बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
त्रिविमा विद्यार्थी आन्दोलन

त्रिविमा उपकुलपति नियुक्ति भएकै दिनदेखि नेविसंघ र अखिल (क्रान्तिकारी) विरोधमा उत्रिए

बिहीबार, २६ असार २०८२, १४ : ४२
बिहीबार, २६ असार २०८२

सारांश

  • त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले पदभार ग्रहण गर्दा विद्यार्थी संगठनले विरोध जनाए।
  • माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उपकुलपतिको नेमप्लेट फ्याँके, फास्ट ट्र्याक नियुक्तिमा विरोध जनाए।
  • नेविसंघले समेत मेरिटोक्रेसी मिचिएको भन्दै आपत्ति जनायो, भिजन पेपर सार्वजनिक गरेपछि मात्रै काम गर्न दिने बताए।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्याल बुधबार कार्यभार सम्हाल्न पुगे । उपकुलपति कार्यालयमा पुगेर उनी कार्यभार सम्हाल्नै लाग्दा बाहिर विद्यार्थीहरूको भिडभाड बढिसकेको थियो ।

भित्र कार्यभार ग्रहणको कार्यक्रम चलिरहेको थियो भने बाहिर विद्यार्थी भिडभाड आक्रोशित बन्दै थियो । माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) नेता कार्यकर्ताले नवनियुक्त उपकुलपतिसँग छलफल गर्न पाउनुपर्ने माग राखेको थियो ।

उपकुलपतिको सचिवालयबाट छलफलका लागि केही समय दिन सकिने बताएको थियो । तर, प्रहरीले सुरक्षाको कारण देखाउँदै कार्यकक्षमा लगेर पदभार ग्रहण गराएर बाहिर लग्यो । भित्र पदभार ग्रहण चरिहेकै बेला क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरूले उपकुलपतिको नेमप्लेट फालिदिए । 

उपकुलपतिलाई बाहिर लगिसकेपछि कुर्सी समेत अर्को ठाउँमा लगे राखिदिए । भित्र पदभार ग्रहणको कार्यक्रम चलिरहेका बेला बाहिर भने उनको नेमप्लेट नै फालिसकिएको थियो ।  अखिल क्रान्तिकारी त्रिवि कार्यवाहक अध्यक्ष शिवराज भट्टले मेरिटोक्रेसीलाई मिच्दै राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति भएकोमा विरोध जनाएको बताए । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा मेरिटोक्रेसीमार्फत उपकुलपति नियुक्ति गर्ने प्रचलन अघि बढेको बताउँदै त्यसलाई हटाएर राजनीतिक भागबन्डामा गर्न थालिएको बताए । 

क्रान्तिकारीले यसअघि नै त्रिविका पदाधिकारीहरूलाई त्रिविमा प्रवेश निषेध गरेको छ । त्रिवि सेवा आयोगले फास्ट ट्र्याकमार्फत प्रोफेसरहरूको नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । लिखित परीक्षाबिना नै अन्तर्वार्ताको आधारमा १३० जना प्रोफेसरहरूको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । क्रान्तिकारीले फास्ट ट्र्याक खारेज गर्नुपर्ने माग गर्दै आएको छ । सोही अनुसार पदाधिकारीहरूलाई प्रवेश निषेध गरेको थियो । 

क्रान्तिकारीले अहिले फास्ट ट्र्याकमार्फत हुन लागेको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएको छ । ‘हिजो हामीले १० मिनेट जति समय मागेका थियौँ । फास्ट ट्र्याकमार्फत नियुक्त गर्न लागिएको प्रोफेसरको विज्ञापन खारेज गर्छौ भन्ने प्रतिबद्धता आएपछि हामी केही गर्दैनौँ,’ भट्टले भने । 

प्रचण्ड प्रधानमन्त्री भएको बेला मेरिटोक्रेसीको सुरुवात गरेको तर, अहिले आएर त्यसलाई भङ्ग गरेर राजनीतिक नियुक्ति थालिएको उनको भनाई छ । त्यही फास्ट ट्र्याकको विज्ञापनलाई कार्यान्वयन गर्नकै लागि अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको क्रान्तिकारीको आरोप छ । 

भिजन पेपर सार्वजनिक गरेर मात्रै काम गर्न दिन्छौँ : नेविसंघ 

नेविसंघले समेत मेरिटोक्रेसी मिचिएको भन्दै आपत्ति जनाएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै त्रिविमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्नेमा सिफारिसको भरमा नियुक्ति गरिएको आपत्ति जनाएका छन् । 

‘देशभरका क्याम्पसहरूमा छात्रछात्राले मेरिटोक्रेसी प्रणालीको समर्थन गरिरहेकै बेला प्रधानमन्त्री तथा कुलपति ज्यूले सिफारिसको भरमा उपकुलपति नियुक्त गर्नु निन्दनीय छ । उपकुलपति नियुक्त हुनु आश्चर्यजनक छ । विश्वविद्यालयको सुधारमा कुलपति, सहकुलपतिको सकारात्मक भूमिकाको अपेक्षा राखिएको समयमा उनीहरूको ध्यान आफ्नो नियन्त्रण कायम गर्नमा मात्र देखिनु दुःखद विषय हो,’ विज्ञप्तिमा उल्लेख छ । 

नेविसंघ त्रिवि समितिले समेत सिफारिस प्रणालीमार्फत गरिएको उपकुलपति नियुक्ति गरिएको आपत्ति जनाएको छ । त्रिवि समिति सभापति विष्णु बडैलाले समेत विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गर्नु गम्भीर आपत्तिको विषय भएको बताए । 

कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । यस्तो नियुक्तिले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक संस्था नभई राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति गराएको बताए । 

सिफारिसको भरमा गरिने राजनीतिक नियुक्तिहरूलाई नेविसंघले पूर्णतः अस्वीकार गर्ने बताए ।  अध्यक्ष बडैलाले अब भिजन पेपर सार्वजनिक गरेपछि मात्रै उपकुलपति अर्याललाई कार्यालयमा प्रवेश गर्न दिने बताए । 

‘उहाँले भिजन पेपर सार्वजनिक गरेपछि मात्रै काम गर्न दिन्छौँ । विगतमा यसअघि नै भिजन पेपर सार्वजनिक गरेर नै काम गर्दै आउनुभएको थियो । यो पटक भने सिधै राजनीतिक नियुक्ति भएकाले भिजन पेपर सार्वजनिक गरेपछि मात्रै काम गर्न दिने हो,’ सभापति बडैलाले भने ।    

नेविसंघ र अखिल क्रान्तिकारीले विरोध जनाए पनि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले कुनै प्रकारको विरोध जनाएको छ । अहिले उपकुलपति अर्यालको पक्षमा अनेरास्ववियुका नेता कार्यकर्ता उभिएका छन् । उपकुलपतिमा नियुक्त भएका अर्याल एमालेप्रति आस्थावान हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप