नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् ।
राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।
यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २९ औँ एपिसोड चैतमाया डंगोलका सम्बन्धमा छ । चैतमाया डंगोल ‘प्रथम नेपाली महिला प्रहरी’ हुन् ।
‘उतिबेला पढालेखा मान्छे कम थिए । छोरीलाई पढाउनु हुँदैन भन्थे । बाहिर निस्कन पनि गाह्रो थियो । आइमाईले जागिर खानुहुँदैन, भन्थे । पहिले र अहिलेको जमाना धेरै फरक छ नि, आकाश जमिनको फरक छ ।’
यो भनाइ ‘प्रथम नेपाली महिला प्रहरी’ चैतमाया डंगोलको हो । २००८ साल, जेठ १२ गते उनी प्रहरी सेवामा नियुक्त भएकी हुन् ।
राजीनामा दिएर घर नबसुन्जेल उनले २०३९ सालसम्म त्यहाँ रहेर अटुट रूपमा राष्ट्रको सेवा गरिन् । उनका अनुसार सानी छँदा खेलेरै बिताएकी थिइन् दिनहरू ।
खेलकुद उनलाई निकै मन पर्थ्यो । यही खेलकुदले नै उनलाई प्रहरी सेवामा तानेको हो ।
अहँ, उनलाई जागिरसागिर भन्ने त मतलबै थिएन । झन् प्रहरी सेवामा जागिर खाने भनेको त चिताएकै थिइनन् उनले ।
तर त्यही सेवामा उनले जीवनका ३२ वर्ष अर्पण गरिन् । प्रहरी सेवामा प्रवेश गर्नुका पछाडि रहेको उनको खेलकुदको पृष्ठभूमि रोचक छ ।
बाल्यकालमा खेलकुद भनेपछि भुतुक्कै हुने चैतमायालाई पढ्ने अवसर पनि प्राप्त नभएको होइन, तर त्यतातिर उनलाई पटक्कै रुचि भएन ।
महिला नेतृ पुण्यप्रभा ढुंगानाले काठमाडौँस्थित महिला सङ्घको कार्यालयमा पढ्ने व्यवस्था मिलाइदिएको भए पनि खेलकुदपट्टि नै उनको अभिरुचि रह्यो । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनिए झैँ चैतमायाको उर अभिलाषाले तदनुकूल अवसर पनि प्राप्त गर्यो ।
‘खेल्न पाइन्छ’ भन्ने सुन्नासाथ बुर्कुसी मार्दै टुँडिखेल पुगेकी चैतमायालाई चार महिना बितेको पत्तै भएन । ‘खेल्न पनि पाइन्छ, पैसा पनि पाइन्छ, तिमी पुलिसमा जागिर खाऊ !’
सुन्दा अचम्म लागेको थियो उनलाई, तर जागिर खान चाहिँ मन भएन । ‘कि पुलिसको जागिर खाऊ, होइन भने खेलेको पैसा तिर !’
बर्दीधारी कड्किएपछि सरल, सहज, निश्छल स्वभावकी चैतमायालाई डर लागेछ । त्यत्रो महिना तालिम लिएको पैसा कहाँबाट तिर्ने ?
खेल्न पाइने, पैसा पनि पाइने भएपछि पुलिस बन्नु ठीकै होला ठानियो । र, प्रहरी सेवाको यात्रा प्रारम्भ भयो उनको ।
उनका अनुसार त्यतिखेर सिंहदरबारमा प्रहरी मुख्यालय थियो । प्रहरी प्रमुख थिए– नरशमशेर जबरा ।
त्यतिखेर २५ जना महिलाले निवेदन दिएका थिए । तीमध्ये धेरैजसो पाका उमेरका भएकाले पहिले नै बितिसकेको बताउछिन् ।
प्रहरी सेवामा प्रवेश गर्दा उनको उमेर १८ वर्ष थियो । त्यतिखेर तीन मोहर खान्थे प्रहरीले, पिपाहरुले ७५ पैसा खान्थे, दाउरा ल्याउँथे । महिलालाई भनेर लोभ देखाइएको हुनसक्छ, महिनाको ३० रुपियाँ दिइएको थियो । पछि, सबैको तलब ३९ रुपियाँ भयो । केही महिनापछि ४२ पुग्यो । यसैगरी बढ्दै गयो ।
२००८ सालमा प्रहरी सेवामा संलग्न २५ महिला भए पनि नियुक्तिपत्र पाउन चाहिँ उनी मात्रै सफल भएकी थिइन् । चैतमायाले आफ्नी बहिनीसहित अन्य महिलालाई पनि प्रहरी सेवामा लाग्न उत्प्रेरित गरेकी छिन् ।
यस सम्बन्धमा उनको हाकिमसँगको एउटा रोचक प्रसङ्ग पनि छ– हाकिमले ‘तिमी जस्तै खोजेर ल्याउनू, प्रहरीमा राख्नुपर्यो ।’ भन्दा उनले ‘हजुर मैँ जस्ती त कहाँबाट खोजेर ल्याउनु !’ भनिछन् ।
त्यो सुनी ‘कस्ती लाटी रहिछे, तिमी जस्ती बाठी, डर नमान्ने, फुर्तिली, आँटिली पो भनेको ।’ हाकिमले प्रस्ट्याए ।
सिपाही, हबल्दार, अनि २०३५ सालमा बढुवा भई असई (सहायक प्रहरी निरीक्षक) का रूपमा सेवा गरेकी उनले सई (प्रहरी नायब निरीक्षक) को चिठी ‘भरे, भोलि आउँदैछ’ भन्ने बेलामा राजीनामा दिनुपर्यो ।
घर व्यवहारका कारण उनले सेवा छाड्नुपरेको अवस्था जनाएकी छिन् । २०३९ साल, माघ महिनाको तलब खाएर जागिर छाडेकी हुन् उनले ।
आफ्नो सेवा अवधिमा १३ जना प्रहरी महानिरीक्षक (आईजीपी) भएको सम्झना उनलाई अझै ताजा छ । चैतमाया प्रहरी बनेको घर, परिवारलाई पनि चित्त बुझेको थिएन ।
श्रीमान् तथा नातागोता कोही हर्षित भएनन् । सबैको चित्त बुझाउन केही समय लाग्यो ।
त्यतिखेर समाजमा पनि प्रहरीप्रति दृष्टिकोण राम्रो थिएन । त्यसमाथि एउटी महिला प्रहरी हुनु भनेको निश्चय नै असामान्य कुरो थियो । ‘उः पुलिसनी आई’ भन्थे । केटाकेटीहरू समेत ‘कस्तो पुलिसनी जस्तो कुरा गरेको भन्थे ।
घर, परिवार, समाज र आफ्नै सेवा क्षेत्रमा पनि महिला प्रहरीले सम्मान पाउने अवस्था थिएन । तर आफूलाई दिइएको जिम्मेवारी इमानदारीसाथ निडर भई निर्वाह गर्ने प्रवृत्तिले गर्दा उनलाई सफलताको सिंढी उक्लन नौनारी गलाइरहनु परेन ।
लामो समय प्रहरी सेवामा व्यतीत गरेकी चैतमायालाई अहिले विगतका धेरै घटना स्मरणमा छैन ।
उनको स्मृतिको तरेलीमा रहेका केही घटनावली यस्ता छन् : ‘के. आई. सिंह (कुँवर इन्द्रजीत सिंह) झ्यालखानाबाट भागेको बेलामा उनी थानकोट चौकीमा थिइन् ।
२०१७ सालमा राजनीतिक परिवर्तनपछि आन्दोलन भयो । आन्दोलनले गर्दा १० दिनसम्म सिंहदरबारभित्रै परिन् उनी ।
घर जान दिइएको थिएन । घरका सबैजना उनलाई खोज्दै हिंडेछन् ।
विभिन्न राजनीतिक दलका नेता, नेतृहरू जेल पर्दाखेरि उनी ‘ड्युटी’ मा रहेकी थिइन् । आफूलाई सधैँ प्रोत्साहित गर्ने पुण्यप्रभा दिदीलाई थुन्ने काममा पनि उनी लाग्नुपर्यो ।
अरूले जस्तै पुण्यप्रभा दिदी पनि उनलाई माया गरेर ‘काली’ भनी बोलाउँथिन् । काँग्रेसकी नेतृहरू नोना कोइराला, मङ्गलादेवी सिंह, शैलजा आचार्य आदिसँग पनि यस्तै सिलसिलामा भेटेकी हुन् ।
त्यतिखेर उनीहरू उपचारका लागि भन्दै बेलाबखत अस्पतालमा हुन्थे । वीर अस्पतालमा चैतमायाको ‘ड्युटी’ २५/२६ महिनासम्म रहेको थियो ।
तनहुँको बन्दीपुरबाट दमौली सदरमुकाम सार्दा कत्रो जात्रा भएको थियो । २२ दिनसम्म हडताल भयो ।
प्रहरीले पानी पनि खान पाएका थिएनन् । उनी भन्छिन्– ‘कसैले गर्न नसकेपछि हामीलाई बोलाइयो ।
हेलिकोप्टरबाट लगिएको थियो । अञ्चलाधीशले लिन आए ।
मेरै नेतृत्वमा महिला प्रहरी टोली त्यहाँ गएको थियो । महिला प्रहरी भएकोले होला, त्यहाँका सबैले स्वागत गरे, इज्जत गरे ।
सदरमुकाम सार्ने काम पनि पूरा भयो । त्रिशूलीमा सदरमुकाम सार्दा पनि सफलता प्राप्त भयो । पहिले त्यहाँ निकै बबाल मच्चिएको रहेछ ।’
काठमाडौँ, चाबहिलनिवासी कान्छा डंगोल तथा तरिमाया डंगोलकी सुपुत्री हुन्– चैतमाया ।
उनको जन्म १९९० साल, जेठ महिनामा भएको हो । गते चाहिँ उनको हेक्कामा रहेन ।
पाँच दिदीबहिनीमध्ये जेठी चैतमायाका दुई जना भाइ पनि भए ।
१३/१४ वर्षकी हुँदा स्थानीय व्यापारी केदारबहादुर श्रेष्ठसित प्रेम विवाह भयो ।
त्यस बखत ‘प्रेम विवाह’ गर्ने भनेको चानचुने कुरो थिएन ।
घरका सबैलाई रिझाएर व्यापारमा समेत सघाई चैतमाया खेलकुदमा समेत रम्न भ्याइन् ।
यसबाट उनको चञ्चलपन मात्र होइन, व्यवहार कुशलताको पनि चिनारी पाउन सकिन्छ ।
आफ्नो कर्मलाई सन्तान बताउने चैतमायाले झन्डै १३ वर्षअघि पतिवियोगको व्यथा सहनुपर्यो ।
‘कसैले मलाई केही गर्नुपर्ने छैन, भगवान्ले ल्याएका हुन्, उनकै शरणमा छु’ – हँसिलो मुहारसहित छोटो जवाफ रह्यो उनको ।
समाज सेवाका काममा पनि चैतमायाको गहिरो अभिरुचि छ । गणेशथान गुठीलाई उनले अनवरत सहयोग गर्दै आएकी छिन् ।
प्रथम नेपाली महिला प्रहरी चैतमायाको कदर पनि भएको छ । उनले विभिन्न पदक, पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।
राज्याभिषेक पदक, गोर्खा दक्षिण बाहु (चौथो), दीर्घसेवा पदक प्राप्त गरेकी उनलाई मोतीदेवी स्मृति केन्द्र, जे.पी. प्रतिष्ठान (मैत्री आश्रम), श्री चन्द्र विनायक तथा श्री भैरवनाथ भजनमण्डल आदिद्वारा सम्मान गरिएको छ ।
अचेल उनलाई भान्जा, भान्जीले रेखदेख गर्दै आएका छन् । घुँडाको समस्याले गर्दा हिंड्न गाह्रो भएको छ । घरको तल, माथि गर्न पनि सकस परेको छ ।
२०८१ कात्तिक २६ गते, उनकै निवासस्थल, गणेशस्थान, चाबहिलमा कुराकानीका क्रममा शतायुको शुभकामना व्यक्त गरिंदा उनको भनाइ रह्यो : ‘अब त कुनै इच्छा पनि छैन । चाँडै मर्न पाए पुग्छ, आमाबाबुले छाडेर गए । छोराछोरी पनि छैन । शक्ति छैन । हेर्नोस्, शरीर नै सबथोक रहेछ ।’
चैतमाया यतिखेर २८ हजार चानचुन पेन्सन (निवृत्तिभरण) लिइरहेकी छिन् । प्रहरी सेवामा महिलाको सङ्ख्या बढ्दै गएको र उच्च तहमा समेत रहेर महिलाले सेवा गरेको देख्दा चैतमायाको हर्ष निकै चुलिने गर्छ । ‘प्रथम नेपाली महिला प्रहरी’ चैतमाया डंगोलले प्रहरी सेवा तथा समाजमा पुर्याएको योगदान प्रशंसनीय तथा अविस्मरणीय रहेको छ ।
प्रतिक्रिया