछाडि परमात्माको आशीर्वाद र आफ्नो नैतिक बल, सत्य, निष्ठामा अड्ने बानीलाई उनी जस दिन्थिन् । प्रथम नेपाली महिला ‘बार एट ल’ अंगूरबाबाले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया