पक्की घर छाडेर छाउगोठमा बास, सर्पले डस्दा मृत्यु
सारांश
- कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भयो।
- महिला आफ्नै घर भए तापनि अन्धविश्वासका कारण छाउगोठमा सुत्न बाध्य भएकी थिइन्।
- उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भयो।
धनगढी । कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ। आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि समाजमा गहिरोसँग जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको छाउगोठमा सुत्न बाध्य पारिएकी कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिबार राति सर्पको डसाइबाट मृत्यु भएको हो ।
उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा रात बिताउन गएकी थिइन्। स्थानीय सुचित्र शाहका अनुसार राति करिब १० बजेतिर असुरक्षित छाप्रोमा निदाइरहेकी कमलालाई विषालु करेत सर्पले डसेको थियो।
छाउगोठमा उनी एक्लै सुतेकी थिइन्। एकाएक सर्पले डसेपछि कमला चिच्याउन थालिन् । परिवारले घटना थाहा पाउनेबित्तिकै हो-हल्ला मच्चियो। परिवार छाउगोठसम्म पुग्दा बेहोस अवस्थामा पुगिसकेकी थिइन्, कमला।
उनलाई बचाउन परिवारले हतार–हतार अटो रिक्सामा राखी घण्टा समयमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्यायो। तर आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो । कमलाको परिवार पहाडी जिल्ला अछामबाट बसाइँ सरेर तराईको उक्त गाउँमा पुगेको थियो।
उनीहरूले आफ्नो पुरानो थातथलो छाडे, तर देउता रिसाउने र परिवारलाई अनिष्ट हुने जस्ता अन्धविश्वासका कारण महिलालाई घरबाट छाउगोठमा राख्ने कुप्रथालाई छाड्न सकेनन्।
स्थानीय शाहका अनुसार त्यो गाउँमा महिनावारीका बेला महिला तथा किशोरीहरूलाई छाउगोठमा पठाउने चलन अझै जीवित छ। जहाँ १ सय २० घरपरिवारका प्रत्येक छाउगोठ छन्। पक्की घर हुँदा हुँदै यसरी छाउगोठमा बस्दा दुखद घटना भएको र यसतर्फ सबैले सचेतता फैलाउन जरुरी भएको उनले बताए।
कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउँदले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरे । ‘आफ्नै सुरक्षित घर हुँदाहुँदै पनि छाउगोठमा सुतेकै कारण एक महिलाले अकालमा ज्यान गुमाउनु हाम्रो समाजका लागि लज्जाको विषय हो,’ उनले भने, 'कुप्रथालाई कानुनले दण्डनीय बनाएको छ, तर समाजको चेतना नबदलिएसम्म यस्ता घटना रोकिने देखिँदैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण