ताली, ताल र बेताल
सस्याना नानीहरूको औधी रमाइलो खेल हो ताराबाजी लै लै । ताराबाजी नानीहरूका मन र ज्यानलाई तालिम दिने मनोरञ्जक जुक्ति हो । उसो त यो नानीहरू र तिनका वयस्क आफन्तहरूमाझ माया ओहोर–दोहोर गर्ने साँघु पनि हो ।
बिरल संयोगले कुपोषण र बालव्याधीको खड्गो काटेर अलि दिन बाँच्न पाएका हामीलाई थाहा छ, ताराबाजी छिप्पिएपछि ताली बन्छ । तालीका ताराबाजीका झैँ गुनैगुन मात्र छैनन् । तालीको ताल र सुर मिलाउन नजान्दा जीवनको ताल बेताल हुन्छ । जब ताल बेलात हुन्छ, तालुमा आलु होइन, फल्छ डरलाग्दो भालु ।
जहानियाँ राणाशासनमा रैतीलाई चित्तका कुरा खोल्ने हक त थिएन नै, ताली बजाउने हक पनि थिएन । ताली बजाउन नपाउँदाको एउटा कथा इतिहासको पातोमा क्रोधका अक्षरले लेखिएको छ । धर्मभक्त माथेमा रहेछन् नामी पहलमान । उनको पहलमानीबारे जुद्ध शमशेरलाई बिन्ती चढाएर आफ्नो दुनो सोझ्याउन एउटा छटेल चाटुकारलाई रहर लागेछ । चाटुले जुद्धका पाउमा मुन्टो निहुराएर बिन्ती चढाएछ— ‘महाराज श्री ३ प्रभु ! ख्वामित्को प्रतापी राजमा धर्मभक्त नाउँको एउटा जण्ड पहलमान छ । त्यसको बल र कौशल महाराजका रोहबरमा रैतीलाई देखाउन पाए प्रभुको कीर्ति त बढ्ने छ नै, चरणको यस दासलाई जीवनमा केही गरें भनी खुसी पनि लाग्ने छ ।’
प्रभु नाउँको पाजीलाई सेवक नाउँको चाटुको बिन्ती घत परेछ । नेपाल खाल्डोका तिनै सहरका रैतीलाई भेडा–बाख्रासरह लखेट्दै टुँडिखेलमा भेला पारिएछ । जुद्ध र रैतीहरूका सामु धर्मभक्तले बल र कौशलको चमत्कार देखाएछन् । जङ्गी बुट लगाएका सिपाहीले धर्मभक्तका छातीमा दुरुम्–दुरुम् परेड खेले, धर्मभक्त भने शान्त भावमा उत्तानो परेका पर्यै । हात्तीद्वारा धर्मभक्तको छाती कुल्चाइयो, धर्म भने तैपनि मस्कुराएका मुस्कुरायै । मानौँ उनका छातीमा हात्तीले होइन, कपासले कुल्चिएको हो । त्यो चमत्कार देखेर रमितेका चकित चित्तमा आनन्दका सहस्र द्वार खुलेछन् । धर्मभक्तको बखान गर्न उनीहरूलाई हर्षबडाइँका साथ ताली बजाउन मन लाग्यो । तर त्यस जङ्गली जमानामा रैतीलाई आफूखुसी ताली बजाउन पनि मनाही थियो । रमितेहरूले त उल्टै अत्याचारी जुद्धको जयजयकार गर्दै ताली ठोक्नु पो पर्यो ।
गर्दै भन्दै जाँदा काम गर्ने कालु मकै खाने भालु भनेझैँ पो भयो । निरङ्कुश राजाको दासत्वयुक्त जयगान गर्न बानी परेका हुस्सु जनताले घाँटी फुलाइफुलाई राजाको जयगान गर्दै ताली पिटिरहे । यसरी तालीको ताल बेताल हुँदा जनताका तालुमा फेरि पनि भालु नै फल्यो ।
सज्जनको बखान गर्न नपाइने र करकापमा परी दुर्जनको जयगान गर्नुपर्ने— त्यस्तो थियो त्यो जङ्गली जमाना । पछि तिनै धर्मभक्तहरूले देश–दुनियाँका लागि ज्यान अर्पण गर्दा अत्याचारी राणाशासन ढल्यो । र, हामी रैतीले बेरोकटोक ताली बजाउन पायौँ । तर के लाग्छ, निरङ्कुश राजा उपद्रै बाठा थिए । हामी रैती थियौँ साह्रै लाटा । बाठा राजाका हातमा बन्दुके हैकमको बागडोर त थियो नै, मुलुकभरिको धन–दौलतमा एकलौटी हक पनि थियो । बन्दुके हैकमको लगाम र धनको धाकको बलले राजाले ताली खाने एकलौटी हक फेरि आफ्नो कन्जुस थैलोमा खुत्रुक्क खसाले । राणाशासन ढाल्न जनताका कति छोराछोरीले कारागारको कष्ट काटेथे, कतिले चारपाटा मुडिएर अपमानको हुर्मत खपेथे । कति सर्वस्व हरिएर हरिकङ्गाल भएथे, कतिले कोर्राको स्वाद चाखेथे । कति मुङलान भासिएथे, कतिले त एकबारको ज्यानै अर्पण गरेथे । तैपनि जनताका कष्ट र बलिदानको फल खाने बेलामा एक नम्बरमा परे उनै निरङ्कुश राजा ।
गर्दै भन्दै जाँदा काम गर्ने कालु मकै खाने भालु भनेझैँ पो भयो । निरङ्कुश राजाको दासत्वयुक्त जयगान गर्न बानी परेका हुस्सु जनताले घाँटी फुलाइफुलाई राजाको जयगान गर्दै ताली पिटिरहे । यसरी तालीको ताल बेताल हुँदा जनताका तालुमा फेरि पनि भालु नै फल्यो । दुःखको कुरा, हाम्रा पुर्खाको बेहोसीले गर्दा हामीले आजसम्म तालतालका भालुहरूको हैकम झेल्नु परिरहेछ ।
हामीले शाही निर्दलीय कालभरि आफ्नै भाग्यविरुद्ध ताली ठोकिरह्यौँ । सहर–बजारमा राजाको बढाइँ गर्न हामीले ताली ठोक्यौँ । गाउँघरमा मन्त्री, पञ्च र जालीफटाहाको तामस बढाइदिन हामीले ताली ठोक्यौँ । सहरमा राजाको र गाउँघरमा ठालुहरूको सवारी हुँदा बाटाघाटामा रातारात कुचो लगाइन्थ्यो, चुना–पालिस घसिन्थ्यो । बाटोका दायाँबायाँँँ तुल–तोरण टाँगेर हुँदो न खाँदोको नखरा पारिन्थ्यो । झुत्रेझाम्रे र मगन्तेहरूलाई कुनातिर मुन्ट्याइन्थ्यो । हामीले बाटाका दुई किनारमा मुन्टा निहुराएर मूर्तिवत् खडा हुनुपथ्र्यो । बस्तीभरिको जिउँदोपन र सान एवं शालीनता र गरिमा राजा र ठालुहरूलाई एकलौटी चढाएर हामीले चटकका मूर्ख तमासेहरूझैँ सयौैँ वर्षदेखि अटुट ताली पड्काएका छौँ । र, आफ्नै भाग्य र भविष्यविरुद्ध हामीले नारा लगाएका छौँ— ‘दीनदयालु प्रभुको जय होस् !’
कति उदेकलाग्दो कुरा हो यो ! आफ्नै शिरमाथि गिर खेल्नेहरूको जयगान गर्नु भनेको आफ्नो चाहिँ नाश होओस् भनी कामना गर्नु होइन र ?
निरङ्कुश राजा र ठालुहरूको सवारी हुँदा ताली नठोके हामीले कम्तीमा गाली खानुपथ्र्यो, बढीमा गोली । ताली ठोक्न नामन्जुर गर्ने वीरहरू यस बस्तीमा नजन्मिएका होइनन् । दुःखको कुरा, कति वीरहरू अत्याचारी हुकुमलाई एक्लाएक्लै हाँक दिन खोज्दा जङ्गलका एकान्त कुना वा खोलाका सुनसान बगरमा औँसीका अँध्यारा रातमा मारिए । कति वीरहरूचाहिँ चुसिएका र हेपिएका दुःखी जनका धुकधुकीभित्र पस्न नसक्दा पानी विनाका माछाझैँ एक्लाएक्लै मडारिँदै मासिए । कति वीरहरूचाहिँ आफ्नो आँगनमा उभिएर आफ्नै दिमागले सोच्नुको सट्टा पराई मुलुकका वीरहरूको बुद्धिलाई आफ्नो बुद्धि ठान्ने बिराम गर्दा यात्राको बीचैमा बरालिए । अनि कति वीरहरू चाहिँ यात्राकोे उकाली उक्लिन थाल्दा नथाल्दै थाकेर आफ्नै स्वार्थको झुत्रे झोलीमा बिलाए । त्यसैले त सज्जनको बद्ख्वाइँ र दुर्जनको बखान गर्नुपर्ने सरुवा रोगको पिण्ड हामीले कहिल्यै छुटाउन सकेनौँ । नाबालक छँदा हामीलाई ताराबाजी लै लैको खेल खेल्न सिकाइयो । ठूला भएपछि आफ्नै भाग्य र भविष्यविरुद्ध ताली ठोक्ने तालिम दिइयो । गम्नुस्त, आफ्नै विरुद्ध ताली बजाएर कहिल्यै नथाक्ने हामी कति हुतिहारा हौँ !
पोहोर–पराहारको जनआन्दोलन सम्झँदा मेरो उदास मनमा अलिकता आशा पलाउँछ । त्यस आन्दोलनमा राम्रा कुरा अनेक हुँदा हुन् तर मैले कहिल्यै नबिर्सने अब्बल दर्जाको कुरो भने एउटै छ । त्यो हो आन्दोलनमा जुटेका जनताले दुर्जनहरूको जयगान गर्न नामन्जुर गरे । र निरङ्कुश राजा र ठालुहरूका मुखेन्जी मुन्टो निहुराएर आफ्नै भाग्य र भविष्यविरुद्ध ताली ठोक्न तिनले गरे हाक्काहाक्की अस्वीकार ।
हेर्नुस्त, गाली र गोलीसँग नडराउने वीर जनताको त्यो कत्रो पराक्रम ! पराक्रमी जनताले ताली बजाउन इन्कार मात्र गरेनन्, आफू र आफ्ना सन्तान–दरसन्तानलाई कमारा बनाएर कजाउन खोज्ने राजा महेन्द्रका सालिकका गालामा जुत्ताका तलुवाका डाम पनि बसाले । म त भन्छु, हाम्रा अगुवा भनेका तिनै वीर हुन् । हाम्रा सन्तानलाई दुर्जनहरूका मुखेन्जी शिर ननिहुराईकन इज्जतसाथ जिउन पाइने समाजको थिति बसाउने हो भने हामीले हिँड्नुपर्ने जीवनको मूल बाटो त्यही हो । वीरहरूको बलिदानले रेखाङ्कन गरेको गौरवशाली त्यो बाटो ।
जनआन्दोलनको हुरीले गाउँ–घरमा पनि अलिकता उमङ्ग र जोस जगाएको खबर मैले कतै छापामा पढेँथेँ । गाउँ–घरका ब्युँझेका जनताले कपटी पञ्च र जाली ठालुहरूको बढाइँ गर्न नामन्जुर गरे । स्वादको कुरा त के भने चुसिएका र हेपिएका जनताले पञ्च नाउँका पाजीहरूलाई कतै घोडाबाट ओरालेर घुँडा टेकाए, जीवनको सुख एकलौटी लुट्न र रवाफ गर्न पल्किएका कतिपय एकाधिकारी ठालुलाई तिनकै भरियाले तिनकै सामानको डोको बोकाएर गाउँको सेरोफरो घुमाए । कतै तिनलाई अलिकता आलो गोबर चखाए । कतै छटेल पञ्चका पुठामा टिनका ट्याप्रा झुन्ड्याए । कतै तिनका घाँटीमा दाम्ला बाँधेर केटाकेटीका दिल बहलाउन तिनलाई यताउति सयर गराए । जहाँ जे भयो, म त भन्छु, त्यो गजपै भयो । कल्पना गर्नुस्त ! गाली र गोलीसँग नडराउने जनताको त्यो कत्रो पराक्रम !
धर्मभक्त माथेमा रहेछन् नामी पहलमान । उनको पहलमानीबारे जुद्ध शमशेरलाई बिन्ती चढाएर आफ्नो दुनो सोझ्याउन एउटा छटेल चाटुकारलाई लाग्नु रहर लागेछ । चाटुकारले जुद्धका पाउमा मुन्टो निहुराएर बिन्ती चढाएछ— ‘महाराज श्री ३ प्रभु ! ख्वामित्को प्रतापी राजमा धर्मभक्त नाउँको एउटा जण्ड पहलमान छ ।
फेरि पनि म भन्छु, हाम्रा अगुवा भनेका तिनै वीर हुन् । र दुर्जनहरूका मुखेन्जी शिर ठाडा पारेर इज्जतसाथ जिउन पाइने समाजको थिति बसाउन हामी हिँड्ने जीवनको मूल बाटो त्यही हो— वीरहरू हिँडेको त्यो बाटो ।
अलि दिनअघिको कुरा हो । काम, माम, सुरक्षा र इज्जतको आकांक्षा राख्ने जनालाई तिनै हुस्सु जनले चुनेको सरकारले गोलीले ढाल्दा हाम्रा इन्साफप्रेमी कवि–कलाकारहरू क्रूद्ध भए । वीरहरूको बलिदानको गौरवगान र खुनी सत्ताको भर्त्सना गर्न टुँडिखेल सहिद मञ्चमा जागरण कार्यक्रमको आयोजना भयो । कार्यक्रममा एक जना कविले छलकारी कविता वाचन गरे । कविताको सार थियो— सरकारले केटाकेटीहरूलाई छलेर उमेर पुगेकालाई गोली हाने पनि केही छैन । तर केटाकेटीलाई गोली हान्नु बेमुनासिब हो । कविको उदेकको मनसाय बुझ्न नसकेर म लाटो भने झस्केँ । भेला भएका वयस्क श्रोताहरूले आफ्नो हत्यालाई उचित ठहर्याउने कविता सुनेर ताली बजाएको सुन्दा त मेरी बास्सै ! मलाई आफ्नै मथिङ्गलमा बम विस्फोट भएझैँ पो लाग्योे । विस्मतको मुद्रामा मैले गम खाएँ— असल र खराब कुरा छुट्ट्याउने मिहीन चेतको हामीभित्र उदय नहुन्जेल ताली बजाउन पाउने हक पनि व्यर्थ हुँदो रहेछ । हेर्नुस्त ! आफ्नै हत्याको पक्षमा आफैंले ताली बजाउनु कति डरलाग्दो कुरा हो !
चाप्पुलीयुक्त नखराबाट बहकिने हामी हुस्सुहरूको तालीलाई दसी बनाएर ती कविले पछि दाबी गरे— मेरो कविता सरासर इन्साफको पक्षमा छ । उनले भने, ‘नत्रभने हजारौँ तालीको समर्थनले मेरो कवितालाई किन अनुमोदन गर्यो त ?’ कविको त्यो बोलीमा निरङ्कुश राजा बोलेझैँ लाग्यो मलाई । अहो ! गाली र गोलीको डरले हामीले बजाएका तालीलाई आफ्नो लोकप्रियताको सबुत बनाएर कति राजाले हाम्रो भाग्यको शिरमाथि गिर खेले— अतीततिर फर्केर हिसाब गरे हुन्छ ।
केटाकेटीलाई छलेर उमेर पुगेकालाई मारे हुन्छ भन्नु हाम्रो वर्तमान र भविष्य दुवैको हत्या गर्न तम्सिनु हो । वयस्क आमाबाबु मारिँदा केटाकेटी टुहुरा र निर्धा हुनेछन् । निर्धा नानीबाबुले गर्न सक्ने जम्मा कुरा हो— ठालुहरूका मुखेन्जी मुन्टा निहुराएर ताली पिट्नु । यसरी हाम्रो वर्तमानको हत्या हुनेछ । हुर्किसकेका आन्दोलनकारी मारिँदा हाम्रो भविष्य अन्धकार हुनेछ । यसरी हाम्रा नानीबाबुहरूको भविष्यको पनि हत्या हुनेछ ।
ठालु र तिनका धुपौरेहरू निरङ्कुश दरबार र हबेलीमा मात्र हुन्छन् भन्ने केही छैन । ती त हाम्रै माझमा, हाम्रैजस्तो भेषमा, हाम्रैजस्तो भाषा बोलिरहेका हुन पनि सक्छन् । स्वतन्त्र जीवनको पक्षमा उभिने हो भने आँखा खोल्नुपर्छ र आफ्नै हत्याको समर्थनमा ताली बजाउन हामीले छाड्नैपर्छ । शिर निहुराएर ठालुहरूको जयगान गर्न ताली बजाइरहने हो भने हाम्रो दुःखमा आँसु चुहाउन कसैलाई फुर्सद हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण