शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण

आइतबार, २२ असार २०८२, २३ : ०३
आइतबार, २२ असार २०८२

सारांश

  • यमनको हूथी समूहले इजरायलमाथि हाइपरसोनिक ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
  • इजरायली रक्षा प्रणालीले मिसाइल रोकेको र आक्रमणले हवाई यातायातमा अस्थायी अवरोध आएको बताइएको छ।
  • हूथीहरूले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै नोभेम्बर २०२३ देखि इजरायलमाथि आक्रमण गर्दै आएका छन्।

सना । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको छ । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ ।

हूथीहरू यमनको उत्तर भागमा सक्रिय एउटा सशस्त्र समूह हुन् । उनीहरूको धार्मिक आधार जÞैदी शाखासँग जोडिएको छ र उनीहरूले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताको लागि संघर्ष गर्दै आएका छन् ।

सन् २०१४ देखि उनीहरूले यमनको राजधानी साना र अन्य धेरै भागहरू नियन्त्रणमा लिएर सरकारविरुद्ध विद्रोह गरेका छन् । यो समूहले प्यालेस्टिनीहरूको समर्थन गर्दै इजरायलमाथि पनि आक्रमणहरू गरेको छ । यमनमा साउदी अरेबिया नेतृत्वमा गठित गठबन्धनले हूथीहरूलाई परास्त गर्न सैन्य हस्तक्षेप गरेको छ, जसले यमनमा लामो गृहयुद्ध र गम्भीर मानवीय संकट निम्त्याएको छ ।

हूथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीमा प्रसारित वक्तव्यमा, हूथी सेनाका प्रवक्ता याह्या सारियाले उक्त मिसाइल इजरायलको बेन गुरियन विमानस्थल लक्षित गरिएको जानकारी दिएका छन् ।

उनले आक्रमणले अस्थायी रूपमा इजरायलमा हवाई यातायातमा अवरोध आएको र मानिसहरू सुरक्षाको लागि आश्रय स्थलहरूमा गएको उल्लेख गरे ।

यसअघि, शनिबार इजरायल र हमासबीच कतारमा बन्धकहरू र युद्धविराम सम्बन्धी वार्ता पुनः सुरु गर्ने सहमति भएको थियो । नोभेम्बर २०२३ देखि हूथीहरूले इजरायलमाथि आक्रमण गर्दै आएका छन् र गाजा संकटमा प्यालेस्टिनीहरूप्रति समर्थन जनाउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप