शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेका चार दशक र चक्रव्यूहहरू

आइतबार, २९ असार २०८२, १३ : ४८
आइतबार, २९ असार २०८२
  • एमालेको उदय

सामान्यतया संस्था प्रमुख हो, व्यक्ति गौण हुन्छ । कहिलेकाहीँ व्यक्तिको भूमिका यस्तो निर्णायक हुन्छ जुन सतही रूपमा हेर्दा संस्थाको भूमिका गौण देखिन्छ । जस्तो कि कोलम्बसको भारत पत्ता लगाउने हुटहुटीले समुन्द्री यात्रामा जाने क्रममा अमेरिका पत्ता लागेको उपलब्धिको श्रेयको बाँडफाँट गर्दा क्रिस्टोफर कोलम्बसको स्वप्नदर्शिता, हुटहुटी र लगावको हिस्सा रातदिन डुङ्गा चलाएर साथ दिने नाविक वा समुन्द्री यात्राको सम्पूर्ण व्यवस्थापन गरिदिने स्पेनको राजा वा सिङ्गो मानव जातिभन्दा माथि हुन्छ । 

त्यसैगरी, अमेरिकी स्वतन्त्रता सङ्ग्राममा जर्ज वासिङ्टन, नेपाल एकीकरणमा पृथ्वी नारायण शाह, भारतीय स्वतन्त्रता सङ्ग्राममा महात्मा गान्धी, आधुनिक चीनको निर्माणमा माओत्सेतुङले पाउने श्रेयको हिस्साहरू पनि व्यक्तिको सर्वोपरि र महत्त्वपूर्ण भूमिकाका दृष्टान्तहरू हुन् । 

चालिसको दशकमा चरमचुलीमा रहेको ‘जसको तरबार उसको दरबारको राजनीति’, पचासको दशकमा माओवादीले उतार्न खोजेको समान्तर सेनाको बलमा ‘जसको हतियार, उसको सरकार’को राजनीति र सानो देशका यस्तै धमिलोमा खेलेर ती देशको घाँटी उमेठ्ने भूराजनीतिक दाउपेचले हान्ने निर्णायक गोलको राजनीतिलाई एकै साथ पूर्णविराम लगाएर नेपालमा जनताको युग ल्याउनमा, जनसर्वोच्चता स्थापित गर्नमा, युरोपेली र अमेरिकी मापदण्ड सरह जनसमुदाय र विश्व समुदायले मान्यता प्रदान गरेको उन्नत लोकतन्त्र, आधुनिक नेपालको जीवनशैली हुनुमा नेकपा(एमाले) र यसको विचार, जनाधार र सदाचारको राजनीतिको अग्रणी र अद्वितीय भूमिकाको मूल्याङ्कन गर्ने एक गुणग्राही युग आउने छ । 

नेकपा(एमाले) को राजकीय राजनीतिमा आगमन अघि नेपालको राजनीति दरबार, दिल्ली र दैवको नियन्त्रण र लुकामारीको खेल थियो । दैव, दरबार र दिल्लीको हातको खेल ठानिने राजनीतिलाई जनताको जागरण, जनताको एकता, जनताको सर्वोच्चताको मियोमा उभ्याउनु एक युगान्तकारी कदम हो । 

राजनीतिलाई टाठाबाठाको शान सौकत प्रदर्शनको माध्यम बनाउने कुरीतिको अन्त्य गरी लोकतन्त्रलाई जनताको चुलोसम्म पुगाउने युगको सूत्रपात एमालेले गर्‍यो ।

परिवर्तनबाट शान सौकत र स्वेच्छाचारितामा तलमाथि परेका तत्त्वले नरुचाउनु, प्रतिगमन, अस्थिरता र अराजकताको दाऊ हेर्नु, लोकतन्त्रको यो युग ल्याउनमा खासै मेहनत नपरेको अराजक जमात जनताको जागरणको शक्तिमाथि निर्मम र उदासीन रहनु बेग्लै कुरा हो । एमालेले विगतका चार दशकमा एक सत्यको स्थापना गरेको छ, त्यो हो - जननेता मदन भण्डारीकै शब्दमा– ‘हाम्रा भगवान् भनेका नबोल्ने ढुङ्गाका देउताहरू होइनन्, जीवित जनता हुन्’ भन्ने सत्यको स्थापना । जनता नै देशको सीमाभित्र सबै खाले शक्तिका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् ।

यी ३५ वर्षमा नेकपा एमालेले आफूलाई अमेरिकाका रिपब्लिकन, डेमोक्रेटिक, भारतका कांग्रेस आई र भाजपा, नेपालमा नेपाली कांग्रेस भन्दा उम्दा लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्न सकेको छ । मन्टेस्क्युले प्रतिपादन गरेको शक्ति पृथकीकरणको सिद्धान्तलाई निष्ठापूर्वक मार्क्सवादमा समाहित गर्ने विश्वको एक मात्र कम्युनिस्ट पार्टीको कीर्तिमान दर्ज एमालेकै नाममा छ । 

राजनीतिलाई टाठाबाठाको शान सौकत प्रदर्शनको माध्यम बनाउने कुरीतिको अन्त्य गरी लोकतन्त्रलाई जनताको चुलोसम्म पुगाउने युगको सूत्रपात एमालेले गर्‍यो । भारत संरक्षित सशस्त्र द्वन्द्व, अनुकूल राष्ट्रपतिको थपना प्रयासदेखि, सेनापति काण्ड र आम हड्तालमार्फत सत्ता कब्जासम्मका एकदलीय उग्रवामपन्थी अधिनायकवादका लागि सलबल, एमालेको आन्तरिक जीवनको उपद्रव र विभाजन, हिन्दु राज्य र प्रतिगमनका लागि वितण्डा र देशलाई बङ्गलादेश बनाइदिने धामससम्मका उल्टो चक्रवातको सामना गर्दै एमाले आफू मात्र जोगिएको छैन, जनताको काखमा रहेर, जनताको साथ लिएर गम्भीर प्रकृतिका हमला र साजिसलाई विफल पार्दै मातृभूमि नेपालमाथि सिक्किम, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र बङ्गलादेश मोडेलका सास्ती थोपर्ने भूराजनीतिक दाउपेचका खली र बाहुबलीलाई उल्टै हैरान पार्न काबिल हुन सकेको छ ।

  • मदन, मनमोहन र ओली त्रिकोण

हुन त एमालेको कार्यकर्ताको अदालतले सीपी, जेएन र माधव त्रिकोणलाई पनि कम माया र विश्वास गरेको होइन र आशा र अपेक्षा पनि कम्तीको थिएन । तर, लगानी बालुवामा पानी भयो । मदन, मनमोहन र ओली त्रिकोणको निरन्तर र अविच्छिन्न नेतृत्वबाट प्रेरित रहेरै एमालेले कठिन, दुष्कर र अत्यासलाग्दो चक्रव्यूह सिलसिलाको सामना गर्न सकेको छ र त्यस प्रकारको आत्मविश्वास र आनीबानीमा अभ्यस्त छ ।

जननेता मदन भण्डारीले एमालेका लागि मति, गति र सरस्वती प्रदान गरेर टुटफुटको दलदलमा भासिएको वामपन्थी आन्दोलनलाई एकताको युगतिर मोड्नु भयो । संकटग्रस्त पार्टीको प्रमुखलाई जल्दोबल्दो पार्टीको प्रमुखको हैसियतले आफैँ सरहको अध्यक्ष बनाएर मदनले मनमोहनलाई गरेको श्रद्धा र ओलीले प्रचण्डको गरेको उद्धारमा पढ्न सकिन्छ, एमालेको दानवीर चरित्र र महानायकीय सत्प्रयास । फरक यत्ति हो कि सत्पात्रलाई दिएको दान वरदान साबित हुन्छ भने कुपात्रलाई दिएको दान अभिशाप साबित हुन्छ । मनमोहनको ओजस्वी छहारी युवा नेताहरूले भरपुर पार्टी तत्कालीन नेकपा(माले)को लागि एक रक्षाकवच बन्यो भने जहाँ गयो त्यहीँ भ्वाङ पार्ने प्रचण्डसँगको सहयात्राले भष्मासुरको मिथक सम्झायो ।

गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती हुन्छ कि भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भए पछि त्यसैको जिम्मा लगाएर आफू पन्छिने पार्टी होइन ।

एमालेलाई बलियो वैचारिक र संगठनात्मक जगमा मदनले उभ्याउनु भयो । मनमोहनको स्वच्छ छवि र जनप्रिय सरकार सञ्चालनले एमाले र जनतालाई नङ र मासु, पानी र माछा जस्तै एकाकार पारि दियो । ओलीको महत्ता मदन र मनमोहनले रचेका यी दुवै विरासतलाई तहसनहस पार्ने गरी रचिएका विभाजनकारी भड्कावका एकपछि अर्का संस्करणको दुष्प्रभावबाट एमालेलाई फेरि जस्ताको तस्तै रूपमा सुरक्षित राख्न सक्नुमा छ । 

उग्रवामपन्थ, विसर्जनवाद र फुटवादलाई परास्त गर्न सक्ने सामर्थ्यले एमालेलाई भरपुर पार्दै मदन भण्डारीले जोड दिँदै भन्नु भयो– “हाम्रो पार्टी रुढीवादलाई काँध हालेर हिँड्ने पार्टी होइन र विज्ञानका बारेमा पनि अन्धविश्वास राखेर चल्ने पार्टी होइन । शास्त्र र सूत्रहरूको निम्ति जीवनको बलिदान दिने होइन जीवनको निम्ति सूत्र र शास्त्रहरूको रचना गर्ने पार्टी हो । 

गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती हुन्छ कि भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भए पछि त्यसैको जिम्मा लगाएर आफू पन्छिने पार्टी होइन । काम गर्ने आँट गर्नु पर्छ, रचनात्मक ढङ्गले काम गर्ने शैली अपनाउनु पर्छ र गल्ती भए सच्याउने तत्परता र साहस गर्नुपर्छ । हाम्रो पार्टी त्यस्तै पार्टी हो ।”

मदनले उभ्याएको अक्ष र कक्षभन्दा ओलीप्रेरित एमाले बाहिर छैन ।  दुई तिहाइको बलमा मातृभूमिका लागि चाहिएको राजनीतिक स्थिरताको लागि गरिएको वाम ध्रुवीकरण होस् कि दुर्गा प्रसाईं, कमल थापा, राजेन्द्र लिङ्देन हुँदै नेपाली कांग्रेससँगको सहकार्यको लागि न्यानो हात मदनकै शब्दमा रचनात्मक ढङ्गले काम गर्ने शैलीको निरन्तरता हो । मदन र मनमोहनले देख्नु वा भोग्नु नपरेको विभाजन, गद्दारी, छलकपट र कृतघ्न पात्रहरूको अतिवृष्टिको सामना ओली कालको एमालेले बाक्लै सामना गर्नु परेको छ । 

महाकाली सन्धिको संवेदना उछालेर हिजो एमाले विभाजन गरियो । स्थिर सरकारको सट्टामा आलोपालाको हुँडलोले नेकपालाई विघटन गरायो ।

प्रतिकूलताको सामना गर्दै लोकतन्त्रको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, सत्य स्थापना तथा न्याय निरूपण, अधिनायकवादतिरका सबै अभ्यास र हर्कत विरुद्धको सङ्घर्ष, जातीय विद्वेष र विखण्डनकारी हर्कतलाई परास्त गर्दै राष्ट्रियताको जर्गेणा र सुदृढीकरण, विकास निर्माण र समृद्धिको राष्ट्रिय अभियान, देशभक्ति र स्वाभिमानको मेरुदण्ड र गद्दारहरूलाई कठोर दण्डका हिसाबले एमालेका लागि राजनेता ओलीको मौजुदगी रोजे जस्तै खोजे जस्तै हो ।

  • शान्त पोखरीको पछिल्लो तरङ्ग

महाकाली सन्धिको संवेदना उछालेर हिजो एमाले विभाजन गरियो । स्थिर सरकारको सट्टामा आलोपालाको हुँडलोले नेकपालाई विघटन गरायो । ओलीको करिस्मादेखि अत्तालिएर माधव र झलनाथ भगौडा र गद्दारको तहमा उत्रिए र एमाले फेरि विभाजित पारे । ससाना निहुँ झिकेर ओलीदेखि जल्ने र एमालेसँग नै सिँगौरी खेल्ने एक लामो सिलसिला चलेकै बेला पूर्व राष्ट्रपतिको संवेदना छचल्किएको छ । हिजोको बास्नाले यही बिदु(अपशकुन) कह्यो, अझ के बास्दै छस् काग । 

पूर्व राष्ट्रपति विद्या भण्डारीको एमालेमा पुनरागमनको उद्घोषले एमालेको शान्त पोखरी ढुङ्गो फालेर अशान्त पारेको छ । पूर्व राष्ट्रपतिको आगमनसँगै एमालेले आजसम्म साँधेको मौनता तोड्दै पूर्व राष्ट्रपतिको पुनः सक्रियता सम्बन्धि नीति नै अख्तियार गर्नु जरुरी छ । 

के एउटै व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री हुने पुटिन र मेदभेदेवको अभ्यास वा कम्युनिस्ट पार्टीमा उत्तर कोरियामा जस्तै बाजेदेखि नातिसम्मका शासन अभ्यासलाई भण्डारी संस्करणमा दोहोरिने जोखिमका लागि एमाले तयार छ ?

पूर्व राष्ट्रपतिको पार्टी अध्यक्ष हुने आकाङ्क्षा र यसले खोल्ने प्रधानमन्त्रीसम्मको सम्भावनाको ढोका ढकढकले नीतिगत स्पष्टताको माग गरेको छ । अर्कोतिर एमालेले पार्टी प्रमुखका रूपमा एउटै परिवारका दुई सदस्य भण्डारी दम्पतीलाई पाउने छ । 

के एमाले कांग्रेस जस्तै पार्टीमा कोइराला परिवारको जस्तै र कांग्रेस(आई) मा गान्धी परिवारको जस्तै परिवारवादको जोखिम मोल्न तयार भएको हो ? के एउटै व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री हुने पुटिन र मेदभेदेवको अभ्यास वा कम्युनिस्ट पार्टीमा उत्तर कोरियामा जस्तै बाजेदेखि नातिसम्मका शासन अभ्यासलाई भण्डारी संस्करणमा दोहोरिने जोखिमका लागि एमाले तयार छ ? अन्यथा एमालेले व्यक्तिको इच्छा भनेर आफू पन्छिन मिल्दैन । सङ्कट आएको बेला सुतुरमुर्गले झैँ टाउको लुकाउँदैमा चुनौतीबाट पार पाउन सकिँदैन ।

दक्षिण एसियामा बेनजिर भुट्टो, इन्दिरा गान्धी, शेख हसिना बाजेद, बेगम खालिदा जिया, राजापाक्षे बन्धुजस्ता परिवार र परिवारवादका कारण दलले गोता खाएको उदाहरण हाम्रा सामु छन् । बोकेको कुकुरले मृग मार्न सक्तैन । आनन्दी देवी प्रकरणको सिकार नेपाल सद्भावना पार्टी भएको कुरा एमाले विवेक र स्मृति शक्तिभन्दा बाहिर छैन ।

दक्षिण एसियामा नेपाल कम्युनिस्ट पार्टी(एमाले) र भारतीय जनता पार्टी पूर्णरुपमा प्रतिभावादले उठेका र परिवारवादको दीर्घ रोगबाट मुक्त पार्टी हुन् । मदनको उदयको आधार आफ्नो प्रतिभा थियो । भण्डारीको उदय पिताजी वा दादाको बुई चढेर भएको थिएन । मनमोहन र ओलीलाई हात तान्ने र काँध दिने काका बाबा थिएन । अटल बिहारी बाजपेयी र नरेन्द्र मोदीको उत्थानमा परिवारवादको टेको थिएन । 

आफ्नै बल बुत्ताले उभिएको मान्छे कदर योग्य हुन्छ । नेतृत्व हस्तान्तरण बच्चालाई खेलौना थमाउनु जस्तो हल्का विषय होइन । एमालेको जहाज डुब्दा देशले दुःख पाउँछ । माधव नेपालले २०६४ सालमा डुबाएको जहाजको उद्धार ओलीले गरेको सत्यबाट पाठ सिक्तै प्रतिभाको आडले त्राण पाएको एमालेले प्रतिभाकै आड लिनु पर्छ । भात खानु र भाते हुनु एउटै होइन । 

सहिद परिवार र नेताहरूका नातेदारलाई पार्टीले सम्झनु, सहयोग गर्नु, सहानुभूति राख्नु, साना ठुला अवसर प्रदान गर्नु र पार्टीको बागडोर नै थमाउनु पृथक् कुरा हुन् । सुन्दर बहानामा बाहिरबाट मादल ठोक्ने र भित्रबाट नाच्ने जतिको नियत र विगत छ राम्रो नहुन सक्छ । ओली विरुद्धको महाभारतको अन्तिम किस्ता अझै बाँकी नै रहेको सङ्केत देखिएका छन् । एक तीर दुई शिर गर्दै जोगाउनु पर्ने ओली विरासतसँग मदन र मनमोहनका योगदान र विरासत समाप्त पारिने साजिस पेचिलो भएर आउन सक्छ । 

(शाही प्रतिनिधि सभा सदस्य हुन् )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दयालबहादुर शाही
दयालबहादुर शाही
लेखकबाट थप