बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेस्सी चम्किँदा मियामीको उत्कृष्ट पुनरागमन

आइतबार, ०४ साउन २०८२, ०९ : ४४
आइतबार, ०४ साउन २०८२

सारांश

  • लियोनल मेस्सीको दुई गोल र दुई असिस्टको मद्दतले इन्टर मियामीले न्युयोर्क रेड बुल्सलाई ५-१ गोलले पराजित गर्यो।
  • खेलको सुरुमा पछि परेको मियामीले मेस्सीको पास र अल्बाको गोलसँगै खेलमा फर्कियो, र सेगोभियाले दुई गोल थपे।
  • यस जितसँगै मियामीले पछिल्लो सात एमएलएस खेलमा छैटौं जित हासिल गरेको छ, भने रेड बुल्स घरेलु मैदानमा पराजित भयो।

न्यु जर्सी । स्टार खेलाडी लियोनल मेस्सीको दुई गोल र दुई असिस्टको मद्दतले इन्टर मियामीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै न्युयोर्क रेड बुल्समाथि शानदार जित हात पारेको छ । न्यु जर्सीको ह्यारिसनमा शनिबार राति भएको खेलमा मियामी ५-१ गोलले विजयी बनेको हो।

सुरुवातमा नै ०-१ ले पछि परेको मियामीले त्यसपछि लगातार गोल गर्दै  पहिलो हाफमा ३-१ को अग्रता लियो । 

खेलको १५औँ मिनेटमा रेड बुल्सका लागि एमिल फोर्सबर्गको कर्नर किकलाई एलेक्जेन्डर ह्याकले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

खेलको २४औँ मिनेटमा मेस्सीको पासमा जोर्डी अल्बाले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यो उनको एमएलएस लिगमा यस सिजनको पहिलो गोल थियो। 

त्यसपछि टेलिस्को सेगोभियाले दुई गोल थपे । अल्बाले गोल गरेको तीन मिनेटपछि, २७औँ मिनेटमा लुइस सुआरेजले मेस्सीलाई पास दिए, जसले तुरुन्तै अल्बालाई बल पठाए। अल्बाले सेगोभियालाई क्रस दिए र सेगोभियाले सहजै गोल गरेर इन्टर मियामीलाई २-१ को अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा रेडोन्डोले रेड बुल्सको बक्सभित्र बल पुर्‍याए पनि प्रहार गर्न सकेनन्। सोही समयमा सेगोभियाले रिबाउन्डमा आएको बललाई प्रहार गर्दै तेस्रो गोल गरे।

दोस्रो हाफमा मेस्सीले ६०औँ र ७५औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यससँगै, उनले यस सिजन एमएलएसमा १८ गोल र २७ पटक गोलमा योगदान पुर्‍याएका छन्।

यता, अल्बा ८४औँ मिनेटमा खुट्टाको मांसपेशीमा समस्या आएपछि मैदानबाट बाहिरिएका थिए।

यस जितसँगै मियामीले पछिल्लो सात एमएलएस खेलमा छैटौँ जित हासिल गरेको छ। यसअघि बुधबार सिनसिनाटीसँगको खेलमा उसको पाँच खेलको जितको सिलसिला टुटेको थियो।

यता, रेड बुल्सले भने घरेलु मैदानमा लगातार जित निकाल्न सकेन र यो सिजन इन्टर मियामीसँग दोस्रो पटक पराजित भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप