काठमाडौँ विश्वविद्यालयमा कानुन र आर्टस् संकायका डिन नियुक्त
धुलिखेल । काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषद्ले कानुन संकाय र आर्टस् संकायमा डिन नियुक्त गरेको छ । कानुन संकायको डिनमा डा. शिव कुमार गिरी र आर्टस् संकायको डिनमा डा. उद्धव प्याकुरेल नियुक्त भएका हुन् ।
राजनीतिक समाजशास्त्रका ख्यातिप्राप्त अध्येता तथा टिप्पणीकार डा. उद्धव प्याकुरेलले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्लीअन्तर्गत सामाजिक प्रणाली अध्ययन केन्द्रबाट विद्यावारिधि गरेका हुन् ।
सामाजिक न्याय, समावेशिता, राज्य पुनर्संरचना, द्वन्द्व, लोकतन्त्र, पहिचान, निर्वाचन, भारत–नेपाल सम्बन्धजस्ता विषयमा गहन अध्ययन तथा विश्लेषण गर्दै आएका प्याकुरेल काठमाडौँ विश्वविद्यालयमा विगत लामो समयदेखि अध्यापनरत छन् ।
प्याकुरेल यसअघि विश्वविद्यालयको प्रवक्ता, उपकुलपति कार्यालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्पर्क तथा सहकार्य महाशाखाको कार्यवाहक निर्देशकका रूपमा समेत कार्यरत भइसकेका छन्। राजनीतिक समाजशास्त्र, सामाजिक समावेशीकरण, दलित समुदायको अवस्था तथा सशस्त्र द्वन्द्वजस्ता विषयमा उनी विशेष रूपले सक्रिय रहँदै आएका छन् ।
यस्तै, कानुन संकायको डिनमा नियुक्त डा. शिव कुमार गिरि नेपालको कानुनी क्षेत्रमा महत्त्वपूर्ण अनुभव बोकेका विद्वान प्राध्यापक हुन्। गिरिले नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा तीन दशकभन्दा बढी समय कार्यरत थिए। शाखा अधिकृतदेखि उपसचिवसम्मको जिम्मेवारी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय कानुन, सन्धि तथा मानव अधिकार महाशाखामा उल्लेखनीय योगदान दिएका थिए ।
सन् २०१३ देखि २०१६ सम्म टर्कीमा सह–प्राध्यापकका रूपमा कार्य गरिसकेका गिरिले त्यसअघि क्यानडाको टोरोन्टो विश्वविद्यालयबाट कानुन विषयमा विद्यावारिधि, बेलायतको वारविक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय आर्थिक कानुनमा विशिष्ट श्रेणीसहित स्नातकोत्तर उपाधि र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर तथा कानुन शास्त्रमा स्नातक उपाधिहरू प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण