शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रथम नेपाली महिला

कि पुलिसको जागिर खाऊ कि खेलेको पैसा तिर भन्दै बर्दीधारी रिसाएपछि...

प्रथम नेपाली महिला प्रहरी चैतमाया डंगोल
शनिबार, २८ असार २०८२

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् ।

राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।

यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २९ औँ एपिसोड चैतमाया डंगोलका सम्बन्धमा छ । चैतमाया डंगोल ‘प्रथम नेपाली महिला प्रहरी’ हुन् । 

  • जन्ममिति : वि.सं. १९९० जेठ
  • जन्मस्थान : चाबहिल, काठमाडौँ
  • माता : तरिमाया डंगोल
  • पिता : कान्छा डंगोल
  • पदक/विभूषण : विभिन्न सम्मान

‘उतिबेला पढालेखा मान्छे कम थिए ।  छोरीलाई पढाउनु हुँदैन भन्थे । बाहिर निस्कन पनि गाह्रो थियो । आइमाईले जागिर खानुहुँदैन, भन्थे । पहिले र अहिलेको जमाना धेरै फरक छ नि, आकाश जमिनको फरक छ ।’

यो भनाइ ‘प्रथम नेपाली महिला प्रहरी’ चैतमाया डंगोलको हो । २००८ साल, जेठ १२ गते उनी प्रहरी सेवामा नियुक्त भएकी हुन् । 

राजीनामा दिएर घर नबसुन्जेल उनले २०३९ सालसम्म त्यहाँ रहेर अटुट रूपमा राष्ट्रको सेवा गरिन् । उनका अनुसार सानी छँदा खेलेरै बिताएकी थिइन् दिनहरू । 

खेलकुद उनलाई निकै मन पर्थ्यो । यही खेलकुदले नै उनलाई प्रहरी सेवामा तानेको हो । 

अहँ, उनलाई जागिरसागिर भन्ने त मतलबै थिएन । झन् प्रहरी सेवामा जागिर खाने भनेको त चिताएकै थिइनन् उनले । 

तर त्यही सेवामा उनले जीवनका ३२ वर्ष अर्पण गरिन् । प्रहरी सेवामा प्रवेश गर्नुका पछाडि रहेको उनको खेलकुदको पृष्ठभूमि रोचक छ । 

बाल्यकालमा खेलकुद भनेपछि भुतुक्कै हुने चैतमायालाई पढ्ने अवसर पनि प्राप्त नभएको होइन, तर त्यतातिर उनलाई पटक्कै रुचि भएन । 

महिला नेतृ पुण्यप्रभा ढुंगानाले काठमाडौँस्थित महिला सङ्घको कार्यालयमा पढ्ने व्यवस्था मिलाइदिएको भए पनि खेलकुदपट्टि नै उनको अभिरुचि रह्यो । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनिए झैँ चैतमायाको उर अभिलाषाले तदनुकूल अवसर पनि प्राप्त गर्‍यो । 

‘खेल्न पाइन्छ’ भन्ने सुन्नासाथ बुर्कुसी मार्दै टुँडिखेल पुगेकी चैतमायालाई चार महिना बितेको पत्तै भएन । ‘खेल्न पनि पाइन्छ, पैसा पनि पाइन्छ, तिमी पुलिसमा जागिर खाऊ !’ 

सुन्दा अचम्म लागेको थियो उनलाई, तर जागिर खान चाहिँ मन भएन । ‘कि पुलिसको जागिर खाऊ, होइन भने खेलेको पैसा तिर !’ 

बर्दीधारी कड्किएपछि सरल, सहज, निश्छल स्वभावकी चैतमायालाई डर लागेछ । त्यत्रो महिना तालिम लिएको पैसा कहाँबाट तिर्ने ? 

खेल्न पाइने, पैसा पनि पाइने भएपछि पुलिस बन्नु ठीकै होला ठानियो । र, प्रहरी सेवाको यात्रा प्रारम्भ भयो उनको ।

उनका अनुसार त्यतिखेर सिंहदरबारमा प्रहरी मुख्यालय थियो ।  प्रहरी प्रमुख थिए– नरशमशेर जबरा । 

त्यतिखेर २५ जना महिलाले निवेदन दिएका थिए । तीमध्ये धेरैजसो पाका उमेरका भएकाले पहिले नै बितिसकेको बताउछिन् । 

प्रहरी सेवामा प्रवेश गर्दा उनको उमेर १८ वर्ष थियो । त्यतिखेर तीन मोहर खान्थे प्रहरीले, पिपाहरुले ७५ पैसा खान्थे, दाउरा ल्याउँथे । महिलालाई भनेर लोभ देखाइएको हुनसक्छ, महिनाको ३० रुपियाँ दिइएको थियो । पछि, सबैको तलब ३९ रुपियाँ भयो । केही महिनापछि ४२ पुग्यो । यसैगरी बढ्दै गयो ।

२००८ सालमा प्रहरी सेवामा संलग्न २५ महिला भए पनि नियुक्तिपत्र पाउन चाहिँ उनी मात्रै सफल भएकी थिइन् । चैतमायाले आफ्नी बहिनीसहित अन्य महिलालाई पनि प्रहरी सेवामा लाग्न उत्प्रेरित गरेकी छिन् । 

यस सम्बन्धमा उनको हाकिमसँगको एउटा रोचक प्रसङ्ग पनि छ– हाकिमले ‘तिमी जस्तै खोजेर ल्याउनू, प्रहरीमा राख्नुपर्‍यो ।’ भन्दा उनले ‘हजुर मैँ जस्ती त कहाँबाट खोजेर ल्याउनु !’ भनिछन् । 

त्यो सुनी ‘कस्ती लाटी रहिछे, तिमी जस्ती बाठी, डर नमान्ने, फुर्तिली, आँटिली पो भनेको ।’ हाकिमले प्रस्ट्याए । 

सिपाही, हबल्दार, अनि २०३५ सालमा बढुवा भई असई (सहायक प्रहरी निरीक्षक) का रूपमा सेवा गरेकी उनले सई (प्रहरी नायब निरीक्षक) को चिठी ‘भरे, भोलि आउँदैछ’ भन्ने बेलामा राजीनामा दिनुपर्‍यो । 

घर व्यवहारका कारण उनले सेवा छाड्नुपरेको अवस्था जनाएकी छिन् । २०३९ साल, माघ महिनाको तलब खाएर जागिर छाडेकी हुन् उनले ।

आफ्नो सेवा अवधिमा १३ जना प्रहरी महानिरीक्षक (आईजीपी) भएको सम्झना उनलाई अझै ताजा छ । चैतमाया प्रहरी बनेको घर, परिवारलाई पनि चित्त बुझेको थिएन । 

श्रीमान् तथा नातागोता कोही हर्षित भएनन् । सबैको चित्त बुझाउन केही समय लाग्यो ।

त्यतिखेर समाजमा पनि प्रहरीप्रति दृष्टिकोण राम्रो थिएन । त्यसमाथि एउटी महिला प्रहरी हुनु भनेको निश्चय नै असामान्य कुरो थियो । ‘उः पुलिसनी आई’ भन्थे । केटाकेटीहरू समेत ‘कस्तो पुलिसनी जस्तो कुरा गरेको भन्थे । 

घर, परिवार, समाज र आफ्नै सेवा क्षेत्रमा पनि महिला प्रहरीले सम्मान पाउने अवस्था थिएन । तर आफूलाई दिइएको जिम्मेवारी इमानदारीसाथ निडर भई निर्वाह गर्ने प्रवृत्तिले  गर्दा उनलाई सफलताको सिंढी उक्लन नौनारी गलाइरहनु परेन । 

लामो समय प्रहरी सेवामा व्यतीत गरेकी चैतमायालाई अहिले विगतका धेरै घटना स्मरणमा छैन । 

उनको स्मृतिको तरेलीमा रहेका केही घटनावली यस्ता छन् : ‘के. आई. सिंह (कुँवर इन्द्रजीत सिंह) झ्यालखानाबाट भागेको बेलामा उनी थानकोट चौकीमा थिइन् । 

२०१७ सालमा राजनीतिक परिवर्तनपछि आन्दोलन भयो । आन्दोलनले गर्दा १० दिनसम्म सिंहदरबारभित्रै परिन् उनी । 

घर जान दिइएको थिएन । घरका सबैजना उनलाई खोज्दै हिंडेछन् ।

विभिन्न राजनीतिक दलका नेता, नेतृहरू जेल पर्दाखेरि उनी ‘ड्युटी’ मा रहेकी थिइन् । आफूलाई सधैँ प्रोत्साहित गर्ने पुण्यप्रभा दिदीलाई थुन्ने काममा पनि उनी लाग्नुपर्‍यो । 

अरूले जस्तै पुण्यप्रभा दिदी पनि उनलाई माया गरेर ‘काली’ भनी बोलाउँथिन् । काँग्रेसकी नेतृहरू नोना कोइराला, मङ्गलादेवी सिंह, शैलजा आचार्य आदिसँग पनि यस्तै सिलसिलामा भेटेकी हुन् । 

त्यतिखेर उनीहरू उपचारका लागि भन्दै बेलाबखत अस्पतालमा हुन्थे । वीर अस्पतालमा चैतमायाको ‘ड्युटी’ २५/२६ महिनासम्म रहेको थियो ।  

तनहुँको बन्दीपुरबाट दमौली सदरमुकाम सार्दा कत्रो जात्रा भएको थियो । २२ दिनसम्म हडताल भयो । 

प्रहरीले पानी पनि खान पाएका थिएनन् । उनी भन्छिन्– ‘कसैले गर्न नसकेपछि हामीलाई बोलाइयो । 

हेलिकोप्टरबाट लगिएको थियो । अञ्चलाधीशले लिन आए । 

मेरै नेतृत्वमा महिला प्रहरी टोली त्यहाँ गएको थियो । महिला प्रहरी भएकोले होला, त्यहाँका सबैले स्वागत गरे, इज्जत गरे । 

सदरमुकाम सार्ने काम पनि पूरा  भयो । त्रिशूलीमा सदरमुकाम सार्दा पनि सफलता प्राप्त भयो । पहिले त्यहाँ निकै बबाल मच्चिएको रहेछ ।’ 

काठमाडौँ, चाबहिलनिवासी कान्छा डंगोल तथा तरिमाया डंगोलकी सुपुत्री हुन्– चैतमाया ।

उनको जन्म १९९० साल, जेठ महिनामा भएको हो । गते चाहिँ उनको हेक्कामा रहेन । 

पाँच दिदीबहिनीमध्ये जेठी चैतमायाका दुई जना भाइ पनि भए । 

१३/१४ वर्षकी हुँदा स्थानीय व्यापारी केदारबहादुर श्रेष्ठसित प्रेम विवाह भयो । 

त्यस बखत ‘प्रेम विवाह’ गर्ने भनेको चानचुने कुरो थिएन । 

घरका सबैलाई रिझाएर व्यापारमा समेत सघाई चैतमाया खेलकुदमा समेत रम्न भ्याइन् । 

यसबाट उनको चञ्चलपन मात्र होइन, व्यवहार कुशलताको पनि चिनारी पाउन सकिन्छ ।

आफ्नो कर्मलाई सन्तान बताउने चैतमायाले झन्डै १३ वर्षअघि पतिवियोगको व्यथा सहनुपर्‍यो । 

‘कसैले मलाई केही गर्नुपर्ने छैन, भगवान्ले ल्याएका हुन्, उनकै शरणमा छु’ – हँसिलो मुहारसहित छोटो जवाफ रह्यो उनको । 

समाज सेवाका काममा पनि चैतमायाको गहिरो अभिरुचि छ । गणेशथान गुठीलाई उनले अनवरत सहयोग गर्दै आएकी छिन् । 

प्रथम नेपाली महिला प्रहरी चैतमायाको कदर पनि भएको छ । उनले विभिन्न पदक, पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । 

राज्याभिषेक पदक, गोर्खा दक्षिण बाहु (चौथो), दीर्घसेवा पदक प्राप्त गरेकी उनलाई मोतीदेवी स्मृति केन्द्र, जे.पी. प्रतिष्ठान (मैत्री आश्रम), श्री चन्द्र विनायक तथा श्री भैरवनाथ भजनमण्डल आदिद्वारा सम्मान गरिएको छ । 

अचेल उनलाई भान्जा, भान्जीले रेखदेख गर्दै आएका छन् । घुँडाको समस्याले गर्दा हिंड्न गाह्रो भएको छ । घरको तल, माथि गर्न पनि सकस परेको छ ।

२०८१ कात्तिक २६ गते, उनकै निवासस्थल, गणेशस्थान, चाबहिलमा कुराकानीका क्रममा शतायुको शुभकामना व्यक्त गरिंदा उनको भनाइ रह्यो : ‘अब त कुनै इच्छा पनि छैन । चाँडै मर्न पाए पुग्छ, आमाबाबुले छाडेर गए । छोराछोरी पनि छैन । शक्ति छैन । हेर्नोस्, शरीर नै सबथोक रहेछ ।’ 

चैतमाया यतिखेर २८ हजार चानचुन पेन्सन (निवृत्तिभरण) लिइरहेकी छिन् । प्रहरी सेवामा महिलाको सङ्ख्या बढ्दै गएको र उच्च तहमा समेत रहेर महिलाले सेवा गरेको देख्दा चैतमायाको हर्ष निकै चुलिने गर्छ । ‘प्रथम नेपाली महिला प्रहरी’ चैतमाया डंगोलले प्रहरी सेवा तथा समाजमा पुर्‍याएको योगदान प्रशंसनीय तथा अविस्मरणीय रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया