बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

शनिबार, २८ असार २०८२, १३ : ४८
शनिबार, २८ असार २०८२

सारांश

  • ललितपुरको रेस्टुरेन्टमा २०६० मा भएको कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ परे।
  • प्रहरीले तेह्रथुमका विजयकुमार फोम्बो (लिम्बु) लाई काठमाडौँबाट पक्राउ गरेको हो, जो घटनापछि लुकिछिपी बसिरहेका थिए।
  • २०६० साल कात्तिकमा टाइटानिक रेस्टुरेन्टमा देउसी भैलो खेलिरहेका बेला भएको घटनामा नोरबहादुर राउतको मृत्यु भएको थियो।

ललितपुर। २०६० सालमा ललितपुरको एक रेस्टुरेन्टमा भएको कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले तेह्रथुम स्थायी घर भई हाल काठमाडौँमा लुकिछिपी बसिरहेका ४९ वर्षीय विजयकुमार फोम्बो (लिम्बु) लाई पक्राउ गरेको हो।

उनी तेह्रथुमको साबिक खाम्लालुङ गाविस–३ (हाल आठराई गाउँपालिका वडा नम्बर २) का स्थायी बासिन्दा हुन् भने काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशालामा बस्दै आएका थिए। ललितपुर महानगरपालिका–१४ स्थित टाइटानिक रेस्टुरेन्टमा २०६० साल कात्तिक ९ गते राति करिब ७ः ३० बजे देउसी भैलो खेलिरहेका बेला यो घटना भएको थियो ।

सो घटनामा ललितपुर उपमहानगरपालिका– १५ खुमलटारका २४ वर्षीय नोरबहादुर राउतलाई मदनबहादुर लिम्बु समेत ७ जनाको समूहले तरबार, रड लगायतका घातक हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। उपचारका लागि वीर अस्पताल, काठमाडौँ लगिएका राउतको २०६० साल कात्तिक १० गते मृत्यु भएको थियो।

घटनापश्चात् फरार रहेका प्रतिवादीमध्ये विजयकुमार फोम्बो (लिम्बु) कोटेश्वरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनलाई फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका फोम्बोलाई आवश्यक कारबाहीका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप