भैरव अर्यालका छोरा त्रिविका नयाँ उपकुलपति
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर दीपक अर्याललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका छन्।
- अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख हुन्, र उनी हास्यव्यंग्यकार भैरव अर्यालका छोरा हुन्।
- अर्यालसँग लामो प्राज्ञिक अनुभव, अनुसन्धानमा योगदान, र प्रशासनिक क्षमता रहेको छ, र उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेका छन्।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिवि जल तथा मौसम केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख रहेको अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
अर्याल चर्चित हास्यव्यंगकार एवं साहित्यकार स्व. भैरव अर्यालका जेठा छोरा हुन् । उनी २०५२ सालमा त्रिवि प्रवेश गरेका थिए । सेवा प्रवेश गरेदेखि नै उनी लगातार जल तथा मौसम विज्ञान केन्द्रीय विभाग मै कार्यरत छन् ।
उनीसँग लामो प्राज्ञिक अनुभव, अनुसन्धानमा विशिष्ट योगदान र प्रशासनिक दक्षताका आधार छ । सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयमा शिक्षण सहायकबाट आफ्नो प्राज्ञिक यात्रा सुरु गरेका अर्यालले करिब तीन दशकदेखि निरन्तर यसै विश्वविद्यालयमा सेवा गर्दै आएका छन् । उनले सहायक प्राध्यापक, सह–प्राध्यापक हुँदै सन् २०१९ मा प्राध्यापक पदमा बढुवा भएका थिए । सन् २०१६ देखि २०२४ सम्म उनले जल तथा मौसम विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
अर्याल आफ्नो शैक्षिक जीवनमा सधैँ अब्बल रहेको थियो । उनले सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञानमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए । जसले गर्दा उनले तत्कालीन राजाबाट महेन्द्र विद्या भूषण ‘ख’ पदक प्राप्त गरेका थिए ।
जापान सरकारको प्रतिष्ठित मोन्बुशो छात्रवृत्ति अन्तर्गत सन् २००० मा जापानको नागोया विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञानमा स्नातकोत्तर गरेका थिए । पछि उनले त्रिभुवन विश्वविद्यालयबाटै सन् २०१६ मा मौसम विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरेका थिए । जसका लागि उनलाई नेपाल सरकारले राष्ट्रपतिबाट नेपाल विद्या भूषण ‘क’ पदकद्वारा सम्मान गरेको थियो ।
अनुसन्धान र अन्तर्राष्ट्रिय पहिचान
एक प्रतिष्ठित जलवायुविद्का रूपमा चिनिँदै आएका अर्यालको विशेषज्ञता विशेष गरी चरम मौसमी घटना, वायु प्रदूषणको गतिशीलता र पर्वतीय क्षेत्रको मौसम प्रणालीमा केन्द्रित छ । उनका ३५ भन्दा बढी शोधपत्रहरू प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।
उनको अनुसन्धान र प्राज्ञिक योगदानको कदर गर्दै नेपाल सरकारले सन् २०२१ मा उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राज्ञमा मनोनीत गरेको थियो ।
अर्यालले विश्वका ख्यातिप्राप्त संस्थाहरूसँग मिलेर महत्त्वपूर्ण अनुसन्धान परियोजनाहरूमा नेतृत्वदायी भूमिका खेलेका छन् । उनी नेशनल जियोग्राफिक सोसाइटी, रोलेक्स र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा विश्वकै सबैभन्दा अग्लो स्थान (८८०० मिटरसम्म) मा स्वचालित मौसम केन्द्रहरूको सञ्जाल स्थापना गर्ने टोलीका प्रमुख सदस्य रहेका थिए । त्यो बाहेक उनले फ्रान्सको IRD संस्थासँगको सहकार्यमा मेरा ग्लेशियरको निरन्तर अनुगमन गर्ने कार्यको नेतृत्व गरिरहेका छन् ।
आफ्नो आठ वर्षे विभागीय प्रमुखको कार्यकालमा प्रा.डा. अर्यालले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै पहलमा विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गरेको थियो ।
उनले अमेरिकाको युटाह स्टेट युनिभर्सिटी, क्यानडाको युनिभर्सिटी अफ सास्काचेवान, इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभलपमेन्ट जस्ता दर्जनौँ अन्तर्राष्ट्रिय संस्थाहरूसँग समझदारी पत्र मा हस्ताक्षर गराई सहकार्यको ढोका खोलेका थिए । उनले विभागबाट ‘जलवायु’ नामक जर्नलको स्थापना गरी प्रधान सम्पादकको भूमिका पनि निर्वाह गरेका थिए ।
डा. अर्यालले दर्जनौँ विद्यावारिधि र २० भन्दा बढी स्नातकोत्तर तहका शोधार्थीहरूलाई शोध निर्देशकका रूपमा मार्गदर्शन गरेका छन् ।
उपकुलपतिका लागि उनीसँगै शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्राडा खड्क केसी र प्रा.डा बिनिल अर्यालको नाम सिफारिसमा परेको थियो । ती मध्ये अर्याललाई उपकुलपतिमा नियुक्त गरेमा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण