बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जसपा नेपाल र नाउपालाई कांग्रेसले सरकारबाट बाहिरिन रोक्दै !

शुक्रबार, २७ असार २०८२, १९ : ५९
शुक्रबार, २७ असार २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टी र जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि कांग्रेसले उनीहरूलाई फकाउन थालेको छ।
  • नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरिएपछि पार्टीले केन्द्र र प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको हो।
  • कांग्रेसले जसपा नेपाललाई समर्थन फिर्ताको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ भने दुवै दलसँग निरन्तर संवाद गरिरहेको छ।

काठमाडौँ । सरकारप्रतिको समर्थन फिर्ता लिएका नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाललाई सत्ता साझेदार दल नेपाली कांग्रेसले फकाउन थालेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेश तथा संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र आफ्ना मन्त्रीसमेत फिर्ता बोलाइसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । सोही घटनापछि नागरिक उन्मुक्ति पार्टीले प्रदेशदेखि केन्द्रसम्मका सरकारबाट समर्थन फिर्ता लिएको छ ।

संघीय सरकारमा अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । उनलाई पार्टीले सरकारबाट राजीनामा दिन निर्देशन दिइसकेको छ । यद्यपि राज्यमन्त्री चौधरी अझै सरकारबाट बाहिरिएका छैनन् । सरकारप्रतिको समर्थन फिर्ता लिएर नागरिक उन्मुक्ति पार्टी संसदको विपक्षी बेन्चमा बस्न थालेको छ ।

यता, जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरे पनि हालसम्म संसदीय दलबाट त्यसबारे औपचारिक निर्णय गरेको छैन । असार ८ गते कार्यकारिणी समितिको बैठकमार्फत जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो । यद्यपि उक्त निर्णयलाई संसदीय दलमार्फत औपचारिकता दिने भनिएको थियो । यद्यपि हालसम्म संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

यी दुवै दललाई पछिल्लो समय नेपाली कांग्रेसले फकाइरहेको स्रोत बताउँछ । असार २२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग बर्दियामा भेटेका थिए । उनले सरकारप्रतिको समर्थनलाई निरन्तरता दिन चौधरीसमक्ष आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहले रेशम चौधरीसँग छलफल गर्नुअघि पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको बारेमा सभापति देउवासँग सल्लाह गरेर नै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीसँग भेटेका थिए ।

मुख्यमन्त्री शाहसँग छलफल गरिसकेपछि संरक्षक चौधरीले असार २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरे । प्रधानमन्त्री अ‍ोलीले पनि सरकारबाट समर्थन फिर्ता नलिन आग्रह गरिएको बुझिएको छ ।

त्यसपछि असार २५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि संरक्षक चौधरीले भेटेका छन् । सभापति देउवाले पनि चौधरीलाई समर्थन फिर्ता लिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी पुनः सरकारमा फर्किने विश्वास आफूलाई लागेको बताए । नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग कुराकानी चलिरहेको जानकारी दिँदै उनले सरकारमा फर्किने सम्भावना रहेको बताए ।

तर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा फर्किने विषयमा कुनै दलसँग कुराकानी नभएको बताइन् । सरकारबाट समर्थन फिर्ता लिएर विपक्षमा बस्न थालिएको अवस्थामा तत्कालै सरकारमा फर्किने कुरा सम्भव नरहेको उनको भनाइ थियो ।

यता, कांग्रेसले जसपा नेपालसँग पनि निरन्तर संवाद गरिरहेको छ । सत्ता गठबन्धनका प्रमुख घटक दल कांग्रेसका नेताहरूले जसपा नेपाललाई समर्थन फिर्ता सम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

यो विषयलाई लिएर कांग्रेसका सभापति देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच पटकपटक छलफल भएको छ । सरकारबाट समर्थन फिर्ता नलिन कांग्रेसले आग्रह गरेकै कारण जसपा नेपालको संसदीय दलले अहिलेसम्म पनि सरकारबाट समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकता दिन नसकेको स्रोत बताउँछ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारबाट समर्थन फिर्ता लिने निर्णय पार्टीले गरिसकेको अवस्थामा ‘किन्तु परन्तु’को विषय नरहेको बताए । ‘कुनै प्राविधिक कारणले संसदीय दलबाट निर्णय हुन ढिलो भइरहेको होला, त्यो बेग्लै हो,’ उनले भने, ‘तर सरकारप्रति जसपा नेपालको समर्थन छैन । हामीले समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ ।’

यो विषयमा कांग्रेससँग कुनै आधिकारिक कुराकानी नभएको प्रवक्ता सुमनले बताए । जसपा नेपालका कुनै नेताले कांग्रेसका नेताहरूसँग अनौपचारिक भेटघाट गरेको भए त्यो समान्य कुरा हुने तर सरकारको विषयमा कुनै कुराकानी नभएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप