शेखरको दौडधुपले नयाँ सत्ता समीकरण कति सम्भव ?
सारांश
- डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरण बनाउन प्रचण्ड र विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्।
- कोइरालाको दौडधुपलाई सत्ता समीकरण फेरबदलको कसरतका रूपमा विश्लेषण गरिएको छ, तर विश्लेषकहरूले यसको सम्भावना कम देखेका छन्।
- कांग्रेसभित्र बहुमत जुटाउन कोइरालालाई कठिन रहेको र देउवासँग बार्गेनिङ गर्न मात्रै यो प्रयास भएको विश्लेषण छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको खुमलटारदेखि भंगालसम्मको दौडधुपले नयाँ सत्ता समीकरण बनाउने कसरत भइरहेको राजनीति वृत्तमा चर्चा छ । साउन १ गते पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको निवास पुगेर कोइरालाले दुई घण्टा छलफल गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध तीव्र निराशा पोखेका उनले नयाँ समीकरण बनाउन प्रचण्डसँग छलफल गरेको बुझिएको छ । प्रचण्डलाई भेटेको भोलिपल्ट कोइराला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बूढानीलकण्ठस्थित भंगाल पुगेका थिए । भण्डारी २१ दिनअघि मात्र एमालेको सक्रिय राजनीतिमा फर्किएकी थिइन् ।
कोइरालाको सक्रिय दौडधुपलाई लिएर सत्ता समीकरण फेरबदल गर्ने कसरतका रूपमा अहिले विश्लेषण भइरहेको छ । असार २६ गते अनुशासन समितिले अघिल्लो निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका आफू पक्षका १८ जनालाई कारबाही गरेपछि कोइराला सभापति शेरबहादुर देउवासँग निकै रुष्ट देखिन्छन् । र भोलिपल्टै आफूनिकट नेताहरूसँग छलफल गरेर उनले कारबाहीको विरोध गरेका थिए । निर्वाचन भएको साढे दुई वर्षपछि संस्थापनइतरका नेता तथा कार्यकर्ताहरूलाई छानीछानी कारबाही भएपछि नेतृत्वमाथि दबाबका लागि कोइराला खुमलटारदेखि भंगालसम्म दौडधुपमा लागेका एकथरीको विश्लेषण छ । आइतबार मात्रै कोइरालाले आफूनिकट सांसदहरूको भेला होटल याक एन्ड यतीमा बोलाएका थिए ।
शेखर कोइरालासँगै प्रचण्ड निवास पुगेका डा. अमरेशकुमार सिंहले कोइरालालाई प्रधानमन्त्री बनाउने गरी नयाँ समीकरण बन्ने दाबी गरेका छन् । दुई तिहाइको ओली सरकारले केही पनि काम गर्न नसकेकाले नयाँ समीकरण बनाउन विपक्षी दलहरूसँग छलफल भइरहेको सिंहले जिकिर गरे । तर सिंहले दाबी गरेजस्तै विपक्षी दलहरूसँग मिलेर कोइराला प्रधानमन्त्री बन्न सम्भव छ ?
विश्लेषक तथा प्राध्यापक लोकराज बराल कोइरालाले नयाँ गठबन्धन बनाउने सम्भावना नरहेको बताउँछन् । अर्को समीकरण बनाउन शेखरले संविधान बमोजिम कोरम पुर्याएर पार्टी विभाजन गर्नुपर्ने हुन्छ । तर त्यो सम्भव नभएको बराल बताउँछन् । देउवासँग बार्गेनिङ गर्न मात्र कोइरालाले धम्क्याएको उनको विश्लेषण छ ।
‘शेखरले नयाँ समीकरण बनाउन पार्टी विभाजन गर्नुपर्ने हुन्छ । त्यो गर्लान् जस्तो मलाई लाग्दैन । दलको नेताबाट शेरबहादुरजीलाई हटाउन पनि संसदीय दलमा उहाँसँग बहुमत छैन,’ बरालले भने, ‘त्यसकारण यी सबै गतिविधि पार्टीभित्र बार्गेनिङ गर्न मात्र गठबन्धन बनाउने गतिविधि गरेका हुन सक्छन् । विपक्षी दलहरूसँग मिलेको जस्तो गरेर पार्टीभित्र फाइदा लिन यी सब गतिविधि गरेका छन् ।’
बरालले भनेजस्तै कोइराला प्रधानमन्त्री बन्न पहिला संसदीय दलको नेता बन्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसभित्रै बहुमत सांसद आफ्नो पक्षमा ल्याउन निकै कठिन देखिन्छ । २०७९ पुस ६ गते कांग्रेस संसदीय दलको नेता चयनका वेला सभापति देउवासँग महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । त्यतिवेला थापालाई कोइराला समूहले समेत साथ दिएको बुझिएको थियो । तर मतदान हुँदा थापाले जम्मा २५ मत प्राप्त गरे । कांग्रेसका ८९ सांसदमध्ये ६४ मत ल्याएर देउवा विजयी भए । यद्यपि कोइराला पक्षकै ६ सांसदले मत नहालेको आरोप लागेको छ ।
पुग्ला त सङ्ख्या ?
संस्थापनइतरसँग कोइराला–थापा समूह एक ठाउँमा उभिए कम्तीमा ३१ जना सांसद पुग्ने त्यतिवेलाको निर्वाचन परिणामले पनि देखाएकाे छ । यद्यपि कोइराला समूहका नेताहरूले आफूहरूसँग ४१ सांसद रहेको दाबी गरेका छन् । तर त्यसलाई पुष्टि हुनेगरी तथ्यांक बाहिर आएको छैन । भावी नेतृत्वका लागि कोइराला र थापाबिच नै प्रतिस्पर्धा रहेकाले संसदीय दलको नेताबाट देउवालाई हटाउनका सहज देखिँदैन । त्यसका लागि कोइरालाले ३१ जना सांसद कायमै राखेर थप १४ जना आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्छ । त्यो निकै चुनौतीपूर्ण हुन्छ ।
गत असार १७ गते एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबिच आलोपालो सरकार बनाउने सहमति भएको थियो । ओलीपछि कोइराला प्रधानमन्त्री बन्न कि त कांग्रेसले सर्वसम्मत रूपमा दलको नेता बनाउनुपर्छ कि त बहुमत जुटाउनुपर्ने हुन्छ । यो बाहेक संविधानको धारा ७६(५) ले दिएको सुविधा प्रयोग गरी प्रधानमन्त्री बन्न कोइरालाले संसद्को बहुमत सदस्यको समर्थन जुटाउनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीलाई मत दिएका जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएका छन् । अहिलेको सत्ता गठबन्धन ओली वा देउवामध्ये एकले हात नझिकेसम्म ढल्ने देखिँदैन । यद्यपि कोइरालाले ओली र देउवालाई चुनौती दिएमा संसदमा बहुमत पुग्न मुस्किल देखिन्छ ।
विश्लेषक शंकर तिवारीले पनि कोइरालाको दौडधुपले सत्ता समीकरणमा कुनै फेरबदल नहुने जिकिर गरे । पार्टी अनुशासनको कारबाहीमा आफ्ना नेताहरू परेपछि असन्तुष्ट रहेका उनले विपक्षीसँग मिलेर देउवामाथि दबाब बढाउन दौडधुप गरेको हुनसक्ने तिवारी बताउँछन् । कोशी प्रदेशमा समीकरण फेरबदल गर्न सफल भएपनि संघमा सम्भव नहुने उनको बुझाइ छ ।
‘शेखरजीको दौडधुपले नयाँ समीकरण बन्न सम्भावना देखिँदैन । अनुशासन कारबाहीमा आफ्ना धेरै नेता परेपछि सभापतिसँग उहाँ असन्तुष्ट हुनुहुन्छ । विपक्षीसँग मिलेर देउवामाथि दबाब बढाउन सकिन्छ कि भनेर लागेको हुनसक्छ,' उनले भने, ‘सभापतिले नै विपक्षीसँग वार्ता गर्न पठाएको जस्तो पनि देखिँदैन । समीकरण फेरबदल गर्न देउवाले खोजेका महामन्त्री वा उपसभापतिलाई अगाडि बढाउँथे । त्यो नभएकाले एउटा हाइट भएका नेताले विपक्षी नेताहरूसँग भेट गर्नुलाई सामान्य मान्नुपर्छ ।’
कति छन् सांसद ?
कोइराला-थापा समूहका ३१ जना सांसदलाई आधार मान्दा उनले बहुमतका लागि थप १०७ सांसदको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । अहिले विपक्षी दलहरू नेकपा माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १२, एकीकृत नेकपा समाजवादीसँग ९, जसपा नेपालसँग ५, नाउपासँग ४ सांसद छन् । यसैगरी आम जनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर पार्टी (नेमकिपा)सँग १/१ गरी ३ र स्वतन्त्रसँग २ सांसद छन् ।
यी सबै दलको समर्थन पाउँदा पनि ११८ मत पुग्नेछ । यसमा जनमत पार्टीको ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ४ जना सांसदको समर्थन प्राप्त गरे कुल १२८ सांसद पुग्नेछन् । विभिन्न समयमा निलम्बनमा परेका चार जना र सभामुख मतदान पक्रियामा भाग लिन पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण