मोहनविक्रम पथमा कम्युनिस्ट नेताहरू, किन भयो ‘जनवादी केन्द्रीयता’को उपहास ?
सारांश
- नेपालमा कम्युनिस्ट पार्टीका नेताहरूको लामो समयदेखि नेतृत्वमा रहने प्रवृत्ति र यसका कारणबारे विश्लेषण गरिएको छ।
- मोहनविक्रम सिंह, प्रचण्ड, र विजुक्छे जस्ता नेताहरूले दशकौंदेखि पार्टीको नेतृत्व गरिरहेका छन्, उमेर बढ्दै जाँदा पनि पद छाड्न मानिरहेका छैनन्।
- एमालेमा विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन र ओलीको नेतृत्व कायम राख्ने अडानका कारण पार्टीभित्र विवाद बढेको छ।
पत्रकारितामा लागेको १७ वर्षपछि असार २२ गते मैले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँग भलाकुसारी गर्ने अवसर पाएँ । सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास बोकेका सिंहको निवास नजिकै बालाजु नर्सरी चोकस्थित एक घरमा डेढ घण्टा लामो कुराकानी भयो ।
कुराकानीको क्रममा कम्युनिस्ट आन्दोलनको इतिहासदेखि वर्तमान अवस्थासम्म केलाउने प्रयास गरियो । उमेरले ९१ वर्ष पुगेका उनी अझै राजनीतिक भेटघाट, पार्टीको आन्तरिक बैठकमा सक्रिय सहभागी भइरहेका छन् । राजनीतिबाहेक सिंह साहित्य लेखन तथा अध्ययनमा उत्तिकै सक्रिय छन् । पार्टी कामकै सिलसिलामा उनी विभिन्न जिल्लाका साथै अन्तर्राष्ट्रिय फोरममा समेत पुग्छन् ।
अन्तर्वार्ताको क्रममा मैले सिंहलाई प्रश्न गरेँ– ‘अब राजनीतिबाट सन्न्यास लिउँजस्तो लागेको छैन ?’
जबाफमा लेनिनको भनाइ सापटी लिएर उनले भने– ‘यदि हाम्रो इच्छाले मात्र हुने भए धेरै पहिले नै क्रान्ति भइसक्थ्यो ।’
थप व्याख्या गर्दै उनले भने, ‘मान्छे अहिलेमात्र होइन, अरू सय–दुई सय वर्षसम्म बाँच्न पाए हुन्थ्यो भन्ने सोच्छ, तर हामीले भनेर हुँदैन । त्यस्तै पार्टीमा काम गर्ने कुरा पनि मैले अब १० वा ५० वर्ष गर्छु भनेर हुँदैन । त्यो त शक्ति, शरीर, तागतले निर्धारण गर्ने कुरा हो ।’
_58a0Nwlgw4.jpg)
आफू जीवित रहेसम्म राजनीतिमा सक्रिय रहने सिंहले स्पष्ट पारे । यद्यपि राजनीतिमा कति सक्रिय हुने वा नेतृत्व लिने भन्ने विषय आफ्नो इच्छाले मात्र निर्धारण नहुने उनको तर्क छ ।
‘जबसम्म म सक्रिय हुन सक्छु, त्यो वेलासम्म गर्ने हो । बिस्तारै–बिस्तारै कमजोर भइरहेको छु । हिँड्न सक्ने वेलासम्म सक्रिय भइन्छ, हिँड्न नसकेपछि म आउन सक्दिनँ,’ सिंहले भने, ‘यो मेरो इच्छामा मात्र भर पर्दैन । भोलि पार्टीले भन्न सक्छ– होइन, अब नेतृत्वबाट हट्नुपर्यो, जसरी पुष्पलालजीलाई कैयौँपटक नेतृत्वबाट परिवर्तन गरियो ।’
कहिलेसम्म सक्रिय राजनीतिमा रहने भन्ने कुरा आफ्नो शारीरिक अवस्था, इच्छाशक्ति, सक्रियता, पार्टी तथा साथीहरूको आफूप्रतिको विश्वास, यी सबै कुरामा निर्भर हुने सिंहले स्पष्ट सन्देश दिए ।
२०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न भयो । २०२८ सालमा सिंहले नेकपाका संस्थापक महासचिव पुष्पलाल, मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ लगायत वामपन्थी नेताहरूसँग मिलेर केन्द्रीय न्यूक्लियस गठन गरी कम्युनिस्ट एकताको प्रयास गरेका थिए, तर सफल भएन । २०३१ भदौमा चौथो महाधिवेशन गरी उनी महासचिव भए । त्यसयता उनी ५१ वर्षसम्म निरन्तर पार्टी नेतृत्वमा छन् ।
सिंह नेपाली कम्युनिस्ट आन्दोलनका त्यस्ता व्यक्तित्व हुन्, जसको स्कुलिङबाट अहिले केन्द्रीय तहको राजनीतिमा सक्रिय कैयौँ वामपन्थी नेता अघि बढेका हुन् । तर २०७९ सालको निर्वाचनसम्म आइपुग्दा नेकपा (मसाल)को खुला मोर्चा राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा जम्मा एक सिट जित्यो ।
नेपाली वामपन्थी आन्दोलनका अर्का मूर्धन्य व्यक्तित्व नारायणमान विजुक्छे ‘रोहित’ गत फागुनमा भएको महाधिवेशनबाट नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को अध्यक्षमा सर्वसम्मत निर्वाचित भए । २०३१ सालमा आफ्नै नेतृत्वमा विजुक्छेले नेमकिपा गठन गरेका थिए । उमेरले ८५ वर्ष लागेका उनी लगातार ५१ वर्षसम्म नेतृत्वमा छन् । निर्वाचन लगत्तै विजुक्छेले आफ्नो स्वास्थ्यले जतिसम्म धान्छ, त्यतिबेलासम्म जनताको सेवा गर्ने जिकिर गरेका थिए ।

‘देश र जनतालाई सोच्ने नेता नै भएन । हाम्रा नेता तथा कार्यकर्तालाई भनेको छु– जतिसम्म सक्छ, असल काम गर्नु । देश र जनता सेवामा काम गर्नु । मेरो स्वास्थ्यले जतिसम्म धान्छ, त्यतिसम्म जनताको सेवामा लाग्छु भनेर मैले प्रस्ट भनेको छु’, उनले भनेका थिए ।
मोहनविक्रमकै स्कुलिङबाट आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अविच्छिन्न रूपमा पार्टी नेतृत्वमा छन् । २०४० सालमा नेकपा(मशाल) विभाजन भएपछि प्रचण्ड मोहन वैद्य ‘किरण’तर्फ लागे । पार्टीबाट निष्कासित भएपछि सिंहले २०४१ सालमा नेकपा(मसाल) गठन गरे भने नेकपा(मशाल)का महामन्त्री किरण भए ।
२०४३ सालमा उपत्यका केन्द्रित आन्दोलन ‘सेक्टर’ काण्ड असफल भएपछि किरणले राजीनामा दिए । २०४५ सालमा प्रचण्ड नेकपा(मशाल)का महामन्त्री भएका थिए । त्यतिवेला प्रचण्ड भर्खर ३५ वर्षका थिए । अहिले २०७२ वर्षको हुँदा पनि उनी पार्टीको नेतृत्वमा छन् ।

मोहनविक्रमबाट अलग भएपछि प्रचण्डले २०४८ सालमा एकता महाधिवेशन गरे । २०५१ सालमा दीर्घकालीन जनयुद्ध गर्ने कि शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्र स्थापनका लागि संघर्ष गर्ने विषयमा नेकपा (एकता केन्द्र)सँग विवाद हुँदा प्रचण्डले २०५२ सालमा नेकपा (माओवादी) पुनर्गठन गरे । सशस्त्र विद्रोहको नेतृत्व गरी १० वर्षसम्म उनले तत्कालीन शाही सत्तासँग संघर्ष गरे । उनी २०६२ सालमा संसदवादी सात दलसँग १२ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा अवतरण गरे ।
२०६२/६३ सालको दोस्रो जनआन्दोलनले निरंकुश राजतन्त्र ढाल्यो । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल बन्यो । २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न उनी सफल भए । त्यसयता प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । तर जनयुद्धका वेला उठाएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दाले मूर्तरुप लिन सकेको छैन । २०७० सालसम्म पुग्दा माओवादी नै विभाजन भयो । हरेक निर्वाचनमा माओवादी २०६४ को तुलनामा १७ प्रतिशतले खुम्चिएको छ । नवौँ महाधिवेशनको तयारीमा जुटेका प्रचण्डले अझै ८/१० वर्ष नेतृत्व नछाड्ने सङ्केत गरेका छन् ।
पछिल्लो समय माओवादीभित्र नेतृत्व पुस्तान्तरण/हस्तान्तरणको विषय जोडतोडले उठेको छ । उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण र नेतृत्वको सम्बन्धमा गत वर्ष साउनमा पार्टीभित्र १४ बुँदे प्रस्ताव पेस गरे । सबै समिति, जवस/मोर्चाको निर्वाचन प्रत्यक्ष मतबाट हुनुपर्ने शर्माको भनाइ छ । यद्यपि शर्माको प्रस्तावमा सहमत हुने वा नेतृत्व हस्तान्तरणका लागि तयार हुने छाँट प्रचण्डले देखाएका छैनन् । नेतृत्व कसैलाई टीको लगाएर दिनेभन्दा पनि नयाँ पुस्ताले लिन सक्नुपर्ने प्रचण्डको तर्क छ ।
‘कसैलाई टीको लगाइदिएर आजदेखि तपाईं नेता भनिदिएर हुने कुरा होइन । त्यस्तो भन्दा ठुल्ठुला दुर्घटना इतिहासमा भएका छन् । त्यसकारण नयाँ पुस्ताले नेतृत्व मलाई छोड भन्ने होइन, नेतृत्व लिने हो । तर त्यस्तो स्थिति नदेखेपछि नमर्दासम्म छोड्न नहुने परिस्थिति देख्छन् नि बुढाहरूले’, केही दिनअघि एक कार्यक्रममा उनले भनेका थिए ।
प्रचण्ड २०८३ मा हुने नवौँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिने तयारी गरिरहेका छन् । नेतृत्वको विकल्पमा पार्टीभित्रै दबाब बढिरहेको अवस्थामा उनले जागरण अभियान राख्नुको पछाडि नेतृत्वबारे तल्ला तहका नेता तथा कार्यकर्ताको मनस्थिति र २०८४ को आमनिर्वाचनको तयारी मुख्य कारण रहेको माओवादी नेताहरूको विश्लेषण छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि तत्काल प्रचण्डको विकल्प नभएको जिकिर गरे । पार्टीले थालेको पूर्व–पश्चिम दुई ठुला राजमार्ग केन्द्रित जागरण अभियानमा माओवादी र नेतृत्वप्रति जनआकर्षण बढ्दै गएकाले विकल्पमा जान आवश्यक नभएको उनको तर्क छ ।
‘हामीले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गर्यौँ । लगत्तै पूर्व–पश्चिम मध्यपहाडी मार्गमा अभियान थालेका छौँ । पछिल्लो समय पार्टीभित्र पनि विचारको संश्लेषण भइरहेको छ । आन्तरिक लोकतन्त्रको विषयमा अन्य पार्टीको तुलनामा हाम्रो पार्टी नै उदार देखिएको छ’, सापकोटाले भने, ‘अहिले नेतृत्वभन्दा पनि समाजवादी विचारको संश्लेषण महत्त्वपूर्ण हो । सत्ताबाट हटेपछि अहिले हामी आफ्नै वर्ग समुदायमा फर्किएका छौँ । हामी जहाँ–जहाँ पुगेका छौँ, त्यहाँ–त्यहाँ नेतृत्वप्रति जनआकर्षण ह्वात्तै बढेको छ । अध्यक्षले नै भनिसक्नुभयो, २०६४ कोजस्तै झल्को अहिले देखिएको छ ।’
तर सचिव राम कार्की नेतृत्व विकासका लागि पार्टी सिस्टम नबनेसम्म विकल्पको सम्भावना नदेखिएको बताउँछन् । त्यसका लागि युवाले नै दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अनेरास्ववियु (क्रान्तिकारी)को निर्वाचनले सम्भावनाको ढोका खोलेको उनको बुझाइ छ । ‘विद्यार्थीको निर्वाचनले अलिअलि आशा जगाएको छ । त्यसकारण, महाधिवेशनसम्म नेतृत्वको विकल्पका लागि अझै धेरै बहस गर्न जरुरी छ’, उनले भने ।
मोहनविक्रम, प्रचण्ड, विजुक्छेमात्र होइन, उमेरले ७९ वर्ष पार गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरण पनि लामो समय नेतृत्वमै छन् । गत वर्ष मंसिरमा महासचिवमा सर्वसम्मत निर्वाचित भएका किरण निमोनिया र दमको समस्याले पार्टीको काम गर्न सकिरहेका छैनन् । तैपनि उनले कार्यवाहक महासचिव सीपी गजुरेललाई दिएर पार्टी चलाइरहेका छन् । माओवादीबाटै विभाजित भएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (बहुमत)का अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा (वैज्ञानिक समाजवादी)का अध्यक्ष विश्वभक्त दुलाल आहुति लगायतले पनि नेतृत्व र कार्यकालको विषयमा स्पष्ट विधि र पद्धति बनाएको देखिँदैन ।

यस्तै नेकपा मालेका महासचिव सीपी मैनाली पनि २०५८ सालदेखि निरन्तर नेतृत्वमा छन् । एमालेबाट विभाजित भएसँगै उनले हालसम्म पार्टी हाँक्दै आएका हुन् ।
यता अन्य कम्युनिस्ट पार्टीको तुलनामा लोकतान्त्रिक देखिएका एमाले र नेकपा एकीकृत समाजवादीमा पनि विवादरहित ढंगले विधि, पद्धति र विधानलाई पालना नगरिएको गुनासो छरपष्ट छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारी १० वर्षपछि फेरि पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । पार्टीको नवौँ महाधिवेशनबाट नेतृत्वमा आएका ओलीले अझै २०/२५ वर्ष विकल्प नखोज्न नेताहरूलाई चेतावनी दिइसकेका छन् । नेतृत्वको विषयमा भण्डारीले सार्वजनिक रूपमै दाबी रहने संकेत दिइसकेकी छन् ।
जननेता मदन भण्डारी फाउन्डेसनमार्फत उनले आगामी ११ औँ महाधिवेशनमा नेतृत्वका लागि गृहकार्य गरिरहेकी छन् । भण्डारीले पार्टीभित्र पाउने जिम्मेवारीबारे एमालेले आधिकारिक निर्णय गरेको छैन । यद्यपि उनलाई जिम्मेवारी दिने विषयमा पार्टीभित्र तीव्र अन्तरविरोध छ ।

पूर्वमन्त्री समेत रहेका नेता कर्णबहादुर थापा ओलीले ७० वर्ष उमेरहद र दुई कार्यकालको व्यवस्था नै मिचेको आरोप लगाउँछन् । ओली पक्षका नेताहरू भण्डारीलाई पार्टी नेतृत्वमा आउनबाट विधानमै बन्देज लगाउनुपर्ने पक्षमा देखिन्छन् । तर माओवादी घटकको तुलनामा एमाले धारका पार्टीहरूमा नियमित महाधिवेशन मार्फत वेलाबखत नेतृत्व परिवर्तन भएको देखिन्छ । यस्तै गएराति सम्पन्न सचिवालय बैठकबाट ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव अनुमोदन भएको छ ।
छिन्नभिन्न कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरी २०३५ सालमा माले बनाइएको थियो । २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी)बिच एकता गरी नेकपा (एमाले) गठन भएको थियो । पार्टी स्थापनाको ३५ वर्षमा एमालेबाट मदन भण्डारी, माधव नेपाल महासचिव भए । २०५६ सालसम्म मनमोहन अधिकारी आलंकारिक अध्यक्ष थिए । २०६५ सालमा बुटवल महाधिवेशनबाट बहुपदीय अध्यक्षात्मक प्रणालीमा पार्टी रुपान्तरण भएपछि क्रमशः झलनाथ खनाल र ओली अध्यक्ष भए । ओली नेतृत्वमा आएपछि एमालेको जनमत नघटे पनि विभाजनबाट रोक्न उनी असफल भए ।
एमालेमा झण्डै १५ वर्ष महासचिव भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वकै टकरावका कारण २०७८ साल भदौमा पार्टी विभाजन गरे । गत वर्ष असारमा भएको १० औँ महाधिवेशनबाट पुनः अध्यक्ष बनेका उनले तत्काल नेतृत्व छाड्ने संकेत दिएका छैनन् ।
पतञ्जली योगपिठको जग्गा अनिमियता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि नेतृत्व छाड्न उनीमाथि निकै दबाब परेको छ ।
लेनिनकालीन संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’लाई नेताहरूले आ–आफ्ना स्वार्थ अनुकूल व्याख्या गर्दा नेपाली कम्युनिस्ट आन्दोलन नै सङ्कटमा परेको माओवादीका सचिव राम कार्की बताउँछन् । नेतृत्वमा नपुगुन्जेल जनवादी(लोकतन्त्र)को कुरा गर्ने, नेतृत्वमा पुगेपछि केन्द्रीयता(अनुशासन) लाद्ने प्रवृत्ति हाबी भएकोमा उनले चिन्ता व्यक्त गरे ।
‘सबैले जनवादी केन्द्रीयता भन्छन् । अझ कस्तोसम्म स्थिति आयो भने–म केन्द्रमा हाबी हुँदा केन्द्रीयता (अनुशासन) ठिक हुन्छ । म क्रान्तिकारी हुँ । म अल्पमतमा परेँ भने जनवाद(लोकतन्त्र) प्रधान हुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण